'मातृभूमि कप' वर्षाका कारण स्थगित: अब अर्काे हप्ता खेलिने

 चैत २३, २०७५ शनिबार १६:५९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चितवनको भरतपुरमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगका लागि आज (शनिबार) हुने भनिएको च्यारिटी क्रिकेट प्रतियोगिता मातृभूमि कप स्थगित भएको छ ।

रातिदेखि भएको वर्षाका कारण खेल स्थगित भएको हो । रोकिएको प्रतियोगिता अर्काे हप्ता आयोजना गरिने फाउन्डेशनले जनाएको छ । 

प्रतियोगितामा कलाकारहरुको दुई टोली र राष्ट्रिय क्रिकेटरको दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । धर्मुस सुन्तली फाउन्डेसनले बनाउने लागेको क्रिकेट मैदानको सहयोगका लागि त्रिवि क्रिकेट मैदानमा हुन लागेको प्रतियोगिता बिहान १० बजेबाट सुरू हुने भनिएको थियो ।

खेलका लागि कलाकारहरू पछिल्लो केही दिनदेखि अभ्यास गरिरहेका थिए । क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरिएको  छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् ।

कलाकारको टिम ‘ए’ मा मदनकृष्णसहित सन्दीप क्षेत्री, सुनील थापा, कमल मैनाली, बद्री पंगेनी, श्याम पुरी, कुमार कट्टेल, कर्म शाक्य, हेमराज बिसी, घनश्याम गौतम, निराजन प्रधान, सन्तोष लामा, अनमोल गुरुङ, राजु ढकाल, दिपक ढकाल र दिलिप ओखेडा रहेका छन् ।

यस्तै, समूह बी मा हरिवंशसहित सलिनमान बनियाँ, हेमन्त शर्मा, अनुराग कुँवर, शंकर केसी, कृष्ण काफ्ले, नीर शाह, सरोज खनाल, निश्चल बस्नेत, दयाहाङ राई, वीरेन्द्र हमाल, हेमन्त राना, पल शाह, अर्जुन घिमिरे, राजा राजेन्द्र पोखरेल र माओत्से गुरुङ रहेका छन् ।

क्रिकेटरमा नेपाल ‘ए’ मा पारससहित शरद भेषावकर, अनिलकुमार शाह, ललितनारायण राजवंशी, सोमपाल कामी, आरिफ शेख, अविनाश बोहरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनील धमला, कमलसिंह ऐरी र भुवन कार्की छन् ।

नेपाल ‘बी’ मा कप्तान ज्ञानेन्द्रसहित विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, सुसन भारी, दिलीप नाथ, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सर्राफ, विक्रम सोब र प्रदीप ऐरी रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया