आईपीएलमा आज सन्दीपको टोली दिल्ली र बेंग्लाेर, राजस्थान र कोलकता खेल्दै

 चैत २४, २०७५ आइतबार ९:९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईपीएल क्रिकेट अन्तर्गत आइतबार २ वटा खेल हुँदै छन् । नेपाली समय अनुसार अपरान्ह सवा ४ बजेदेखि नेपाली युवा खेलाडी सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोर खेल्नेछन् । यसैगरी राति सवा ८ बजेदेखि राजस्थान रोयल्स र कोलकता नाइटराईडर्स खेल्ने छन् ।

दिल्लीविरुद्धको खेलमा मैदान उत्रदा भारतीय टिमका कप्तान समेत रहेका विराट कोहलीको नेतृत्वमा रहेको बेंग्लोर गर या मरको अवस्थामा हुनेछ । पाँच खेलमा अहिलेसम्म कुनै पनि खेल जित्न नसकेको बेंग्लोर आज पनि पराजित भए प्ले अफमा पुग्ने सम्भावना करिब करिब समाप्त जस्तै हुनेछ ।

हुन त लिग चरणका अझै ९ वटा खेल बाँकी रहेका छन् । अन्तिम चारमा स्थान बनाउनका लागि कम्तीमा ८ खेल जित्नु पर्छ । त्यसैले पनि आइतबारको खेलमा दिल्लीसँग बेंग्लोर पराजित भए अन्तिम चारको सम्भावना गणितीय हिसाबले मात्रै बाँकी हुनेछ ।

दिल्लीले पनि जारी सिजनमा उत्कृष्ट प्रदर्शन भने गर्न सकेको छैन । अहिलेसम्म पाँच मध्ये २ खेलमा मात्रै दिल्लीले जित हात पारेको छ ।

बेंग्लोरले शुक्रबार कोलकता नाइट राइडर्सविरुद्ध २०५ रन बनाए पनि लक्ष्य रक्षा गर्न असफल भएको थियो । कमजोर बलिङका कारण बेंग्लोर पराजित भएको थियो । बेंगलोरका बलरले अन्तिम चार ओभरमा ६६ रन खर्चिँदा ठूलो रनको लक्ष्य पनि रक्षा गर्न असफल भएको थियो । दिल्लीको अवस्था पनि उस्तै छ ।

पहिलो खेलमा मुम्बईलाई पराजित गरेको थियो भने तीन खेलमा हार ब्यहोरेको छ । दिल्लीमा ऋषभ पन्त, शिखर धवन, पृथ्वी सा, श्रेयर अय्यर, कोलिन इनग्राम छन् । बलरमा कासिगो रबाडा, ट्रेन्ट बोल्ट र इशान्त शर्माका साथै नेपाली युवा बलर सन्दीप लामिछाने पनि रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया