उर्जामन्त्री पुनले गरे वाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अवलोकन

 चैत २३, २०७५ शनिबार १९:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शनिबार वाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अवलोकन गर्नु भएको छ । 

मन्त्री पुनले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. संजय शर्मा, पूर्व सभामुख ओनसरी घर्तीसहित सो परियोजनाको स्थलगत अवलोकन गर्नु भएको हो ।

सुन्दरीजलमाथि रहेको चिसापानी क्षेत्रमा वाग्मती नदीको प्रवाहलाई निरन्तरता दिन निर्माण गरिएको सो परियोजना सन् २०२० को फेब्रुअरी महिनाभित्र सम्पन्न गरिसक्ने निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी गोन्जाओ–लामा–रमण जेबीको योजना छ ।

मन्त्री पुनले सिंगाे काठमाण्डौवासीको जीवन र वाग्मती सभ्यतासँग जोडिएको यो महत्वपूर्ण आयोजना भएकाले यसको निर्माण कार्य समयमै सम्पन्न गर्न मातहतका निकायलाई सचेत गराउनु भयो । उहाँले सो आयोजना सरकारको प्राथमिकताको आयोजना भएकाले यसका लागि आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

मन्त्री पुनले आयोजनाको काम समयमै सम्पन्न गर्न निर्माण कम्पनी गोन्जाओ–लामा–रमण जेबीलाई निर्देशन दिनुभयो । उहाँले निर्माण व्यवसायीहरुले काममा ढिलाइ गरिदिँदा सरकार र राजनीतिक व्यवस्थामै प्रश्न उठने गरेको उल्लेख गर्दै अबदेखि निर्माणका काममा ढिलाइ नगर्न पनि सचेत गराउनु भयो ।

हिउँद महिनामा पनि वाग्मतीमा नदीको प्रवाह गराई राख्न परियोजना निर्माण कार्य सुरु गरिएको हो । नदी प्रवाहका लागि एउटा मुख्य जलाशय र २ वटा सहायक जलाशय निर्माण कार्य भइरहेको परियोजनाका प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो । ८ लाख ५० हजार घनमिटरको मुख्य जलाशय निर्माण हुने पनि परियोजनाले जनाएको छ ।

परियोजनाका प्रमुख सुवेदीले सो परियोजनाको कामलाई अघि बढाउन आवश्यक जनशक्तिको पनि व्यवस्था गरिदिन मन्त्री पुनको ध्यानाकर्षण गराउनुभयो ।निर्माण कम्पनी रमण कन्सट्रक्सनका प्रमुख रमण महतोले जलाशाय निर्माणको काम ४५ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो ।

सन् २०२० को फेब्रुअरीसम्म परियोजनाको जलाशय निर्माणको काम सम्पन्न गरिसक्ने लक्ष्य छ । एशीयाली विकास बैंकको सहयोगमा सन् २०१५ मा यो परियोजना निर्माण कार्य सुरु गरिएको हो ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया