कहाँ पुग्यो नेकपाको एकता ?

 चैत १९, २०७५ मंगलबार १०:६:२० | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको पनि १० महिना बितेको छ ।

गएको जेठ ३ गते राष्ट्रिय सभागृहबाट एकताको घोषणा गर्दै तत्कालीन दुवै दलका अध्यक्षले अबको तीन महिनामा पार्टीको सबै तहमा एकताको काम सक्ने घोषणा गरेका थिए । तर त्यो भनेको १० महिना बितिसक्दा पनि समस्या अझै उस्तै छ । एकताले अझै पूर्णता पाउन सकेको छैन । 

तर अब भने एकताको काम स्थानीय तहसम्म सक्ने गरी नेकपा लागेको छ । केही जिल्लामा टुंगो समेत लागिसकेको छ भने केही लाग्ने क्रममा छ । 

प्रदेश स्तरमा एकताको काम सकिएको छ । 

प्रदेश नम्बर १ र ३ का पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराईसकिएको छ । प्रदेश १ मा चैत ३ गते र प्रदेश ३ मा चैत १४ गते पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पदाधिकारी तथा सदस्यलाई सपथ खुवाईएको हो । त्यस्तै अन्य प्रदेशमा पनि सहमतिको टुंगो लागिसकेको अवस्था छ ।

कर्णाली प्रदेशमा त नेकपाको प्रदेश कमिटीको बैठक नै बसेर एकताको सन्देश गाउँ–गाउँमा पुर्‍याउने भन्दै एक महिने अभियान नै चलाउने निर्णय गरिसकेको छ । 

अहिलेसम्म एकताको काम हुँदै नभएको होइन । ४४१ केन्द्रीय सदस्य, ९ सदस्यीय सचिवालय केन्द्रमा बनिसकेको छ । गएको जेठमा पार्टी केन्द्रमा एकता भएको नेकपाको भ्रातृ संगठन इञ्जिनियर संगठन गएको साउनमा नै एकता भइसकेको छ ।  
 
प्रोग्रेसिभ इन्जिनियर प्रोफेसनल एसोसिएसन नेपाल र नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन एकीकरणपछि प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल (पिन) बनेको थियो । 

यस्तै कानुन व्यवसायीहरुको संगठनको पनि एकता टुंगिएको छ । एकताको काम हुँदै नभएको होइन, तर केही ढिलाई भने भइरहेको नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहालले बताउनुभयो । उहाँका अनुसार धेरैजसो जिल्लाको नेतृत्व टुंगो लागिसकेको भए पनि औपचारिक रुपमा सार्वजनिक भने हुन नसकेको हो ।  

जिल्लामा पनि धमाधम एकता

जिल्ला तहमा पनि दाङ र बाग्लुङमा स्थानीय तहसम्मै एकताको सबै काम टुंगिएको छ । ती दुई जिल्लाका हरेक स्थानीय तहमा चयन भएका एकतापछि गठित समितिका पदाधिकारी तथा सदस्यलाई पनि शपथ गराईएको छ । 

अन्य धेरै जिल्लामा पनि एकताको काम सकिएको छ । प्रदेश ३ का सबै जिल्लामा एकताको काम सकिएको भए पनि औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाहालले बताउनुभयो । 

प्रदेश ३ मात्रै नभई देशैभरका अधिकांश जिल्लाको एकता टुंगो लाग्ने क्रम जारी रहेको र त्यसलाई अब छिट्टै टुंगोमा पुर्याउने गरी पार्टीले काम गरिरहेको पनि दाहालले जानकारी दिनुभयो । 

प्रदेश १ र २ का जिल्लामा तत्कालीन एमाले र माओवादीले बराबरी भागबण्डा पाउने गरी सहमति जुटाएका छन् । स्थानीय तहमा पनि त्यसैगरी एकताको काम अघि बढेको प्रदेश १ का  इञ्चार्ज भीम आचार्यले बताउनुभयो । 

गण्डकी प्रदेशमा भने जिल्ला तहको एकता भागबन्डा केन्द्रबाट टुंगिएर आएपछि मात्र स्थानीय तहमा टुंग्याउने तयारी गरेपछि कुरा मिलेको छैन । 

जिल्लाको अध्यक्ष र सचिव पदमा एकअर्कालाई बाँडफाँड गरेर एकता प्रकृया मिलाउने बारेमा छलफल भए पनि टुंगो लागि नसकेको गण्डकी प्रदेशका सह–इन्चार्ज खगराज अधिकारीले बताउनुभयो ।  

प्रदेश ५ मा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्खाखाँची, प्युठान, रोल्पा र पूर्वी रुकुममा स्थानीय तहमा समेत भागबण्डासहितको एकताको प्रकृया टुंगोमा पुगेको छ । यस्तै कर्णाली प्रदेशको डोल्पा, जुम्ला, जाजरकोट र मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली, डडेलधरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा स्थानीय तहको एकता टुंगिसकेको छ । झण्डै ४१ जिल्लामा एकता प्रकृया सकिएको भए पनि  औपचारिक घोषणा गर्न भने बाँकी छ । 

अन्य जिल्लाको समेत एकता सकेर एकैपटक सबैतिरको औपचारिक घोषणा गर्ने तयारी अनुसार काम भइरहेको पार्टी सचिवालयले जानकारी दिएको छ ।  

पूर्व एमाले र माओवादीको भागवण्डा

७७ वटै जिल्लामा तत्कालीन एमाले र माओवादीले भागबण्डा लगाएका छन् । पूर्व एमालेले ४५ र पूर्व माओवादीले ३२ जिल्ला लिने गरी भागबण्डा टुंगाएको बुझिएको छ । तर औपचारिक रुपमा भने सार्वजनिक गरिएको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखभित्र सरप्राइज दिने भन्दै हिँड्नुभएकाले यो वैशाखभित्र पार्टी एकताले पूर्णता पाउनेमा विश्वास लिइएको छ । पार्टी एकताको सबै काम सकाउने गरि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नै भइसकेको नेताहरु नै बताउँछन् ।  

यो वैशाख १० गते नेपकाको स्थापना दिवस पनि भएकाले त्यही दिन औपचारिक रुपमा तल्लो तहसम्म पार्टी एकता सकिएको भनेर घोषणा हुन सक्ने विश्वास पनि नेताहरुले लिएका छन् । 

‘पार्टी अध्यक्ष ओलीले सरप्राइज दिन्छु भनेकाले पक्कै पनि पार्टी एकतालाई पूर्णता दिने भनेर भन्न खोज्नु भएको होला,’ एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘अहिले धेरै जसो जिल्ला र स्थानीय तहमा एकताको काम धमाधम भइरहेको पनि छ ।’

एकतालाई टुंगोमा पुर्‍याउन प्रदेश कमिटी सकृय भएर लागेकाले छिट्टै नतिजा आउने ती नेताले विश्वास लिए । 

एकता नहुँदा समस्या 

तर पार्टीको तल्लो तहसम्मको एकताले पूर्णता नपाउँदा अहिलेसम्म पनि गाउँ, नगर र जिल्ला तहका विभिन्न भागबण्डामा तत्कालीन एमाले र माओवादी भनेर छुट्याइने गरिएको छ । 

चुनावी प्रतिष्पर्धा नै हुने भए पनि नेकपाको नाममा प्रतिष्पर्धामा सामेल हुन नपाइने अवस्था छ ।

अहिले पनि एमाले र माओवादी केन्द्रकै नाममा भिड्नु पर्ने बाध्यात्मक अवस्था रहेको कार्यकर्ताहरु बताउँछन् । 

 

अन्तिम अपडेट: बैशाख २, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया