विद्यालयको लेखापाललाई बाइपास गरेर कर्मचारीको नाममा खाता सञ्चालन

 चैत २२, २०७५ शुक्रबार १८:०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ - विद्यालयमा लेखापाल राखेर बजेटसमेत खर्च गरिरहेका विद्यालयहरुले लामो समयदेखि कर्मचारीको नामबाट खाता सञ्चालन गरिरहेको खुलासा भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयहरुको विवरण अध्यावधि गर्न सूचना खोजी गर्दा यस्तो तथ्य फेला परेको हो ।  

सबै विद्यालयहरुमा आधारभूत तहका कक्षाका लागि लेखापालका लागि वर्षमा ९७ हजार ५ सय र कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयलाई ३ लाख ४४ हजार ५ सय लेखापाल राख्नका लागि रकम पठाइने गरिएको थियो । तर नीलकण्ठ नगरपालिकामा रहेका विद्यालयले गएकाे वर्षदेखि कर्मचारीलाई खाता सञ्चालन गर्न लगाएर शिक्षकहरुलाई समस्यामा पारेको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी कृष्णकुमार श्रेष्ठले बताउनुभयो । 

सदरमुकाममा रहेको बालमन्दिर माविका प्रधानाध्यापक हरिलक्ष्मी भुजेल र जिल्ला अस्पतालका लेखापाल कृष्णप्रसाद ढकालको नामबाट विद्यालयको खाता सञ्चालन गरिएको छ । यसैगरी भैरवी मावि सुनौलाबजारमा प्रधानाध्यापक चेत नारायण श्रेष्ठ र नीलकण्ठ नगरपालिकामा लेखा शाखाकी पवित्रा बुर्लाकोटीको नामबाट बैंक खाता सञ्चालन गरिएको छ ।

विद्यालयमा लेखापालको लागि तलब पठाउँदा नगरपालिकाको आदेशमा आफूलाई बैंक खाता सञ्चालन गर्न लगाइएको बालमन्दिर माविको लागि बैंक खाता सञ्चालन गर्नुभएका विष्णुप्रसाद ढकालले बताउनुभयो । 

लेखापालका लागि पठाइएको रकम लेखापाल राखेर लेखापाल र प्रधानाध्यापकको नामबाट खाता सञ्चालन गरी शिक्षकहरुलाई नियमति तलब बैंक मार्फत भुक्तानी व्यवस्था मिलाउन शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी कृष्णकुमार श्रेष्ठले विद्यालयहरुलाई अनुरोध गर्नुभयो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया