आँधी पीडितका लागि सरकारले आवास बनाइदिने

 चैत २२, २०७५ शुक्रबार ८:१५:३८ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रदेश नं २ मा हावाहुरीबाट घरबास गुमाएका बारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ । जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात् सुरु हुनुअघि नै आँधीप्रभावित घरवारविहीन परिवारलाई हस्तान्तरण गरिने छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हावाहुरीपीडितका लागि सरकारको ताजा योजनाबारे बिहीबार साँझ कुरा गर्दै सरकारको पछिल्लो निर्णयबारे जानकारी दिनुभएको हो ।

सङ्घीय सरकारले यस्ता आवासको निर्माणकार्यको समन्वय र सहजीकरणका लागि प्रदेश नं २ का मुख्य सचिवलाई संयोजनको जिम्मेवारी दिएको छ । यस समितिमा शहरी विकास मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र रक्षा मन्त्रालयका तर्फबाट नेपाली सेनाका प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ ।

यी आवासको निर्माण गर्ने जिम्मा नेपालका कठिन भौगोलिक क्षेत्रमासमेत सडक पुर्‍याएर प्रशंसा आर्जन गरिरहेको नेपाली सेनाले पाएको छ । सरकारको पछिल्लो निर्णयबाट वर्षात्को बेला आँधीहुरी प्रभावित जनता कहाँ सुरक्षित ओत लाग्ने भन्ने चिन्ता गरिरहनु नपर्ने र पहिलेको तुलनामा बढी सुरक्षित जीवनयापन गर्न सहज हुने देखिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया