राजदूत ढकालद्वारा एसियाका मुख्य देशहरुका कुटनीतिक नियोगका प्रमुखसँग भेटघाट

 चैत २१, २०७५ बिहिबार १४:४३:४८ | उमाकान्त पाण्डे

यूएई – संयुक्त अरब एमिरेट्स यूएईका लागि नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले एसियाका प्रमुख देशहरुका कुटनीतिक नियोगका प्रमुखसँग भेटघाट तथा छलफल सुरु गर्नुभएको छ ।

यूएईका लागि राजदूतका रुपमा एक महिनाअघि यहाँ आउनुभएका ढकालले नेपालले जस्तै श्रमिक कामदारको रुपमा यूएईमा कामदार पठाउने भारत, बङग्लादेश जस्ता देशका राजदूतसँग भेटघाट गर्नुभएको हो । 

नेपालसँगै भारत, बङ्लादेशलगायत कामदार पठाउने देशका धेरैजसो काम र समस्याका प्रकृति उस्तै हुने भएकाले साझा विषयमा छलफल र समाधानका उपायको खोजीमा राजदूत ढकालको कुटनीतिक भेटघाट केन्द्रित भएको नेपाली दूतावासले जनाएको छ । 

‘हामी मिलेर गर्न सक्ने कामका विषयमा सहकार्य गर्न र आपसी दुई वा बहुराष्ट्रिय हित, सम्बन्ध थप बलियो बनाउन पनि भेटघाट आवश्यक छ,’ राजदूत ढकालले भन्नुभयो ।

यस्तै बुधबार राजदूत ढकालले र चिनियाँ राजदूत चाङ हाउसँग शिष्टाचार भेट गर्नुभएको छ । आबुधाबीमा रहेको चिनियाँ दूतावासको कार्यालयमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको दूतावासले जनाएको छ । 

चीन र यूएई तथा नेपाल र चीनबीचको व्यापार व्यवसायकाबारेमा दुवै देशका राजदूतले एक आपसमा जानकारी राखेको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताउनुभयो ।

भेटमा राजदूत ढकालले नेपालको पर्यटन र आर्थिक विकासमा चीनले गर्दै आएको सहयोगबारे जानकारी गराउनुभएको थियो भने चिनियाँ राजदूत हाउले यूएई र चीनको व्यापार साझेदारीका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले दुई लाख चिनियाँ नागरिक यूएईमा कार्यरत रहेको र यहाँ कार्यरत अधिकांश चिनियाँ नागरिक व्यवसायमा आबद्ध रहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया