भेरी–बबई सुरुङको ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले औपचारिक घोषणा गर्ने

 चैत २४, २०७५ आइतबार १२:२५:५५ | मुना हमाल
unn.prixa.net

सुर्खेत – राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण काम सकिएको छ । सुरुङ निर्माण सम्पन्न हुने मितिभन्दा एक वर्ष अगाडि नै सुरुङ खनेर सकिएको हो । सुरुङको औपचारिक ‘ब्रेक थ्रु’ गर्न भने बाँकी छ । 

२०७४ कात्तिक २१ गतेदेखि सुरुङ निर्माणको काम सुरु गरिएको थियो । चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप अफ कम्पनिले २०७६ चैत १५ गते भित्र सुरुङ निर्माणको काम सकिसक्ने जिम्मा लिएको थियो । कम्पनिले चीनबाट ल्याइएको टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ निर्माणको काम गरेको थियो । 

सुर्खेतको भेरीगंगा नगरपालिका हात्तीखालदेखि चिप्लेसम्म  १२ दशमलव २ किलोमिटर मध्ये अब २ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको छ । सुरुङ निर्माणको काम सुरु गरेको  टीबीएम मेसिन वैशाख ३ गते नै चिप्लेमा निकालिने छ ।   

सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ भएको औपचारिक घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्ने आयोजनाले तयारी गरेको छ । वैशाखको पहिलो सातामा प्रधानमन्त्रीको उपस्थितिमा सुरुङ निर्माण कार्य सम्पन्न भएको औपचारिक घोषणा गरिने आयोजना प्रमुख सञ्जिव बरालले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख ३ गते प्रधानमन्त्री ओली सुर्खेत आउने कार्यक्रम रहेको छ । 

‘समय अगावै काम सम्पन्न भएको आयोजना भएकाले उत्साह थपिएको छ ।  हामीले प्रधानमन्त्रीसँग समय मागेका छौँ । उहाँले वैशाख ३ गतेलाई समय दिनुभएको छ’ आयोजना प्रमुख बरालले भन्नुभयो, ‘अहिले हामी यसैको तयारीमा जुटेका छौँ ।’

सुरुङ निर्माण कार्य सम्पन्न भए पनि भेरीको पानी बबईमा खसाल्न समय लाग्ने छ । आगामी आर्थिक वर्षको सुख्खायामबाट बबईमा पानी खसालिने आयोजना प्रमुख बरालले जानकारी दिनुभयो  । भेरीको पानी बबईमा प्रतिसकेण्ड ४० घनमिटर खसालिने आयोजनाले जनाएको छ ।

सुरुङ निर्माणको काम सम्पन्न भएसँगै भेरीगंगा नगरपालिकाको चिप्लेमा बाँध बनाएर भेरीको पानी बबईमा झारेर बबईमा विद्युत गृह निर्माण गर्ने र बर्दिया र बाँकेको जमिनमा सिंचाइँ उपलब्ध गराइने छ ।  आयोजना सम्पन्न भएपछि बर्दिया ४५ हजार र बाँकेको ६ हजार गरी  ५१ हजार हेक्टर जमिनलाई सिंचाइँ उपलब्ध गराउने आयोजनाको लक्ष्य रहेको छ ।

साथै भेरीगंगाको हात्तीखालमा पावर हाउस निर्माण गरेर ४६ दशमलव ८  मेगावट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । अब आयोजनाले विद्युतगृह तथा अन्य संरचनाका लागि प्रक्रिया सुरु गरेको प्रमुख बरालले जानकारी दिनुभयो । यसका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

झण्डै साढे १० अर्बमा सुरुङ निर्माणको काम सम्पन्न भएको यस आयोजनाको जम्मा लागत ३३ अर्ब १८ करोड रहेको छ । आयोजनाले  आर्थिक वर्ष २०७९/८० मा सम्पूर्ण काम गरिसक्ने लक्ष्य लिइएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया