यसरी बग्छ वाग्मतीमा प्रतिसेकेण्ड ४० लिटर पानी

 चैत २४, २०७५ आइतबार ७:४९:४१ | रासस
unn.prixa.net

रमेश लम्साल/रासस ।

काठमाण्डौ – हरेक साता वाग्मती नदीको सफाइ अभियान चल्छ । सफाइका लागि विभिन्न सङ्घसंस्था तथा स्वयंसेवीसमेत परिचालित हुन्छन् । फोहर सङ्कलन भएको टनटनको हिसाब पनि सार्वजनिक हुने गरेको छ । तर वाग्मती सधैँ उस्तै फोहोर नै छ । नदीका रुपमा भन्दा पनि ढलका रुपमा वाग्मती नदीले आफ्नो परिचय दिँदै आएको छ । 

अव्यवस्थित शहरीकरणका कारण ढलको पानी सिधै नदीमा मिसाउने प्रचलनका कारण नदीले नदीको परिचय दिन सकेको छैन । नदीमा पानीको मात्राभन्दा फोहरको मात्रा बढी रहेको छ । जसका कारण हरेक साता आयोजना हुने सफाइ अभियानले तात्विक फरक पार्न सकेको छैन । स्वच्छ पानी अभाव र मानवीय ज्यादतिका कारण नदीले फोहोरबाट मुक्ति  पाउन सकेको छैन । 

नदी मानव सभ्यतासँग जोडिएको छ । संसारका धेरैजसो शहर र सभ्यता नदीसँग सम्बन्धित हुन्छन् । काठमाण्डौ उपत्यकको मानव सभ्यतासँग जोडिएको वाग्मती मानव अतिक्रमणको चपेटामा परेका कारण फोहर मात्रै भएको छैन, सभ्यता नै हराउने चिन्ता पनि बढ्दै गएको छ । हरेक साता आयोजना गरिने सफाइ अभियानले सफलता पाउन नसक्नुका कारण पनि नदीमा वैकल्पिक पानीको स्रोत नहुनु पनि हो । 

ढल प्रशोधनका लागि सरकारले कार्यक्रम अगाडि नबढाएको पनि होइन तर अहिलेसम्म वाग्मती नदीको अवस्था फेरिन सकेको छैन । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका नेता कार्यकर्तादेखि कलाकार, स्वयंसेवीसमेत नदी सफाइमा जुटेका छन् । तर नदी किनारमा अव्यवस्थितरुपमा निर्माण भएका बस्तीका कारण सफाइ अभियान चल्दै गर्दा पनि नदीले आफ्नो स्वरुप पाउन सकेको छैन । फोहोर थुप्रने क्रम जारी छ । उपत्यकावासीको फोहोरी संस्कृतिमा कुनै परिवर्तन देखिएको छैन । 

प्राणीको जीवन मात्र होइन, उनीहरुका धर्म, संस्कृति र  परम्परा पानीसँगै जोडिएको छ । छठ, शिवरात्रिजस्ता पर्वमा समेत फोहर पानीमा नै धार्मिक कार्यक्रम गर्नुपर्ने बाध्यता छ । वर्षौदेखि हिन्दू धर्मका आराध्य देव पशुपतिनाथ आफ्नै काखबाट बग्ने नदीको दूरावस्था हेरेर बस्नुपरेको छ । 

यस्तो विषम अवस्थाको अन्त्यका लागि सरकारले वाग्मती नदी जलाधार संरक्षण आयोजना अगाडि बढाएको छ । काठमाण्डौको गोकर्णेश्वेर नगरपालिका वडा नं १ को धापमा वाग्मती नदीमा नियमितरुपमा स्वच्छ पानी बगाउने लक्ष्यका साथ काम भइरहेको छ । कूल ५१ करोड रुपैयाँ लागतमा सो आयोजना निर्माणको चरणमा रहेको छ । बाग्मतीमा स्वच्छ पानी बगाउने अभिप्रायले काठमाण्डौ उपत्यकाको उत्तरपूर्वमा पर्ने धाप भन्ने स्थानमा १४ हेक्टर क्षेत्रफलमा फैलिएको पोखरी निर्माण भइरहेको छ । यो पोखरीमा वर्षायामको पानी जम्मा पार्ने र हिउँदको समयमा प्रतिसेकेण्ड ४० लिटर पानी वाग्मती नदीमा बगाउने सरकारको योजना छ । 

सुन्दरीजलबाट सडकमार्ग हुँदै २१ किलोमिटर दूरी तय गरेपछि समुन्द्री सतहबाट दुई हजार ९५ मिटरको उचाइमा रहेको धापमा पुग्न सकिन्छ । जेठ, असार, साउन र भदौमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने यो क्षेत्रमा तीन हजार मिलिमिटर वर्षा हुने गरेको छ । वर्षाको पानी सङ्कलन गर्ने र त्यसलाई हिउँदको समयमा नियमित पानी बगाएर वाग्मती नदीको मुहार फेर्ने योजनामा सरकारको छ । यो पोखरीमा १२ लाख ८५ हजार घन मिटर पानी जम्मा हुनेछ । कूल २४ मिटर उचाइको बाँध निर्माण हुनेछ । पोखरीमा एउटा ठूलो पोखरी र अन्य मझौला खालका दुई वटा पोखरी निर्माण भइरहेको छ । यो परियोजनाको काम गोन्जाऊ–लामा–रमन जेभीले गरिरहेको छ । 

वाग्मतीमा स्वच्छ पानी बगाउने लक्ष्यका साथ भइरहेको कामको प्रगति बुझ्न शनिबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सिँचाइ सचिव डा. सञ्जय शर्मा, सिँचाइ विभागका उच्च अधिकारी र आयोजना प्रमुखले आयोजनास्थलको स्थलगत निरीक्षण गर्नुभयो । 

निर्माण व्यवसायीले डिजाइन पनि आफैँ गरेको छ भने निर्माणको काम पनि सँगसँगै गरिरहेको छ । आयोजनाको अहिलेसम्म करिब ६० प्रतिशत निर्माण सकिएको छ । निर्माण व्यवसायीले वाग्मती नदीको महत्वलाई आत्मसात् गरेर कामलाई तीव्रता दिएको छ । तर सुरुको डिजाइनमा केही परिवर्तन भएका कारण निर्माण सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको छ । निर्माण व्यवसायी रमन कन्स्ट्रक्सनका रमन महतोले सन् २०२० को फेब्रुअरीसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । 

भूकम्पले ध्वस्त पारेको धरहरासमेत पुनःनिर्माण गरिरहेको रमन कन्स्ट्रक्सनले मानव सभ्यतासँग जोडिएको वाग्मती नदीको जलाधार क्षेत्रमा काम गर्न पाउनु आफूहरुका लागिसमेत खुसीको विषय भएको बताएको छ । आयोजना प्रमुख नवराज सुवेदीले आयोजनाको काम युद्धस्तरमा बढिरहेको जानकारी दिनुभयो । नेपालमा नै पहिलोपटक कङ्क्रिट रक फिल ड्याम निर्माण भइरहेको र यो हालसम्मकै नयाँ प्रविधि भएको बताउनुभयो । 

स्थलगत निरीक्षणपछि मन्त्री पुनले भन्नुभयो, “तोकिएको समयमा आयोजना पूरा गर्नुस् र वाग्मतीमा स्वच्छ पानी बग्ने वातावरण बनाउनुस् ।” मन्त्री पुन मन्त्रालयअन्तर्गतका जलविद्युत् परियोजना र सिँचाइका आयोजनाको निरीक्षणका लागि बिदाको दिनसमेत अनुगमनमा निस्कँदै आउनुभएको छ । 

उहाँले आयोजनाको अवस्था र मन्त्रालयकोतर्फबाट गर्नुपर्ने सहयोगका बारेमा आयोजनाका अधिकारीसँग छलफल गर्नुभयो । मन्त्री पुनले आयोजनास्थलमा आयोजित छलफलमा भन्नुभयो, “वाग्मती मानव सभ्यतासँग जोडिएकाले यो आयोजना समयमा सम्पन्न गर्नुपर्ने हुन्छ । यो नयाँ आयोजना पनि हो, हामीले राष्ट्रिय गौरव र विशेष महत्वको आयोजनालाई प्राथमिकतामा राखेका छौँ ।” मन्त्री पुनले जिम्मेवारी पूर्ण तरिकाले काम गर्न निर्देशनसमेत दिनुभयो । आयोजनामा सबैको चासो रहेको भन्दै मन्त्री पुनले छिटोभन्दा छिटो काम सम्पन्न गर्नसमेत निर्देशन दिनुभयो । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया