नेपालका कम्युनिष्ट पार्टी : टुटफुट र गुट उपगुट धेरै, एकता आक्कलझुक्कल

 जेठ ३, २०७५ | नवराज फुयाँल
unn.prixa.net

communist unity

काठमाडौं, जेठ ३ – नेपालका कम्युनिष्ट पार्टीमा जुटभन्दा फुटको अभ्यास धेरै छ । ६९ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलन प्रायः जसो टुटफुट, गुट र कहिलेकाहीँ एकताका शृङ्खलाबाट गुज्रँदै आएको छ । सिद्धान्तको लेपमा गुटगत राजनीति नेपालका कम्युनिष्ट पार्टी र नेताहरुको एउटै समस्या हो ।

सैद्धान्तिक–राजनीतिक विषयमा मत–मतान्तर भन्दा पनि धेरैजसो व्यक्तिगत इगो, पद–प्रतिष्ठा र अवसरकै कारण कम्युनिष्ट पार्टीहरू जुट्ने–फुट्ने गरेको पाइन्छ ।

बिहीबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताले मूर्त रुप लिँदैछ । नेपालमा बृहत कम्युनिष्ट पार्टी बनाउने र स्थीर सरकार चलाउने भन्दै दुवै पार्टी एकताको प्रकृयामा होमिएका हुन् ।

नेपालमा कम्युनिष्ट पार्टीको इतिहास

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीमा २०१९ सालको तेश्रो महाधिवेशनपछि नै दुई लाईनको संघर्ष भन्दै समूहगत विभाजनको शृंखला शुरु भएको हो । दक्षिणपन्थी, उग्रवामपन्थी, यथास्थितिवादी, दरवारपरस्त जस्ता आरोप प्रत्यारोप मात्र होइन फुटका लागि पार्टीको नाममा मोटो श कि पातलो स लेख्ने, कमा कि फुलस्टप लेख्ने कुनै विदेशी नेताको निजी जिन्दगीलाई हेर्ने दृष्टिकोण कस्तो बनाउनेसम्मका थरी–थरीका कारण देखाउँदै नेपाली कम्युनिष्ट पार्टीहरु फुट्ने क्रम चलिरह्यो ।

अर्कालाई अनेकौ आरोपप्रत्यारोप र सत्तोसराप गर्दै आफुलाई सच्चा कम्युनिष्ट ठान्ने समूहहरु २०४६ सालसम्म आइपुग्दा एक दर्जनभन्दा बढी पार्टी बने । एउटा धार कोओर्डिनेसन केन्द्र, माले, माक्र्सवादी हुँदै २०४७ सालमा नेकपा एमालेका रुपमा विकसित भयो । त्यस्तै अर्कोधार चौम, मशाल, एकता केन्द्र हुँदै नेकपा (माओवादी) बन्न पुग्यो ।

२०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्र प्राप्तिसँगै एमाले संसदीय राजनीतिमा सहभागी भयो । तर एकता केन्द्र पहिलो संसदीय चुनावलाई उपयोग गर्दै नेकपा माओवादीका नाममा २०५२ सालदेखि सशस्त्र संघर्षमा होमियो ।

२०२८ सालको झापा विद्रोहलाई बामपन्थी भड्काव ठान्ने एमाले त्यसैको जगबाट अघि बढेको हो । जनयुद्धमा होमिएको माओवादीले भने झापा विद्रोहलाई आफ्नो आधारबिन्दुका रुपमा लिएको थियो ।

संसदीय खेल र सत्ता भागबण्डामा सामेल एमाले २०५४ सालमा विभाजित भयो र माले बन्यो । तर त्यो विभाजन लामो समयसम्म टिकेन । फेरि २०५८ सालमा एकता भयो ।

त्यसो त १० वर्ष सशस्त्र संघर्ष गरेर २०६२–०६३ साल पछि खुला राजनीतिमा आएको नेकपा माओवादीमा पनि तीव्र रुपमा फुट सुरु भयो । अहिलेसम्म नेपालका कम्युनिष्ट पार्टीको फुट र एकता सैद्दान्तिक भन्दा समूह र व्यक्तिगत टकराव, पद र प्रतिष्ठाकै कारण भएको देखिन्छ ।

जनमत बलियो भएपनि विभाजनकै कारण विगतमा कम्युनिष्ट पार्टीले स्थिर र बहुमतको सरकार बनाउन सकेनन् । तर अहिले एमाले र माओवादीबीचको एकता प्रकृयाले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न र जनमतको कदर गर्दै स्थिर सरकार संचालन गर्न बाटो खोलेको छ ।

कसरी संभव भयो एकता ?

संविधानसभाबाट जारी भएको संविधान बमोजिम पहिलोपटक हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावले दुवै पार्टीलाई अहिलेको एकतासम्म ल्याइपुर्याएको हो । २०७४ असोज १७ गते बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीलाई समेत समेटेर चुनावी तालमेलसँगै पार्टी एकता गर्ने घोषणा गरियो । तर त्यसको केही दिनपछि नै बाबुराम भट्टराई कम्युनिष्ट दलसँगको तालमेलबाट अलग्गिएर कांग्रेससँगको गठबन्धनमा आवद्ध हुनुभयो । 

तालमेल गर्दै एउटै पार्टी बनाउने घोषणा गरेर चुनावमा होमिएका एमाले र माओवादीले बहुमत हासिल गरे ।

एकता घोषणा गरेको झण्डै ८ महिनामा बल्ल एकता प्रकृयाले अन्तिम रुप पाएको हो । यो ८ महिने अवधिमा पनि पार्टी एकता हुने, नहुनेबारे मतभेद मात्र देखिएन । अब एकता नै हुँदैन भन्ने सम्मका अनुमानहरु भइरहे । 

केही दिनअघि मात्रै पार्टी एकतामा संयोजनकारी भूमिका निर्वाह गर्ने मध्येका एक एमाले नेता बामदेव गौतमले अहिलेलाई एकता स्थगन गरौँसम्म भन्नुभएको थियो । एकता प्रकृया लम्बिएको र विवादहरु नयाँ नयाँ उब्जिँदै गएकोमा उहाँ निराश देखिनुभएको थियो । 

तर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को लगातारको छलफलले अब एकता प्रकृयालाई निष्कर्षमा पुर्याएको हो ।

अझै बाहिर छन् धेरै कम्युनिष्ट पार्टी

मुख्य वाम शक्तिहरू एमाले, माओवादी केन्द्रले पार्टी एकतालाई अन्तिम रुप दिंदै गर्दा अझै यो अभियानबाहिर आधा दर्जनभन्दा बढी साना कम्युनिस्ट पार्टी छन् । उनीहरु सबैजसोमा आफू मात्रै सही भएको र अरु सबै खराब रहेको भन्दै धारेहात लगाउने प्रवृत्ति कायमै छ । 

एमाले र माओवादी केन्द्र बाहेक अहिले सीपी मैनालीको नेतृत्वमा नेकपा माले, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्दको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत ससाना कम्युनिष्ट पार्टीहरु सक्रिय छन् । जसमध्ये क्रान्तिकारी माओवादी र नेकपाले एकताको पहल भैरहेको बताएका छन् । 

२०४७ सालमा गठन भएको नेपाल मजदुर किसान पार्टी पनि अलग्गै पार्टीका रूपमा छ । 

२०१९ सालको तेस्रो महाधिवेशनमा निष्काशनमा परेका केशरजंग रायमाझी समूहबाट विभाजनको शृंखला बेहोर्दै विकसित भएको नेकपा (संयुक्त) माओवादीमा मिसिसकेको छ । तर रायमाझी समूहले २०२४ सालमा पुनर्गठन गरेको उक्त समूहमा २०३८ सालमा विभाजन भई नेकपा (मानन्धर) र नेकपा (रायमाझी) समूहमा विभाजन भएका थिए ।

रायमाझी समूहमा पनि बर्मा समूहको विभाजन हुँदै २०४७ सालमा नेकपा (प्रजातान्त्रिक) २०४८ हुँदै प्रजातान्त्रिक बर्मा समूह, अमात्य र मानन्धर समूहबीच एकता भई नेकपा (संयुक्त) बनेको थियो । नेकपा (माले) पनि यो समूहभन्दा बाहिरै छ । मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा मसाल पनि छ । 

माओवादी धारबाट मोहन वैद्य र नेत्रविक्रम चन्द (विप्लव)को अलग–अलग पार्टी अझै यो अभियान बाहिर छन् । वैद्यले एमाले–माओवादीबीचको एकता प्रकृयालाई ‘अवसरवादी मिलन’ भनेका छन् ।
 

नवराज फुयाँल

राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउने नवराज फुयाँललाई फेसबुकमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया