उद्घाटनमा पुरुष, महोत्सवमा महिला

 चैत २४, २०७५ आइतबार ११:४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नाम महिला महोत्सव भए पनि उद्घाटन समारोहमा प्रायः सबै अतिथि पुरुष भएको भन्दै ‘कीर्तिपुर महिला महोत्सव’को निकै आलोचना भयो । सामाजिक सञ्जालमा उद्घाटन समारोहको तस्बिर राखेर आलोचना गर्नेहरु धेरै छन् । 

बिहीबार भएको उद्घाटन समारोहमा कीर्तिपुर महानगरपालिकाकी उपप्रमुखबाहेक अरु सबै अतिथि पुरुष थिए । नाम चाहिँ कीर्तिपुर महिला महोत्सव, तर उद्घाटनमा चाहिँ किन पुरुष मात्रै भनेर प्रश्न गर्नेहरु धेरै भए पनि आयोजकले जवाफ दिएका छैनन् ।

तर महोत्सवमा राखिएका सबै स्टलमा भने महिलाको मात्रै सहभागिता देखियो । महिलाले उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनीमा राखिएको थियो । नेवारी संस्कृति र परम्पराको प्रदर्शन गरी कीर्तिपुर महिला महोत्सव शनिबार सकिएको छ  । 

कीर्तिपुर नगरपालिकाको आयोजनामा भएको महोत्सवमा १ नम्बरदेखि  १० नम्बर वडाका विभिन्न व्यक्ति तथा समूहले उत्पादन गरेका सामग्री, नेवारी खाजाको परिकार, हाकुपटासी बुन्ने तरिका, चिउरा उत्पादन गर्ने पुरानो प्रविधि, कृषिजन्य सामग्रीका विभिन्न स्टल राखिएको थियो । 

यस्तै नेवार समुदायका महिलाहरुको भेषभुषा, परम्परा, मौलिक जीवनशैली बुझाउने संस्कृति र संस्कारको जीवन्त प्रदर्शनी पनि गरिएको थियो । महोत्सव अवधिभर लाखे नाच, धिमे बाजा, विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शनीले आकर्षण थपेको थियो । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया