विश्वकपअघि अफगानिस्तान क्रिकेटका कप्तान परिवर्तन, नाबी र राशिद असन्तुष्ट

 चैत २३, २०७५ शनिबार १२:३०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तान क्रिकेट बोर्ड (एबीसी) ले विश्वकपको पूर्वसन्ध्यामा अशगर अफगानलाई कप्तानको जिम्मेवारीबाट बर्खास्त गरेको छ । योसँगै क्रिकेट बोर्डले तीन फर्म्याटमा अलग-अलग कप्तान नियुक्त गरेको छ ।

बोर्डको यो फैसलालाई लिएर आफगानिस्तानका दुई खेलाडी राशिद खान र मोहम्मद नाबीले असन्तुष्टि जनाएका छन् । यी दुई खेलाडीले यो परिवर्तनलाई लिएर आलोचना गरेका छन् । राशिद खान र मोहम्मद नाबीले सामाजिक सञ्जाल ट्विटरमार्फत् बोर्डले कप्तान परिवर्तन गरेको समयलाई लिएर प्रश्न उठाएका छन् । 

क्रिकइन्फोको रिपोर्टअनुसार, एबीसीले अशगर अफगानको ४ वर्षको कप्तानीमा पूर्णविराम लगाउँदै एकदिवसीय फर्म्याटमा गुलबदिन नैब, टी-२० फर्म्याटमा राशिद खान र टेस्ट फर्म्याटमा रहमत शाहलाई कप्तान चुनेको हो । 

मोहम्मद नाबीले ट्वीट गर्दै भनेका छन् कि असगरले टिमको कप्तानी राम्रोसँग गरिरहेका थिए र उनकै मार्गदर्शनमा टिमले राम्रो प्रदर्शन गरेको थियो । उनी ट्वीटमा लेख्छन्, ‘टिमको प्रधान खेलाडी भएको नाताले र अफगानिस्तानको क्रिकेट अगाडि बढेको देख्दा देख्दै ठिक विश्वकपअघि कप्तान परिवर्तन गरिनु सही समय होइन । असगरको मार्गदर्शनमा टिमले राम्रो प्रदर्शन गरेको छ र मेरो व्यक्तिगत विचारमा उनले नै टिमको नेतृत्व गर्नु उपयुक्त हुन्छ ।’

 

३१ वर्षीय असगरले मोहम्मद नाबीपछि टिमको नेतृत्व सम्हालेका थिए । उनकै कप्तानीमा अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को पूर्णकालिक सदस्य बन्दै गएको महिना देहरादुनमा आयरल्याण्डविरुद्धकाे ऐतिहासिक टेस्टमा पहिलो जित दर्ता गरेको थियो ।

उनकै अगुवाइमा अफगान टिमले आईसीसी विश्वकप छनोट २०१८ मा जित हासिल गरेको थियो । अफगानिस्तानले फाइनलमा वेस्टइण्डिजलाई हराएको थियो । ५९ टी-२० खेलमा कप्तानी गरेका अशगरले ३७ खेलमा अफगानिस्तानलाई जिताएका छन् । उनले एकदिवसीयमा पनि ३१ खेल जिताएका छन् ।

विश्वकै १ नम्बर टी-२० का बलर राशिद खानलाई टी-२० टिमको कप्तान र एकदिवसीय क्रिकेटको उपकप्तान बनाइएको छ । तर राशिद पनि यो निर्णयलाई लिएर खुशी छैनन् । ‘चयन समितिको सम्मान गर्दै म यो फैसलाको विरुद्धमा छु, यो फैसलालाई गैरजिम्मेवारी र एकोहोरो मान्छु । क्रिकेटको विश्वकप नजिकिँदै गर्दा अशगरले नै कप्तानको जिम्मेवारी निभाउनुपर्छ’; राशिदले ट्विटरमा लेखेका छन् । 

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया