डीआइजी महेशविक्रम शाहकाे सक्रियतामा कर्णाली प्रदेशका सबै कारागारमा पुस्तकालय

 चैत १९, २०७५ मंगलबार १८:९:४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – प्रदेश प्रहरी कार्यालयले कर्णाली प्रदेशका सबै जिल्ला कारागारमा पुस्ताकालय स्थापना गर्ने भएको छ । त्यसका लागि तयारी अन्तिम चरणमा पुगिसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले यही चैत्र २३ गते प्रदेशका दशवटै जिल्लाका कारागारमा एकैसाथ पुस्ताकालय स्थापना गर्न लागेको छ । प्रहरी–समुदाय साझेदारी गरी कारागारलाई किताब अभियान सुरु गरेको हो । 

प्रदेश प्रहरी कार्यालयले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर पुस्ताकालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहले पुस्तकबाट सृजनशीलता र ज्ञान प्राप्त हुने भएकाले कैदीबन्दीका लागि पुस्तक महत्वपूर्ण हुने भन्दै पुस्ताकालय स्थापना गर्न लागिएको बताउनुभयो । 

‘कारागार सुधार गृह पनि हो । त्यसैले हामीले पुस्ताकालय स्थापना गर्न लागेका हौँ’ उहाँले भन्नुभयो, ‘यसले कैदीबन्दीहरुको जीवनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेका छौँ ।’

कर्णालीका दशवटै जिल्लाका कारागारमा पुस्तकालय स्थापनाका लागि २१ लाख ८ हजार ८ सय ६२ रुपैयाँको किताब संकलन भएकाे छ । डीआइजी शाहका अनुसार विभिन्न संघसंस्था, साहित्यकार, लेखक, विभिन्न व्यक्तिहरुबाट ८ हजार ३ सय ८८ पुस्तक संकलन भएका हुन् ।  मुगु र हुम्लामा कारागार बन्दैछन् । अहिले मुगुको जिल्ला प्रहरी कार्यालयमा पुस्ताकालय स्थापना गरिएको छ । 

चैत २३ गते अर्थात उद्घाटनका दिन १० वटै जिल्लाका लेखक, सहित्यकारको उपस्थिति पनि रहने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । पुस्तकको महत्वबारे चर्चा गर्न लेखक र कैदीबीच अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिने डीआइजी शाहले जानकारी दिनुभयो । 

उहाँका अुनसार पुस्ताकालय स्थापनासँगै प्रत्येक कारागारमा बुक क्लब पनि गठन भएका छन् । पुस्तक मात्र पढेर नहुने भएकाले त्यसको समीक्षा आवश्यक रहेको भन्दै डीआइजी शाहले प्रत्येक शनिबार पुस्तकको समीक्षा गरिने पनि बताउनुभयो ।

‘कैदीबन्दीहरुले किताब पढेपछि  प्रत्येक शनिबार किताबको समीक्षा पनि गर्छन्’ उहाँले भन्नुभयो, ‘हामीले जसले धेरै पुस्तक पढ्छन् । उनीहरुलाई पुस्तक नै दिने पुरस्कारको पनि व्यवस्था गरेका छौँ ।’ 
 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया