हावाहुरी प्रभावित क्षेत्रमा शौचालयकाे समस्या, स्थानीय भन्छन् : खान त पानी छैन, शौच कसरी जानु ?

 चैत २०, २०७५ बुधबार १९:४९:३३ | जयनारायण यादव
unn.prixa.net

बारा – बाराका हावाहुरी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई शौच गर्न समस्या भएको छ ।

आइतबार साँझ आएको विनाशकारी हावाहुरीले घरसँगै रहेको शौचालयसमेत भत्काएका कारण शौच गर्न आफूहरुलाई समस्या भएको उनीहरुले बताएका छन् ।

फेटा गाउँपालिकाको पुरैनिया र भलुही भरवलिया, कलैया उपमहानगरपालिकाको मनगढवा, सुवर्ण गाउँपालिकाको हर्दिया परशुरामपुर, महागढीमाई नगरपालिकाको तेलगाई, परवानीपुर गाउँपालिकाको चैनपुरलगायतका हावाहुरी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई दिसापिसाब गर्न समस्या भएको छ । 

उनीहरु दिउँसो दिसापिसाब लाग्ने डरले खाना र पानीसमेत थोरै खाने गरेका छन् । ‘दिउँसोभरि उज्यालो हुन्छ’, फटा गाउँपालिका–१, की ५० वर्षीयन कौशिला देवी कुर्मीले भन्नुभयो, ‘चारैतिर मानिसहरु खचाखच हुन्छन् । दिसा गर्न कतातिर जानु ?’ 

फेटा–६, पुरैनियाका ३५ वर्षीया शायला खातुनले रात परेपछि अँध्यारोान र दिसापिसाब गर्न जाँदा सर्प र किराले टोक्छ कि भन्ने डर लाग्ने बताउनुभयो । दिउँसो शौच गर्न जाँदा चारैतिर मान्छे हुने हुँदा एकदमै गाह्रो हुने गरेको पीडा सुनाउनु भयो । 

शौचालयको समस्या त छँदैछ, त्यसमाथि पानीको समस्याले धेरैलाई पिरोलेको छ । पानीको  ठूलो समस्या रहेको भन्दै पुरैनियाकी ५५ वर्षीया खेरुनेसाले पीडा पोख्नुभयो, ‘खानका लागि त पानी छैन, दिसा धुन कहाँबाट ल्याउनु ?’ 

४० वर्षीया सालमा खातुनले दिसापिसाब गर्न कि त  छिमेकीको घर कि त खुल्ला बारीको भर पर्नु परेको पीडा सुनाउनुभयो । उहाँले चाँडो अस्थायी शौचालय भए पनि व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 

समस्या पुरैनियाको मात्रै होइन, हावाहुरी प्रभावित सबै क्षेत्रका बासिन्दाहरुलाई अहिले दिसापिसाब कहाँ गर्ने भन्ने चिन्ताले सताएको छ । 

शौचालयको अभावले बस्ती नै गन्हाउन थालेको कलैया उपमहानगरपालिका–१८ की ममता मलीले बताउनुभयो ।  पुरैनियाकी सकिला खातुन ओत लाग्न सुरक्षाकर्मीले टेन्टको व्यवस्था गरेको बताउँदै दिसापिसाब गर्ने ठाउँ नभएर रोकेर बस्नुपर्ने बाध्यता रहेको सुनाउनु भयो ।

हावाहुरी प्रभावित क्षेत्रमा ओत लाग्न र खानलाई खासै समस्या नभए पनि शौचालयको भने विकराल समस्या रहेको छ । बेलैमा शौचालयको प्रबन्ध नमिलाए महामारीको प्रकोप फैलने डर पनि त्यत्तिकै रहेको छ ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया