कञ्चनपुर क्षेत्रमा गिद्धको संख्या बढ्दो

 चैत २३, २०७५ शनिबार १९:४९:३६ | रासस
unn.prixa.net

फाइल तस्बिर

कञ्चनपुर - प्रकृतिको कुचिकारका रुपमा चिनिने अति संकटापन्न रुपमा रहेका गिद्धको संख्या बढ्दो अवस्थामा रहेको छ ।

स्थानीय बासिन्दामा गिद्ध जोगाउनु पर्ने जनचेतना बढेसंँगै गिद्धको संख्यामा वृद्धि हुन थालेको हो । बासस्थानको सुरक्षा हुन थालेपछि गिद्धले सहज रुपमा बस्ती नजिकैका क्षेत्रमा गुँड लगाएर बच्चा हुर्काउन थालेका छन् । 

नेपाल पंछी संरक्षण संघका हिरुलाल चौधरीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर पोष्ट नजिकको क्षेत्रमा १२, हिरापुर फाँटामा ६ र निकुञ्जकै मध्यवर्ती क्षेत्र बन्साहामा ८ गुँड गिद्धले लगाएको पाइएको छ । गिद्ध सर्वेक्षणका क्रममा गिद्धका गुँडहरु पाइएका हुन् । गिद्धले लालझाडी मोहना संरक्षण क्षेत्रको पर्सियामा सबैभन्दा बढी २१ वटा गुँड लगाएका छन् । 

उक्त संरक्षण क्षेत्रमा डंगर जातका गिद्धका दुई बच्चा बिरामी अवस्थामा फेला परेकाले उपचार भैरहेको उहाँले बताउनुभयो । जाडोयाममा गिद्ध बिरामी हुने क्रम देखिन्छ, बिस्तारै निको हुने गरेका छन्, उहाँले भन्नुभयो । हुर्किने क्रममा बच्चा उडन नसक्दा घाइते भइ बिरामीसमेत हुने गरेका छन् ।  

निकुञ्जको हिरापुर फाँटामा सानो खैरो गिद्ध मरेको अवस्थामा फेला परेको र निकुञ्जकै कालीकिच क्षेत्रमा बिरामी परेको गिद्ध निको भएर उडेको तथा मरेको गिद्धबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

संरक्षण संघले गरेको सर्वेक्षणमा कञ्चनपुरमा गएकाे वर्ष ११९ गिद्ध फेला परेका थिए । यस वर्ष गिद्धको संख्यामा बढोत्तरी भएर  १५० देखि २०० को हाराहारीमा पुगेको हुन सक्ने चौधरीको भनाइ छ ।

विश्वमा गिद्धका २३ प्रजाति पाइने गरे पनि नेपालमा गिद्धका नौ प्रजाति मात्रै पाइने गरेका छन् । कञ्चनपुरमा डंगर, सानो खैरो, सुन गिद्ध, राज गिद्ध र हिमाली गिद्धलगायत सात प्रजातिका गिद्द पाइने गरेका छन् ।  
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया