ए नेताज्यू, अर्थ न बर्थका कुरा छाँट्दैमा देश बन्छ ?

 चैत २१, २०७५ बिहिबार ११:५५:१० | अर्जुन पोख्रेल
unn.prixa.net

नेपाल भूपेरिवेष्ठित देश हो भन्ने कसले जानको छैन र ? नेपालमा हिमाल, पहाड र तराई छन्, सांस्कृतिक विधिधता भएको देश हो, प्राकृतिक रुपमा नेपाल निकै सून्दर छ, धार्मिक सहिष्णुता र सामाजिक एकता छ‍‍‍‍‍‍‍...यस्ता यस्ता कुरा लगभग सबै नेपाली जान्दछन् ।

नेपालमा २००७ सालमा क्रान्ति भयो, २०३६ सालमा जनमत संग्रह भयो, निरंकुशतन्त्र अन्त्य नभएपछि २०४६ सालमा जनआन्दोलन भयो र २०४७ सालमा संविधान आयो भन्ने कुरा पनि नयाँ होइन ।

यस्तै २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धमा १७ हजारको हाराहारीमा मान्छे मरे, २०६२/०६३ सालमा भएको जनआन्दोलनले राजसंस्था खारेज गर्‍यो, देश गणतन्त्रमा गयो । दुईपटक संविधानसभाको चुनाव भएर संविधान आएको हो भन्ने पनि धेरैलाई थाहा छ ।

यस्तै नेपालमा विकास भएको छैन, विकासको लागि प्रयास गरिरहेका छौँ, देशभित्रै भएका प्राकृतिक स्रोत र साधनको उपयोग गर्न सकेका छैनौँ, लाखौँ युवा परदेशमा पसिना बाध्य छन् भन्ने कुरा पनि लोकसेवाको तयारीमा रहेको विद्यार्थीले घोकेजस्तो लगभग प्रायः नेपालीलाई कण्ठ छ ।

तर हाम्रा नेताहरुलाई भ्रम छ, नागरिक यस्ता कुरा जान्दैनन् । नत्र यस्ता कुरालाई हरेक कार्यक्रममा भाषणको रुप दिएर उनीहरु किन बर्बराउँछन त ?

शायद फुर्सदिला भएर होला नेताहरुले हरेक दिन यस्तै कुरा गरेर दिन ठेल्छन् । भाषणमा भन्छन् ‘अनुत्पादक कुरा गरेर दिन नठेलौँ, उत्पादक क्षेत्रमा लागौँ, समय खेर नफालौँ ।’

तर अरुलाई अर्ति दिने नेताहरु दिनभरी कार्यक्रममा गएर हाई आउने गरी बस्छन् । अनि सबैलाई थाहा भैरहेको कुरा गरेर घण्टौँ बिताउँछन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण पनि यस्तै हुन्छ । हुन त उहाँको भाषण रमाइलो र चोटिलो पनि हुन्छ । तर एउटै कुरा दोहोर्‍याउने उहाँको बानी छ । बुधबार राष्ट्रिय विकास परिषद्को बैठकमा सहभागी हुन सोल्टी पुगेका प्रधानमन्त्री ओलीले साढे ३ घन्टा बिताउनुभयो र ५५ मिनेट भाषण छाट्नुभयो । 

बैठकमा केन्द्रका सबै मन्त्रीहरु, सबै सचिवहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्री, प्रदेश सचिवहरु महानगरपालिकाका मेयर, अर्थविद्लगायतको सहभागिता थियो । देश कसरी बनाउनुपर्छ र देश किन बिग्रियो भन्ने सबैले जानेका थिए होलान् । 

मन्त्री, मुख्यमन्त्री, सचिव, मेयर अर्थविद्लगायतले नेपालमा भएका आन्दोलन, देशको प्राकृतिक भौगोलिक अवस्थालगायतका कुरा पनि नजानेका होलान र ?

तर प्रधानमन्त्री ओलीले हाम्रो देशमा हिमाल, पहाड छन् भन्नेदेखि फलाम खानी रहेको अनि विष हाल्दा तरकारी र फलफूल बिग्रिएकोसम्म पाठ पढाउन भ्याउनुभयो । 

देशमा राणादेखि राजाले दुःख दिएको, विभिन्न आन्दोलन भएको, गणतन्त्र आएको, संविधान जारी भएको, नागरिक अधिकारसम्पन्न भएको, युरोप र अमेरिकामा धेरै विकास भएको...यस्तै यस्तै गफ हानेर उहाँले ५५ मिनेट टार्नुभयो । तर बीचबीचमा भन्दै हुनुहुन्थ्यो, ‘हामीले अनुत्पादन क्षेत्रमा समय खेर फाल्नु हुँदैन ।’ 

अरुलाई समय खेर नफाल्न हरेक दिन सुझाव दिने प्रधानमन्त्रीले हरेक दिन यस्तै यस्तै भाषण गरिरहँदा मनमा प्रश्न आए, प्रधानमन्त्रीज्यू, तपाईंका भाषणमा नयाँ कुरा के छन् ?

नेपालको भौगोलिक अवस्थाबारे कसले जानको छैन र सिकाउनुपर्‍यो ?

राजनीतिक आन्दोलन नागरिकले थाहा पाएका छैनन् र घोकाएको ?

धुलो धुवाँ छ, गरिबी छ, हामीले काम नगरेर नै भएको हो, यो कुरामा घन्टौँसम्म किन बकबक गर्नुपर्छ ?

नागरिकले अधिकार  पाएर नै तपाईंलाई प्रश्न गरेका छन्, सामाजिक सञ्जालदेखि पँधेरासम्म तपाईंका नराम्रा कामको आलोचना हुन्छ, अनि हामीले अधिकार पाएको कुरा तपाईले हरेक दिन फलाक्नैपर्छ ?

प्रधानमन्त्री औसतमा दिनको एउटा कार्यक्रममा गएर सम्बोधन गर्नुहुन्छ । पछिल्लो एक वर्षमा गरेका भाषण सम्झनुस्, सुरुका दिन गरेको भाषण र अहिले अन्तिम समय गरेको भाषणमा के फरक छ ?

वर्ष दिनभरी एउटै कुरा गर्दा नागरिक वाक्क भए होलान् भन्ने मनमा आएन ?

देश चलाउने सबैजसो नेता र सरकारी कर्मचारी उपस्थित बैठकमा १८ मिनेट बोलेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पनि राणा शासनदेखि बीपीको योगदान अनि गणतन्त्र नेपालसम्मका कुरा मिलाएर भाषण गर्नुभयो । ३० मिनेट भाषण गरेको प्रचण्डले पनि त्यतिका धेरै विद्धानलाई सामान्य पाठ पढाउनुभयो । के के हो के के, कम्युनिष्टका शब्दावली प्रयोग गर्दै उहाँले सबैलाई दिक्क लाग्नेगरी र हाई काढ्नेगरी आधा घन्टा भाषण हान्नुभयो । 

लगत्तै ५५ मिनेट बोलेका प्रधानमन्त्रीले पनि जे गच्छदारले र प्रचण्डले बोलेका थिए, त्यतै वरिपरि रहेर भाषणमार्फत पाठ पढाउनुभयो । 

बुधबार सोल्टी होटलको कार्यक्रम मात्रै होइन, हरेकजसो कार्यक्रममा प्रधानमन्त्री, मन्त्री र नेताहरुले यसैगरी वाक्क हुनेगरी भाषण गर्छन् ।

पहिलो कुरा त प्रधानमन्त्री, मन्त्री तथा नेताहरुले फटाफट काम गरेर नागरिकलाई नतिजा देखाउनुपर्ने हो, भाषणमा समय नै बिताउने होइन । 

तर कार्यक्रममा जानैप¥यो र भाषण गर्नैपर्‍यो भने केही नयाँ कुरा त गर्नु नि । सधैँभरी एउटै कुरा घण्टौँसम्म बोल्दा नागरिकमा झन् तनाव र रिस पैदा गर्छ भन्ने उनीहरु किन बुझ्दैनन होला ? उनीहरुका सल्लाहकारले छोटो बोल्न किन सुझाव दिँदैनन् होला ?

मलाई लाग्छ, कार्यक्रममा गएर घण्टौँसम्म नागरिकलाई सामान्य कुरामा पाठ पढाउँदा नागरिक उल्टो दिक्क हुन्छन् । केही कार्यक्रममा केही व्यक्तिले छोटो भाषण गरेर बिदा माग्दा पररर ताली बज्छ । घण्टौँ बोल्दा नागरिक वाक्क दिक्क हुन्छन्, नेताले बिदा माग्दा अलिअलि मात्रै ताली बज्छ ।

भाषण गर्नैपर्ने केही नयाँ कुरामा गर्नुहोस् । आउँदैन भने पुरानै कुरा खोक्न किन कार्यक्रममा जानुपर्‍यो ? उद्घाटन र समापन गर्न तल्ला तहका नेता पठाए हुन्न ? अरुभन्दा फरक नेता हुँ भन्दै छाती फुलाउने, अरुलाई नानाभाँती भन्ने, तर अर्थ न बर्थका भाषण गर्ने आफ्नो कमजोरी कहिले सुधार्ने नेताज्यू ?


 
 

अन्तिम अपडेट: भदौ १५, २०७६

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया