धादिङ पहिरो : दुई परिवारका ५ जनाको मृत्यु,  ९ घरमा क्षति (अपडेट)

 असार १४, २०७५ बिहिबार १२:३९:३६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – उत्तरी धादिङको विभिन्न स्थानमा पहिरो जाँदा दुई परिवारको ५ जनाको ज्यान गएको छ ।

खनियाबास गाउँपालिका वडा नम्बर ५ स्थित सत्यदेवीको साइस्वाराँमा बुधबार राती पहिरो जाँदा एकै घरका ३ जनाको ज्यान गएको छ ।

घरमाथिबाट पहिरो खस्दा राजु गोलेको घर पूर्ण रुपमा क्षति पुगेको छ । घटनामा राजुको श्रीमती ३६ वर्षीया बसोधा, १० वर्षीया छोरी लक्ष्मी र ५ वर्षीया छोरी सरस्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

पहिरोमा राजु गोले शकुशल छन् भने उनका १२ वर्षीय छोरा विकास घाइते भएकोले स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि सदरमुकामतर्फ ल्याइँदै छ । 

यसैगरि त्यही गाउँपालिका वडा नं ४ चिउरीखर्कमा घरमाथिबाट आएको पहिरोले शमशेर घलेको घर पुरेको छ । पहिरोमा पुरिएर ६५ वर्षीय शमशेर घले र उनको श्रीमती कोप्ती घलेको मृत्यु भएको छ ।

सुतेको अवस्थामा पहिरो आएपछि उनीहरु भाग्न नसकेर पुरिएका हुन् । मृतकहरुको शव बिहीबार बिहानमात्र प्रहरीले गाउँबासीको सहयोगमा निकालेका थिए । 
यसैगरी यही वडाको टोड्केमा आएको पहिरोमा हरिबहादुर रिजाल, लालबहादुर थापामगरको घर पुरिएको छ ।

खनीयाँबास गाउँपालिका वडा नम्बर ४ पाख्रीबोटमा पहिरो गएर तीन घर पुरिएको छ । घटनामा २३ वर्षीय रबिन गौतम, २३ वर्षीया कल्पना गौतम २ वर्षीय रेश्मी गौतम घाइते भएका छन् ।

गाउँमाथिबाट पहिरो आएका कारण खड्करी गाउँका १२ घर रातीदेखि मड्कीला गाउँमा आस्रय लिएर बसेको गोपाल रिजालले जानकारी दिनुभएको छ । लगातारको पानीका कारण गाउँमाथिबाट पहिरो खस्न थालेपछि १२ परिवारले राती नै गाउँ छाडेका हुन् ।

यसैगरी नेत्रावती डपजोङ गाउँपालिका वडा नम्बर १ ढोकरपुर गाउँमा  पहिरो गएपछि ५ घरमा क्षति पुगेको छ । गाउँको दिपक गुरुङ, मानबहादुर गुरुङ, सन्तमान गुरुङ, वीरबहादुर गुरुङ, दलमान श्रेष्ठको घर पहिरोले पुरेको हो ।

पहिरोमा परेर ६९ वर्षीय हिरामाया तामाङ, ६५ वर्षीय सन्तमान तामाङ र ६० वर्र्षीया मिनाकुमारी श्रेष्ठ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि स्वास्थ्यचौकी लगिएको छ ।

घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षाका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर जान सकेको छैन । जसले गर्दा दार्खा इलाका प्रहरी कार्यालयमा रहेका प्रहरी टोली विभिन्न घटनास्थलहरुमा गएको छ ।

वर्षको सुरुवातमै पहिरोले धनजनको क्षति पुगेकोले घटनास्थलमा राहत पुर्याउन जिल्ला प्रशासन कार्यालयबाट राममणी मिश्रको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको र  मृतकका गाउँमै पोष्टमार्टम गर्नका लागि डाक्टरहरुको टोली पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • Sameer kc

    June 28, 2018, 3:29 p.m.

    Patrikriya deyera k garne 10 choti de samay......parasshan hudaina

  •  0 Reply

तपाईको प्रतिक्रिया