आईपीएल डेब्यूमै जोसेफले तोडे १२ वर्ष पुरानो रेकर्ड, लिए ६ विकेट

 चैत २३, २०७५ आइतबार ०:२६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग(आईपीएल) । त्यसमा पनि सनराइजर्स हैदराबादविरुद्धको खेलमा डेब्यू । लसिथ मलिंगाको ठाउँमा बलिङ गर्न आउनु ।

वेस्ट इन्डिजका बलर अलजारी जोसेफका लागि चुनौतीपूर्ण थियो । टी–२० क्रिकेटमा खासै राम्रो बलिङ फिगरको इतिहास नभएका अलजारीले शनिबारको खेलमा कमाल गरे ।

डेब्यू खेलमा आईपीएलको इतिहासमा कम रन खर्चेर धेरै विकेट लिने खेलाडीको रेकर्ड बनाए अलजारी जोसेफले । उनले ३.४ ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै १२ रन खर्चेर ६ विकेट लिए । उनको बलिङ इकोनोमी रेट ३.२७ रह्यो भने । २२ बल बलिङ गरेका उनले १६ बल त डट नै फाले ।

 

जोसेफले सनराइजर्स हैदराबादका डेभिड वार्नर, विजय शंकर, दीपक हुडा, रशिद खान, भुवनेश्वर कुमार र सिद्धार्थ कौललाई आउट गरे । 

अलजारी जोसेफले सन् २००८ मा भएको आईपीएलको पहिलो संस्करणमा सोहेल तनबिरले राजस्थान रोयल्सका लागि बनाएको रेकर्ड तोडेका छन् । पहिलो संस्करणको आईपीएलमा चेन्नई सुपर किंग्सविरुद्ध तनबिरले ४ ओभर बलिङ गर्दै  १४ रन खर्चिएर ६ विकेट लिएका थिए । 

अलजारी जोसेफको शानदार बलिङसँगै मुम्बई इन्डियन्सले १३६ रनको कम योगफल तयार गरे पनि सनराइजर्स हैदराबादलाई ४० रनले हराउन सफल भयो ।  
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया