डाेटीका लघु उद्यमीहरुलाई आवश्यक सामग्री वितरण

 चैत २३, २०७५ शनिबार १७:४४:३१ | विमल बिष्ट
unn.prixa.net

डाेटी – घरेलु तथा साना उद्योग विकास समिति दिपायल राजपुरले डाेटी जिल्लाका ४७ जना उद्यमीहरुलाई लघु उद्यममा प्रयोग गरिने सामाग्रीहरु वितरण गरेको छ । 

शनिबार एक कार्यक्रमको आयोजना गरी व्यापार व्यवसाय गरिरहेका तर उपकरण नहुँदा समस्यामा परेका जिल्लाभरका व्यवसायीहरुलाई छनौट गरी यस्ता समाग्री वितरण गरिएको घरेलु तथा साना उद्योग विकास समिति दिपायल राजपुरका निमित्त कार्यालय प्रमुख नवराज गौतमले बताउनुभयो । 

‘जिल्लामा व्यापार व्यवसाय गरिरहेका तथा सामान नहुँदा समस्यामा परेका व्यवसायीहरुले दिएको निवेदनका आधारमा छनौट गरी सामाग्री वितरण गरेका छौँ’, उहाँले भन्नुभयो, ‘आशा छ, उहाँहरुले अब राम्रै व्यवसाय गर्नुहुनेछ ।’

व्यवसायीहरुलाई प्रदान गरिएका सामाग्रीमा ८० प्रतिशत घरेलु तथा साना उद्योग विकास समिति दिपायल राजपुरको अनुदान तथा २० प्रतिशत माग गर्ने व्यवसायीको रकम रहेको बताइएको छ । प्रदान गरिएका सामाग्रीले यहाँका लघु उद्यमीहरुलाई आफनो व्यापार व्यवसाय गर्नमा निकै राहत हुने जिल्ला समन्वय समितिका संयोजक तथा लघु उद्यमीलाई सामान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि राबहादुर ऐरले बताउनुभयो ।

जिल्लामा उद्यमीहरुको सिप विकास लगायत अन्य व्यापार व्यवसायमा सहयोग पुर्‍याउने हेतुले बर्सेनि लघु उद्यम सम्बन्धि तालिम तथा उपकरण वितरण गर्दै आएको छ । शनिबार वितरण गरिएका सामाग्रीहरुमा सिलाइमेसिन, सुइटर बुन्ने मेसिन, मासु राख्ने डीप फ्रिज, मासु कटिङ गर्ने औजार, चाउमिन,पाउरोटी बनाउने मेसिन, ब्युटीपार्लरसम्बन्धी लगायतका सामग्री रहेका छन् ।  
 

अन्तिम अपडेट: चैत २९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया