केरलको वायानादका लागि राहुल गान्धीकाे उम्मेदवारी दर्ता

 चैत २१, २०७५ बिहिबार १८:५३:४३ | रासस
unn.prixa.net

 भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा सदस्यका लागि केरलको वायानादबाट चुनाव लड्नेगरी उम्मेदवारी दर्ता गराउनुभएको छ । 

वायानादमै पुगेर गान्धीले  बिहीबार दिउँसाे बजेतिर उम्मेदवारी दर्ता गराउनु भएको पार्टीका महासचिव के.सी. भेनुगोपाले बिहीबार जानकारी दिनुभयो । उहाँले बिहीबार नै महाराष्ट्रको नागपुरमा आयोजित चुनावी र्‍यालीलाई समेत सम्बाेधन गर्नु भएको समाचारमा जनाइएको छ ।

पार्टीको प्रदेश समितिको आग्रहमा गान्धीले वायानादबाट लोकसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको हो । 

कांग्रेसको केरल प्रदेशका अध्यक्ष एम आई शानावासको गएकाे वर्ष निधन भएपछि खाली भएको ठाउँमा गान्धीले उम्मेदवारी दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

यस निर्वाचन क्षेत्रबाट शानावास सन् २००९ र २०१४ मा गरी दुई पटक निर्वाचित हुनुभएको थियो । यो ठाउँ कांग्रेसको लागि जित्न सजिलो ठाउँ मानिन्छ । त्यसैले पनि कांग्रेस अध्यक्ष राहुल गान्धीले केरलबाट उम्मेदवारी  दिएकाे बताइन्छ ।

वायानाद बाहेक उत्तर प्रदेशको अमेठीबाट पनि गान्धीले उम्मेदवारी दिन लाग्नु भएको छ । अमेठीमा उहाँले बहालवाला मन्त्री स्मृति इरानीसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।  
 
यसअघि मार्च ७ मा कांग्रेसले घोषणा गरेको पार्टीबाट निर्वाचन लड्नेहरुको पहिलो सूचीमा अध्यक्ष गान्धी अमेठीबाट मात्रै उम्मेदवार बन्ने उल्लेख थियो । 
 
उहाँले दुई ठाउँबाट उम्मेदवारी दिन लागेको विषयलाई कांग्रेसका नेताहरुले आवश्यकता भनेका छन् भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टी (भाजपा)का नेताहरुले गान्धी डराएको वा आफ्नो एक ठाउँको जितमा ढुक्क हुन नसकेको रुपमा व्याख्या गरेका छन् । 

भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा आम निर्वाचन हुन लागेको छ । वायानादसहित केरलका २० क्षेत्रमा अप्रिल २३ मा चुनाव हुँदैछ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया