आर्क पुल : बिजुलीबजारमा बनिसक्यो, तीनकुनेमा पत्तो छैन

 चैत १९, २०७५ मंगलबार १३:२०:४५ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – नेपालमै पहिलो प्रविधि मानिएको आर्क ब्रिजमा गाडी चल्न थालेका छन् । काठमाण्डौको बिजुलीबजारको धोबीखोलामाथि निर्मित नेटवर्क आर्क पुल सञ्चालनमा आइसकेको छ । इन्द्रेणीको आकारजस्तो आकर्षक लाग्ने यो पुल मोटा तारहरुले कसेर नदीमाथि चिटिक्क सजाएर राखेझैं देखिन्छ ।

काठमाण्डौको दुई ठाउँमा गरी जम्मा चारवटा यस्ता नेटवर्क आर्क पुल निर्माण कार्य थालिएको हो । बिजुलीबजारको धोबीखोला र तीनकुनेको बागमती नदीमाथि बनिरहेको नेटवर्क आर्क पुल एक वर्षअघि नै तयार भइसक्नुपर्ने हो । तर अहिलेसम्म एउटा पुलमात्र निर्माण सम्पन्न भएको छ । बाँकी तीनवटा पुलहरु बन्ने क्रममा नै छन् । 

‘बिजुलीबजारको धोबीखोलामाथिका दुईवटा पुलमध्ये एक पुलको निर्माणकार्य करिब सकिसक्यो । रङरोगन गर्न र बत्ति जडान गर्न मात्र बाँकी छ ।’ उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले भन्नुभयो, ‘अर्को पुल पनि असारसम्म सक्ने प्रक्रियामा छौँ । अहिले त्यसको ‘फाउण्डेशन’को काम सकाएर ‘सबस्ट्रक्चरको’ काम सुरु भइसकेको छ ।’

धोबी खोलमाथिको दक्षिणतर्फको पुलमा अहिले गाडीहरु चल्न थाले पनि औपचारिक उद्घाटन भने भएको छैन । रङरोगन गर्ने, फर्मा हाल्ने र बत्ति जडान गर्ने कामहरु अझै बाँकी छन् । केही दिनमै ती कामहरु पनि सकिने र औपचारिक उद्घाटन गर्ने श्रेष्ठले बताउनुभयो ।
 
धोबी खोलमाथिका पुलको निर्माण कार्य करिब सकिन लाग्दा तीनकुनेस्थित बागमती खोलामाथि बन्ने पुलको अवस्था भने अलपत्र छ ।

सँगै ठेक्का तर काम किन ढिलो चाँडो ?

उपत्यका सडक विस्तार आयोजनाले निर्माण गरिरहेका यी पुल निर्माणको ठेक्का भने दुईवटा निर्माण कम्पनीलाई दिइएको छ । धोबीखोला माथिका पुल निर्माणको लागि जेई कन्ष्ट्रक्सन र बागमती खोलामाथिका पुल निर्माणको लागि पप्पू कन्ष्ट्रक्सनलाई एकै समयमा सक्ने गरी  वि.सं २०७१ साल पुष महिनामा ठेक्का लगाइएको थियो ।

धोबीखोला माथिका दुईवटा पुल निर्माणको काम लगभग सम्पन्न हुने अवस्थामा पुगिसक्दा बागमती खोलामाथिका पुलको काम जम्मा ३० प्रतिशत मात्र भएको देखिन्छ । फाउण्डेशन तयार गरेर सबस्ट्रक्चरको काम भइरहेको अवस्थामा निर्माण कार्य अलपत्र परेको छ ।

सरकारको कालोसूचीमा परेको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई आफ्नो जिम्माको पुल निर्माण गर्न निकै सकस परेको देखिन्छ । पुलको फाउण्डेशन निर्माणमा प्राविधिक त्रुटी देखिएपछि पुनः परीक्षणको लागि सडक विभागले निर्देशन दिएको थियो । पुनः परीक्षणको लागि रिपोर्ट बंगलादेश पठाउनुपर्ने र त्यहाँबाट आउन समय लाग्ने भएकाले काम लम्बिएको पप्पु कन्ष्ट्रक्सनका एकजना प्रतिनिधिले बताउनुभयो ।
 
‘मन्त्रालयबाट छिटो काम गर भनेर निर्देशन आउँछ, सडक विभागले पुनः परीक्षणको प्रतिवेदन माग गरिरहेको छ ।’ उनले भने ‘हामीले बंगलादेश पठाएको डिजाइन रिपोर्ट पेन्डिङमै छ, त्यो नआउँदासम्म के गर्ने हामी आफैं अन्यौलमा छौँ ।’

बागमती खोलामाथि निर्माणाधीन पुलबारे सडक विभागका अधिकारीसँग सोधपुछ गर्दा कसैबाट पनि स्पष्ट धारणा सुन्न पाइँदैन । तर इञ्जिनियर विश्वविजयलाल श्रेष्ठ ती पुल निर्माणको काम चारपाँच वर्ष पर पनि धकेलिन सक्ने बताउनुहुन्छ । 

‘अब अहिले आएर अर्को निर्माण कम्पनीलाई ठेक्का दिन पनि मिलेन, यो प्राविधिक गडबडीको कुरा हो, यस्तो अवस्थामा निर्माण थालेपछि जोखिम हुने खतरा हुन्छ’, श्रेष्ठले बताउनुभयो ।

१३ करोड १३ लाख रुपैयाँमा धोबीखोला माथिको पुल निर्माणको ठेक्का जेई कन्स्ट्रक्सन र २१ करोड ३३ हजार रुपैयाँमा बागमती नदीमाथिको पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिइएको थियो ।

उपत्यकाका सडक विस्तारपछि साँघुरिएका पुललाई फराकिला बनाउने योजनाअन्तर्गत सरकारले यी पुल निर्माणको काम अघि बढाएको थियो । यस्ता पुलले सडकको सौन्दर्यता पनि बढाउने भएकाले नेटवर्क आर्क पुल नै बनाउन थालिएको हो ।

मुग्लिनको आर्क पुल पनि चाँडै सञ्चालनमा आउँदै

मुग्लिन र तनहुँलाई जोड्न बनाइएको १ सय ६० मिटर लामो आर्क पुलको निर्माण कार्य पनि करिब सकिन लागेको छ । सडक विभाग अन्तर्गत पुल महाशाखाका सिनियर इञ्जिनियर अंगलाल रोकायाकाअनुसार वैशाखको दोस्रो हप्तासम्म त्यो पुल पनि सञ्चालनमा आउनेछ ।

अहिले पुल निर्माणको लगभग सबै काम सकेर रेलिङ राख्ने बत्ति जोड्ने लगायतका काम बाँकी रहेको उहाँले बताउनुभयो ।

वि.सं.२०७१ मा निर्माण थालिएको यो पुल २०७४ को असारसम्म सम्पन्न गर्नुपर्ने हो । तर नेपालमा यो नयाँ प्रविधि भएको र प्राविधिक जोहो गर्न केही समस्या भएकाले काम लम्बिएको इञ्जिनियर रोकायाको भनाइ छ ।

काठमाण्डौको धोबीखोला र बिजुली बजारमा बन्ने पुलहरु नेटवर्क आर्क र यो पुल आर्क प्रविधिमा भएकाले प्रविधि एउटै भए पनि केही फरक भएको इञ्जिनियर रोकायाले बताउनुभयो ।

के हो नेटवर्क आर्क ब्रिज ?

पुलको भार पिल्लरमा नभई आर्कले बहन गर्ने पुललाई आर्क ब्रिज भनिन्छ । आर्क भन्नाले पुलको माथिको घुमाउरो भागलाई जनाउँछ । यस प्रविधिमा बन्ने पुलहरु जतिसुकै लामो भए पनि दुई छेउबाहेक बीचमा पिल्लर राख्नु पर्दैन ।

नेटवर्क आर्क ब्रिजमा पुलको भार बहन गर्नका लागि आर्क र पुलको बिमलाई फलामे ह्याङगरहरुको नेटवर्कले जोडिन्छ । यसले गाडीको भारलाई एउटै ठाउँमा सीमित नगरी चारैतिर फैलाएर राख्ने हुदा बढी भार क्षमता पनि थेग्न सक्ने श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार यी पुलहरुलाई नेटवर्क आर्क ब्रिज भनिए पनि अरसीसी, प्रि—स्ट्रेस र आर्क तीनवटै प्रविधि प्रयोग गरिएको हुन्छ । जसअनुसार पुलको पूर्ण भार बिम, केबल वायर र आर्कले संयुक्तरुपमा बहन गर्दछ । अन्य पुलमा जस्तो पिल्लरलाई नदीको पानीको बहाबले हल्लाएर पुल भत्किने डर यस्तो पुलमा रहँदैन ।

अन्तिम अपडेट: जेठ २६, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया