विदेशबाट फर्किएका युवा बाख्रा पालनमा सक्रिय,  भन्छन् - छिटो फर्कनु पर्ने रहेछ, अलि ढिला भयाे

 चैत २०, २०७५ बुधबार १९:९:५२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – विदेशको लामो बसाइबाट आजित भएर गाउँमै बाख्रा पाल्न सुरु गरेका स्याङजाका एक युवाले राम्रो आम्दानी गर्न सफल भएका छन् । 
स्याङ्जाको वालिङ नगरपालिका–१०, ढकालडाँडाका ४२ वर्षीय युवा रुक्मागत ढकालले बाख्रा पालन शुरु गरेको पहिलो वर्षमा नै ४ लाख भन्दा बढि आम्दानी गर्न सफल हुनु भएको छ  । 

१९ वर्ष विदेशमा काम गर्नुभएका ढकाल स्वदेशमै आफ्नो परिवारसँगै बसेर केही गरौँ भन्ने भावनाले बाख्रा पाल्न सुरु गरेको बताउनु भयो । डेढ वर्ष अगाडिदेखि ढकालले गह्रौँकालिका व्यावसायिक बाख्रा फार्ममार्फत बाख्रा पालन गरिरहनुभएको छ ।

८ वर्ष भारत र ११ वर्ष कतारमा बसेर काम गर्नुभएका ढकाललाई सामाजिक सञ्जालमा लेखिएको एउटा लेखले जीवन परिर्वतन गराइदिएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘लेखमा नेपाल जान नपरोस् भनेर कुनै एअरहोस्टेसले भनेकी थिइन्, ढकाल थप्नुहुन्छ, ‘त्यो वाक्यले नै मलाई छोयो र नेपालमै केही गरौँ भन्ने अठोटका साथ स्वदेश फर्र्किएको हूँ ।’ 

उहाँ अगाडि भन्नुहुन्छ, ‘नेपाल छिटो फर्किएर काम गर्न थालेको भए मैले धेरै प्रगति गर्ने रहेछु ।’

५ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा अहिले २९ माउ र २३ पाठापाठी गरी ५२ बाख्रा रहेका छन् । ढकालले स्थानीय खरी जातका बाख्रा पालन गर्नुभएको छ । बजारको कुनै समस्या नभएको भन्दै ढकाल भन्नुहुन्छ, ‘मलाई बजारको कुनै समस्या छैन, व्यापारी घरमै आउँछन् । वालिङ बजारमा नै मासु खपत हुन्छ ।’

 

५ वर्षभित्र नमूना फार्म बनाउने उद्देश्यका साथ लागिरहनुभएका ढकालले नगरपालिकाबाट बीउ पूँजीको रुपमा ६५ हजार नगद प्राप्त गरेको बताउनुभयो । नगरपालिकाले विना धितो र ब्याज किसानहरुलाई बीउ पूँजी वितरण गरेको छ । 

बाख्रा गाउँ अभियानका संयोजक शुशील अर्यालल बाख्रा तथा घाँसका बारेमा विविध जानकारीे दिने गरेको ढकाल बताउनु हुन्छ ढकाल भन्नुहुन्छ, ‘अर्याल कृषि प्राविधिक समेत भएकाले मलाई निक्कै सहज भएको छ ।’

घाँसको कुनै समस्या नभएको भन्दै ढकालले भन्नुभयो, ‘बारीका डिल तथा खरबारीमा प्रशस्त घाँस छन्, घाँसको कुनै समस्या छैन ।’ 
सिद्धार्थ राजमार्ग अन्तर्गत मादिखोलाबाट २ किलोमिटरमा पुग्न सकिने ढकालको फार्ममा प्राविधिक समस्या आइपर्दा पशु सेवा केन्द्रबाट सेवा लिइरहनुभएको छ । 
ढकाल गुनासो गर्नुहुन्छ, ‘हामी बाख्रा पालकलाई वास्तविक किसान जस्तो व्यवहार गरिएको मैले पाउँदिन । सरकारले किसानलाई धेरै सेवा, सुविधा दिएका छौँ भन्छ तर हामीजस्तै वास्तविक किसानसमक्ष त्यो सुविधा आउन पाउँदैन ।’

दाना, अन्न, भिटामिनको मूल्य हरेक वर्ष बढ्दै जान्छ तर हाम्रो जस्ताको तस्तै भन्दै ढकाल भन्नुहुन्छ, ‘दाना ११ सयबाट १५ सय पुग्यो, मासु ७ सयको ७ सय नै छ ।’

सानैदेखि कृषितर्फ आर्कषित ढकालले सुन्तला खेतीसमेत गरिरहनुभएको छ । उहाँले भन्नुभयो, ‘एक एक पैसा जोडेर मैले सानै हुँदा सुन्तलाको विरुवा किनेर ल्याएँ, ती विरुवा अझै छन् ।’ 

ढकालको सुन्तला बगँैचामा अहिले ३ सय बोट सुन्तला समेत छन् । श्रीमती, आमा र छोराछोरी गरी ५ जनाको परिवार ढकालले सजिलै कृषि पेशाबाटै चलाइरहनुभएको छ । ढकालले समय समयमा व्यावसायिक सीप अभिवृद्धिका तालीमहरुमा सहभागी हुन सके व्यवसायमा टेवा पुग्ने बताउनुहुन्छ । 

एसएलसीसम्मको शिक्षा लिनुभएको ढकालले वास्तविक किसानको पहिचान गरी कृषकलाई प्रोत्साहित गर्ने कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताउनुभयो । बाख्रा पालनबाट सन्तुष्ट ढकालले आगामी दिनमा बाख्रा फार्म अझ विस्तार गर्ने सोचमा हुनुहुन्छ ।

स्वदेशमै बसेर यसरी कृषि तथा पशुका क्षेत्रमा लागेका जोकोही युवाहरुलाई पनि स्थानीय सरकारले उचित वातावरण, सहुलियत ऋण तथा प्राविधिक सहयोग उपलब्ध हुनुपर्ने ढकालको भनाइ छ ।  
 

अन्तिम अपडेट: चैत ६, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया