मातृभूमि कप शनिबार, पारसविरुद्ध ज्ञानेन्द्र र मदनकृष्णविरुद्ध हरिवंशकाे टिम खेल्ने

 चैत २२, २०७५ शुक्रबार १७:३८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ भोलि शनिबार त्रिवि मैदान कीर्तिपुरमा हुने मातृभूमि कपको सम्पूर्ण तयारी सकिएको छ ।

मातृभूमि कपका लागि राष्ट्रिय कलाकारहरुको टिमसमेत फाइनल भएको फाउण्डेशनले जानकारी दिएको छ ।

मातृभूमि कपका लागि कलाकार समूहको तर्फबाट सम्पूर्ण कलाकारहरु खेल खेल्न पूर्ण तयारीका साथ बसिरहेका छन् । कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए । 

‘खेलाडीहरुको खेलका लागि पूरा तयारी सकिएको छ’ फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले भने ‘भोलिको प्रतियोगिता रोमाञ्चक मात्र नभइ एउटा पर्फेक्ट मनोरञ्जनको प्याकेज पनि हुनेछ ।’ प्रतियोगितामा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आमने सामने हुनेछन् ।

पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बीच रोमान्चक २० ओभरको खेल हुनेछ भने कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ बीच १० ओभरको खेल हुनेछ ।

रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगिता गर्न लागिए पनि यसबाट संकलित रकमको १५ प्रतिशत आँधी प्रभावितहरुका लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ । मातृभूमि कपका लागि टिकट वितरण भइरहेको छ । ई–सेवामार्फत अनलाइन टिकट खरिद गर्न सकिनेछ भने भोलि खेलमैदानमा समेत टिकट उपलब्ध हुनेछ । खेल भोलि अर्थात् शनिबार १० बजेदेखि सुरु हुनेछ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया