पाकिस्तानले भारतसँगको सम्बन्ध सुधार्न ३ सय ६० कैदीलाई रिहा गर्ने

 चैत २३, २०७५ शनिबार १३:५८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानले भारतसँगको सम्बन्ध सुधारका लागि पाकिस्तानी जेलमा रहेका ३ सय ६० भारतीय कैदीबन्दीलाई मुक्त गर्ने भएको छ । पाकिस्तानले मानवीयताका आधारमा यो फैसला लिएको जनाएको छ । 

गएको फेब्रुअरी १४ मा भारत प्रशासित क्षेत्र कश्मीरमा आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) लाई लक्षित गरेर आत्मघाती बम विस्फोट गराएपछि दुई देशबीचकाे सम्बन्ध चिसिएको थियो । त्यस विस्फोटमा परि ४० सुरक्षाकर्मीकाे ज्यान गएको थियो । 

भारतले पनि जवाफी कारबाहीस्वरुप  १३ दिनपछि  आतंकवादी संगठनको आधारमा हवाई आक्रमण गरेको बताएको थियो । त्यसको भोलिपल्ट पाकिस्तानले एक भारतीय लडाकू विमान खसालेको थियो र पाइलटलाई नियन्त्रणमा लिएको थियो । पछि उनलाई पाकिस्तानले रिहा गरेकाे थियो । 

‘पाकिस्तानले सजाय पूरा गरेका ३ सय ५५ माझी र ५ नागरिक गरी ३ सय ६० भारतीय कैदीबन्दीलाई रिहा गर्ने फैसला गरेको छ’, पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मोहम्मद फैसलले संवाददातलाई बताए । उनले कैदीबन्दीलाई चार समूह गरेर रिहा गर्ने बताए, जुन प्रक्रिया अप्रिल ८ बाट सुरु हुनेछ ।

यी दुई पक्षबीच खराब सम्बन्धका कारण जेलमा सजाय पूरा गरेका धेरै कैदीबन्दी पनि जेलमा नै रहेका थिए । जनवरीमा यी दुई पक्षलाई दिएको सूची नुसार, भारतीय जेलमा ३ सय ४७ पाकिस्तानी कैदी रहेका छन्, जसमा प्रवक्ताले २४९ साधारण नागरिक र ९८ माझीको रुपमा रहेकाे उल्लेख गरेका छन् । 

पाकिस्तानी जेलमा ५ सय ३७ भारतीय कैदी रहेका छन्, जसमा ४ सय ८३ माझी रहेका छन् । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘हामीलाई आशा छ कि भारतले यसलाई फेरि लागू गर्नेछ ।’

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया