‘हेल्लो जिन्दगी’ मा दीपिका प्रसाई

 चैत २२, २०७५ शुक्रबार १३:७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुपरहिट चलचित्र ‘छक्का पञ्जा ३’ पछि विवाह बन्धनमा बाँधिएकी अभिनेत्री दीपिका प्रसाई चलचित्र क्षेत्रबाट बाहिरिने धेरैको अनुमान थियो अन्ततः त्यो अनुमान गलत साबित भएको छ ।

चलचित्र ‘छक्का पञ्जा ३’ रिलिजको लामो समय पश्चात अभिनेत्री दीपिका प्रसाई नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् । उनि अनुबन्धित भएको चलचित्र हो ‘हेल्लो जिन्दगी’ ।

चलचित्रको छायांकन यही चैत अन्तिम साताबाट सुरु हुने बुझिएको छ । निर्देशक एभरेष्ट सूर्य बोहरा केही दिनमा चलचित्रको छायांकनको तयारीका लागि बेलायत जाने तयारीमा छन् । निर्देशक बोहरा गएको केही दिनमा कलाकारसहितको जम्बो टोली ‘हेल्लो जिन्दगी’ छायांकनको लागि बेलायत प्रस्थान गर्ने बुझिएको छ । अभिनेत्री दीपिका प्रसाईले चलचित्र ‘हेल्लो जिन्दगी’ साइन गरिसेकाको बताएकी छिन् । 

निर्देशक दिवाकर भट्टराई र दीपिका प्रसाईले हिन्दु परम्परा अनुसार वैशाखमा विवाह गर्ने बताएका थिए । यही कारण पनि चलचित्र गर्ने नगर्ने टुंगो थिएन त्यसकारण पनि आफू चलचित्रमा अनुबन्ध भएको कुरा सार्वजनिक नगरेको दीपिकाको भनाइ छ । 

 दीपिका भन्दा पहिले चलचित्रमा अभिनेत्री श्वेता खड्का फाइनल भैसकेकी छन् । श्वेता, दीपिकाका अलावा चलचित्रमा सलोन बस्नेत, विल्सनविक्रम राई, विक्रान्त बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ ।

विराञ्जना इन्टरटेन्मेन्टको ब्यानरमा निर्देशक बोहोराको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्रलाई सृजना जोशीले निर्माण गर्न लागेकी हुन् । चलचित्रलाई अहिलेका सर्वाधिक व्यस्त र महंगा छायांकार पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । चलचित्रका गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराईको स्वर रहने बताइएको छ ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया