हराउँदै दुना, टपरीको प्रयोग: प्लास्टिकको भाँडाको प्रयोग बढ्दो

 चैत २३, २०७५ शनिबार १६:१२:१५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेपाली समाजमा पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायतका शुभकार्यमा सालको पातको दुना र टपरीको प्रयोग गर्ने प्रचलन छ । तर पछिल्लो समय दुना, टपरीको प्रयोग शहरबजारमा मात्र नभइ गाउँघरबाटै हराउँदै गएको छ । 

प्लास्टिकको भाँडाको प्रयोग बढेसँगै सालको पातको दुना, टपरीको प्रयोग हराउँदै गएको लमजुङ अकलाकी मधुुकुमारी कुवँरले बताउनुभयो । ‘केही दशक अघि गाउँमा बिहे, पूजा–आजा हुँदा दिदीबहिनीहरु मिलेर डोको लिएर जङ्गलमा गइन्थ्यो । सालको बोटलाई पूजा गरी सालको पात टिपेर ल्याइ बाँसको सिन्काले सालको पातको दुना, टपरी गाँसिन्थ्यो,’ ६१ वर्षीय कुवँरले भन्नुभयो ।

उहाँका अनुसार बिहेमा भतेर दुना, टपरीमै बाँडिन्थ्यो । पूजाआजामा प्रसाद यसैमा बाँडिन्थ्यो । अहिले त यसको चलन हराउँदो छ । उहाँले ८ वर्षकै उमेरमा आमाबाट दुना, टपरी गाँस्न सिक्नुभएको हो । 

सालको पातको दुना, टपरी बुन्न समय लाग्ने भएकाले पनि छिटो–छरितोको लागि पछिल्लो समय प्लास्टिकका भाँडाको प्रयोग बढ्दो रहेको अकलाकै शशीकला कार्कीले बताउनुभयो । ‘पात टिप्न जंगल जानुपर्‍याे । बाँसको सिन्का बनाएर दुना, टपरी गाँस्नुपर्‍याे, समय लाग्छ । त्यसैले पनि छिटो–छरितोको लागि अहिले प्लास्टिकका भाँडाको प्रयोग बढेको हो,’ उहाँले भन्नुभयो ।   

सालको पातको दुना, टपरी बुन्नु, शुभकार्यमा यसको प्रयोग गर्नु नेपाली मौलिक सँस्कृति रहेको सुन्दरबजार नगरपालिका–८, डुँड्कुलाकी मञ्जु ढकाल बताउनुहुन्छ । ‘यसको आफ्नै धार्मिक एवम् साँस्कृतिक महत्व छ । दुना, टपरीको प्रयोग स्वास्थ्यको लागि पनि राम्रो छ ।

समूहमा मिलेर पात टिप्दा, दुना टपरी गाँस्दा दिदीबहिनीमा मित्रता बढ्छ । प्लास्टिकको भाँडा किन्ने पैसा समेत जोगिन्छ,’ दुना, टपरीको प्रयोगको फाइदाबारे उहाँले भन्नुभयो, ‘प्रयोगपछि यसलाई व्यवस्थापन गर्न पनि सजिलो छ । प्रयोगपछि मलखादमा राखेर मल बनाउन सकिन्छ । यसले वातावरणलाई पनि हानी पुर्‍याउँदैन ।’ 

दुना, टपरी बुन्न र यसको प्रयोग बढाउन नयाँ पुस्ता जुट्नुपर्ने पुरानो पुस्ता बताउँछन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया