अधिकारीचौरबाट आमाको कोसेली : भुटेकाे भटमास र रक्सी

 चैत २४, २०७५ आइतबार १५:२६:५४ | सन्जिता देवकोटा

वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहल । जुन कामका लागि आमालाई लिएर गएका थियौं, त्यो काम बनेन । 

भोलिपल्ट बिहान फेरि बोर्डको सचिवालयमा भेट्ने बाचासहित भनें ‘आमा, अहिले म जान्छु ।’

‘कहाँ जाने ?’ एकोहोरो मतिर हेरेर उहाँले सोध्नुभयो । 

‘अफिस जाने काम गर्न, अहिले त काम छ नि ।’ मैले सहज उत्तर दिएँ ।

‘हामीसँगै सुत्ने हैन आज ?’ उहाँले मुस्कुराउँदै भन्नुभयो ।

 होइन भन्न पनि सकिनँ । हो भनेर कसरी ढाँट्नु ? 

केही बोलिनँ । उहाँलाई हेरेर फिस्स हाँसे । शायद उहाँले मेरो भाषा बुझ्नुभयो होला । उहाँ पनि मुस्कुराउनुभयो ।

बोर्ड सचिवालयको ढोकामा थ्याच्च बसेर उहाँले झोला खोल्नुभयो । लुगलुग काँपेका उहाँका हातले झोलाको चेन सजिलै खोल्न सकेन । मैले सघाएँ । 

झोलाबाट रातो प्लास्टिकको पोको बिस्तारै निकालेर भन्नुभयो, ‘भट्ट ल्याइदिएको छु तँलाई ।’ 

प्लास्टिकमा पोको पारेको भट्ट (भटमास) मेरो हातमा राखिदिनुभयो । र फेरि झोलाबाट एउटा बोतल निकाल्नुभयो । त्यो पनि मेरो हातमा राखिदिनुभयो । बोतलमा उहाँले मलाई रक्सी ल्याइदिनुभएको रहेछ । 

मायाको पोको भटमास र रक्सी समातें । त्योबेला उहाँलाई कोसेली ल्याइदिएकोमा धन्यवाद भन्ने शब्न नै भेटिनँ । 

‘आमा रक्सी चाहिँ तपाईँ खानुस्, मलाई भटमास भए त भइहाल्छ नि’ भनें । तर उहाँले मान्नुभएन । भन्नुभयो, ‘तँ पनि खा, तेरो साथीलाई पनि दे न ।’ 

उहाँले किन मलाई रक्सी र भटमास ल्याइदिनुभयो मलाई थाहा छैन । मलाई लाग्छ, उहाँले मलाई आफ्नै ठानेर ल्याइदिनुभयो । मायाले ल्याइदिनुभयो । 

त्यो कोसेली मात्र थिएन । एक आमाको माया थियो । यस्तो कोसेली त मलाई यसअघि कसैले ल्याइदिएकै छैन । उहाँको यो मायाको पोको हातमा लिंदा मलाई यसअघि कहिल्यै अनुभव नभएको मायाको अनुभूति भयो । जुन बयान गर्ने शब्द नै छैन मसँग । 

उहाँ अर्थात सुर्विता भण्डारी । 

उमेर : ७२ वर्ष ।

घर : बाग्लुङको अधिकारीचौर । 

बाग्लुङबाट सुर्विता अनगिन्ती आशा लिएर अघिल्लो हप्ता काठमाण्डौ आइपुग्नुभएको हो । अझ भनौं मनमा वर्षौंदेखि बोकेको पीडाको भारी बिसाउने टेको खोज्दै आउनुभएको हो । 

कमाउन साउदी गएका एक मात्र छोरा उतै बितेपछि बुढेसकालमा एक्लो हुनुभएको छ । छोरा गुमाउनुको मात्र पीडा छैन, परदेशमा बितेको छोराको अरुले नै दाहसंस्कार गरिदिंदाको पीडा झन चर्को छ । 

आमासँगको पहिलो भेट

म पेशाले पत्रकार । उज्यालोमा अरुको बारेमा लेख्ने र बोल्ने काम सराबरी पर्छ । कहिलेकाहीँ यही पेशाले अनेकौं संयोग जुराइदिंदो रहेछ । सुर्वितासँगको पहिलो भेट पनि मलाई यही पेशाले गराएको हो ।

अघिल्लो वर्ष २०७४ को असोजमा म वैदेशिक रोजगारीका कारण समस्या र पीडामा परेका मानिसका स्टोरी खोजीरहेकी थिएँ । असाध्यै पीडामा परेकालाई भेटेर स्टोरी गर्ने मन थियो ।

मैले खोजेको जस्तै असाध्यै पीडामा परेका दुई परिवार फेला परे । सुर्विताको पीडामा जोडिएको अर्को परिवार थियो मोरङ बेलबारी नगरपालिका लक्ष्मीमार्गका सुवास तामाङको परिवार । 

उनीहरुले भोगेको पीडा फिल्ममा बाहेक अन्त नसुनिएको र नदेखिएको खालको थियो । सुर्विताका छोरा तेजेन्द्रसँगै साउदीमा दुर्घटनामा परेका थिए, मोरङको लक्ष्मीमार्गका सुवास ।

सुवास साउदीको हुण्डाई कम्पनीका काम गर्थे भने तेजेन्द्र ट्याक्सी चलाउँथें । महिनाभरीको कमाई घर पठाउन बैंक जाँदा यी दुईको भेट भयो । घरमा पैसा पठाउन बैंक गएर फर्किंदा तेजेन्द्रले चलाएको ट्याक्सीमा सुवास सहित हुण्डाई कम्पनीमा काम गर्ने अरु तीनजना नेपाली पनि परे । ट्याक्सी दुर्घटना भएकाले उनीहरु कोही पनि कोठामा पुग्न पाएनन् ।

तेजेन्द्रले चलाएको ट्याक्सी २०७२ असार २४ गते बाटैमा दुर्घटनामा पर्‍यो । त्यही दुर्घटनामा परे मोरङका सुवास पनि  । 

साउदीको जेद्धामा रहेको किङ अजिज अब्दुल अस्पतालले दुर्घटनाको भोलिपल्ट हुण्डाई कम्पनीका काम गर्ने चारजना नेपालीको मृत्यु भएको घोषणा गरिदियो । अस्पतालले चालक तेजेन्द्रकोे भने उपचार भइरहेको खबर दियो । 

त्यो दुर्घटनाको २७ दिनपछि हुण्डाईमा काम गर्ने सुवासको शव काठमाण्डौं आइपुग्यो । परम्परा अनुसार सुवासकी श्रीमतीले श्रीमान सुवासको घेवा गर्नुभयो । 

सुवासको परिवार शोकमा डुबेको बेला बाग्लुङमा तेजेन्द्रकी आमा उपचार गराइरहेको छोराको होस खुलोस् भनेर भगवान पुकार्दै हुनुहुन्थ्यो । तर, उल्टो पाल्टो र हुने हुनामी पहिले नै भैसकेको थियो । 

साउदीमा उपचार गराइरहेका घाइतेको अनुहारको पट्टी तीन महिनापछि खोलियो । तर, पट्टीभित्रको अनुहार तेजेन्द्रको नभएर बाकसमा लास ल्याएर काजकिरिया गरिसकेका सुवासको थियो । 

किरिया गरिएको मानिस जीवित भेटियो, उपचारपछि छोरा सञ्चो भएको खबर सुन्न भगवानसित प्रार्थना गरेर बसेकी तेजेन्द्रकी आमा सुविर्ताले छोरालाई अरु कसैले दागबत्ती दिएको खबर सुन्नु पर्‍यो ।

फिल्मको कहानीजस्तो लाग्ने यी दुई परिवारको कुरा सुन्न गएको वर्ष म उनीहरुकै घरमा पुगें । बाग्लुङको अधिकारीचौरमा रहेको आमाको घरमा पुग्दा उहाँ दलानमा बसेर टोलाइरहनुभएको थियो । 

पहिलोपटक भेट्दा म को हुँ उहाँलाई वास्ता थिएन । उहाँको पीडा सुनेर मैले अनलाइनमा लेख्छु, रेडियोमा फुक्छु भन्ने पनि उहाँलाई थाहा थिएन । 

मैले उहाँको पीडाको गाँठो फुकाउनुअघि आफ्नो बारेमा बुझाउने कोशिस गरें । उहाँले कति बुझ्नुभयो, थाहा छैन । तर आफ्नो पीडा सुनाउन पाउँदा उहाँको मन हलुका भएको अनुभव गर्दै म काठमाण्डौ फर्किएँ । 

एक्लो छोरा गुमाउनु । अनि शव पनि देख्न नपाउनु । कसैले तिम्रो छोराको दाहसंस्कार अरुले नै गसिक्यो भनेकै भरमा छोराको मृत्युलाई स्वीकार्नु र आफूले जन्माए, हुर्काएको छोरो अब यस धर्तीमा छैन भनेर चित्त बुझाउनु पर्ने बाध्यताले थिचिएको थियो आमाको मन । 

उहाँसँग अनगिन्ती प्रश्न थिए होलान् । कुनै प्रमाणैबिना आफ्नो सन्तानको मृत्युको खबरलाई कसरी स्वीकार गर्न सक्नुभयो होला ? आफूले आफूलाई कसरी सम्हाल्नुभयो होला ? उहाँको पीडा कल्पना गर्दा मात्रै पनि गाह्रो हुन्छ । 

र पनि पीडालाई थामेर बसेकी एक आमालाई कसैले पहिलो पटक सोधेको थियो, उहाँको पीडाको बारेमा । पहिलोपटक आफ्नो पीडा सुन्न आएको मान्छेलाई उहाँले भक्कानिंदै मनभित्रका सबै गाँठो फुकाउनुभयो ।

पछ्यौराले टाउको ढाकेको । गुलाफी रंगको चौबन्दी । शरीर मोटै भए पनि गलेको थियो ज्यान । आँखाभरी टिलपिल टिलपिल गरिरहेका थिए आँसु । उहाँको दलानमा उहाँकै छेउमा बसेर मैले उहाँका आँखामा छचल्किएका आँसुलाई झर्न बल दिएँ शायद । 

छोराका कुरा सुनाउन थालेदेखि न उहाँको बोली रोकियो, न आँखाबाट आँसुका धारा । म एकोहोरो सुनिरहें । कुनैबेला उहाँसँगै आँसु पुछें । 

कान कम सुन्नु हुँदो रहेछ । मैले बोलेको उहाँले कमै मात्र सुन्नुभयो । मैले पनि पीडाले थर्थर काँपेको उहाँको आवाज कतिपय अंश बुझिनँ । बोली नबुझे पनि मैले उहाँको पीडालाई आफ्नै भाषामा बुझें । 

बिहे गरेदेखि नै सुर्विताको जीवनमा सुखको झुल्को परेको रहेनछ । माइली श्रीमतीको रुपमा भित्रिएकी सुर्विताले तेजेन्द्र जन्मिएपछि कहिल्यै पनि लोग्नेबाट सुख पाउनुभएन । 

लोग्ने कपिलवस्तुमा बस्थे । लोग्नेको हेलाँ गरेपछि सुर्विता बाग्लुङको अधिकारी चौरमै बस्न थाल्नुभयो । खेतीपातीले दुई महिना पनि खान पुग्दैनथ्यो । उहाँले बनिबुतो गरेर एक छोरालाई बढाउनुभयो, पढाउनुभयो ।

ठूलो भएपछि छोरो तेजेन्द्र कमाउन परदेश लागे । सुर्विताका आशा भरोसा उनै छोरा थिए । तर त्यही छोराको पनि उतै सास निभेपछि सुर्विताको भरोसाको दियो झ्याप्पै निभ्यो । टेक्ने हाँगो र समाउने लौरो भाँच्चियो ।

मानिस जन्मेपछि एकदिन मर्छ । सुर्वितालाई पनि थाहा छ । तर मर्‍यो भनेर कसैले भनेको भरमा आफ्नो सन्तानको मृत्युलाई कसरी स्वीकार गर्नु ? त्यो पनि अरुले नै आफ्नो छोराको शव जलाइदिएको कसरी सहनु ? सुर्विताले बर्बराउँदै सबै पीडा पोख्नुभयो । 

आफ्नो संस्कार विपरीत तामाङ परिवारले आफ्नो छोराको घेवा गरिदिएको सुन्दा उहाँलाई असहनीय पीडा भएको थियो । उहाँले छोराले सपनामा सताउने गरेको कुरा पनि सुनाउनुभयो । 

‘मेरो छोराले खाली सपनामा मेरो हंश तारिदेउ आमा भन्छ, अर्कैले जलाइदियो लास, कहाँ जलायो होला,’ सुर्विताले मसित भन्नुभयो ‘मलाई मेरो छोरो जलाएको ठाउँको मट्टी (माटो) ल्याउन मन छ !’ शायद मैले यो काममा सघाउन सक्छु भन्ने उहाँलाई लाग्यो होला । पहिलोपटक आफ्नो पीडा ध्यान दिएर सुनेको भएर होला, उहाँले मलाई धेरै विश्वास गर्नुभयो । आशा गर्नुभयो । 

कुरा सुन्दासुन्दै रात पर्यो । म उहाँकै घरमा बसें । उहाँसँगै एउटै खाटमा सुतें । तर रातभरीजस्तो न उहाँ निदाउनुभयो, न म नै निदाएँ । 

घरी खाटबाट ओर्लिएर चुरोट सल्काउनुहुन्थ्यो त घरी खाटमुनि राखिएको रक्सी घुटुक्क पिउनुहुन्थ्यो । फेरि खाटमा चढेर भुक्लुक्क ढल्नुहुन्थ्यो । एकैछिनमा घुर्नुहुन्थ्यो । अनि फेरि जुरुक्क उठ्नुहुन्थ्यो । मलाई खुट्टाले लाग्ला भनेर उहाँ होशियार पनि हुनुहुन्थ्यो । 

काठमाण्डौबाट लामो यात्रा गरेर गएकाले मलाई थकाइ त लागेको थियो । तर मलाई त्यो रात थकाइले भन्दा पनि सुर्विता आमाको छटपटीले बढी पोल्यो । 

भोलिपल्ट पनि आधा दिनसम्म उहाँकै कुरा सुनें । उहाँसँग झण्डै डेढ दिनको कुराकानीलाई बिट मारे हिँड्ने बेला झण्डै चार घण्टा रेकर्ड भएको रेकर्डर बन्द गरेर झोलामा राखें । अनि निस्किएँ । उहाँको पीडाले भरिएको मेरो रेकर्डरसहितको झोला हलुकै थियो । तर मन यति गह्रौं भयो कि मलाई पाइला सार्न निकै गाह्रो भएको थियो ।

काठमाण्डौ फर्किएर छोरा गुमाउँदाको सुर्विताको पीडा त लेख्नु नै थियो । उहाँको छोराको शवलाई आफ्नै श्रीमान सुवास तामाङको शव मानेर काजकिरिया गरेकी मोरङकी सन्तोषी तामाङको पीडा र खुसीको स्टोरी पनि लेखें । उज्यालो रेडियोको कार्यक्रम देश परदेश र उज्यलो अनलाइनमा उहाँहरुको कथा सुनेर र पढेर धेरै प्रतिकृया आए । 

छोरो जलाएको ठाउँको माटो सेतो कपडामा पोको पार्दाको त्यो क्षण

मलाई उहाँको सबै कथा लेखुन्जेल र लेखिसकेपछि पनि सुर्विता आमाको एउटै इच्छाले घोचिरह्यो । उनको कथाव्यथा सुनेर मात्र के गर्नु ? उहाँको छोराको शव जलाएको ठाउँबाट माटो ल्याएर अर्कोपटक काजकिरिया गर्ने इच्छा पनि पूरा गरिदिन पाए हुन्थ्यो भन्ने लागिरहयो । 

यस विषयमा अफिसमा पनि पटकपटक कुरा भयो । गोपाल गुरागाईं सरले सुर्विता आमाको ईच्छा पूरा गरिदिन मलाई हौसला दिनुभयो । सुर्विता आमालाई बाग्लुङ नै पुगेर मोरङसम्म लगिदिने र दुवै परिवारको कथा व्यथालाई दृश्यमा कैद गर्ने भयौं । 

गएको वर्ष माघमा म सहित विद्या चापागाईँ, कमलकुमार र जीवन रिजाल बाग्लुङ ढोरपाटन नगरपालिकाको अधिकारी चौरमा रहेको सुर्विता आमाको घरमा पुग्यौं ।
सुर्वितालाई हामी छोरा जलाएको ठाउँमा लैजान आएका हौं भन्ने थाहा थिएन ।

हामीलाई देख्नेबित्तिकै उहाँले त्यही पीडा सुनाउनुभयो । छोराको पुरानो लुगा र फोटोको लास बनाएर जलाएको ठाउँ देखाउनुभयो । र फेरि मलाई सोध्नुभयो, ‘मेरो छोरो जलाएको ठाउँ कहाँ रहेछ, थाहा पायौ ?’

मैले त्यतिबेला मैले भनें ‘मोरङमा हो, हामीसँगै जाउँ छोरा जलाएको ठाउँमा, हामी पुर्‍याइदिन्छौं ।’

झण्डै पाँच दिन यात्रा गराएर सुर्विता आमालाई छोरा जलाएको ठाउँ मोरङको लक्ष्मीमार्ग पुर्‍यायौं । सुवाससहित उहाँको परिवारले सुर्विताका छोरा तेजेन्द्रको सदगद गरेको ठाउँमा पुर्‍याइदिए । 

उनको छोराको शव जलाइएको ठाउँ बुट्यानको घारी भइसकेको थियो । ठाउँ यही नै हो भनेर ठम्याउन एकछिन त मुश्किल पर्‍यो । 

छोराको चिहानमा पुग्दा सुर्विता भक्कानिनुभयो । छोरा नहुँदा सहेका पीडा र दुःख रुँदै पोख्नुभयो । बिलौना गर्नुभयो । किन छाडेर गयौ भनेर बारबार सोध्नुभयो । उहाँको पीडा र बिलौना देखेर त्यहाँ पुगेका हामी सबैका आँखा रसाए ।

आफ्नो सन्तान अरु कसैले जलाइदिएको ठाउँमा पुग्दा उहाँलाई कस्तो भयो होला, त्यो त उहाँलाई मात्र थाहा छ । कमाउन परदेश गएको छोराको सदगत् गरेको ठाउँको माटो लिन सात सय किलोमटिर भन्दा टाढा पुगेकी सुर्वितालाई छोराले आफ्नो चित्कार सुन्ने छ भन्ने लाग्यो होला । 

चिहानमा लडिबुडी गर्दै आमाले वर्षौदेखिका पीडा मृत छोरालाई सुनाउनुभयो । छोराको शव खरानी भएको ठाउँबाट रुँदै एक मुठी माटो पोको पार्नुभयो । सुनपानी छर्किनुभयो र सेतो कपडामा माटो पोको पारेर फर्किनुभयो ।

आमा बाग्लुङ फर्किनुभयो, हामी काठमाण्डौ फर्कियौं । र दुवै परिवारको कथालाई समेटेर तयार भयो वृत्तचित्र ‘मरिसकेको मान्छे’ ।

पेशागत हिसाबले हेर्ने हो भने त उहाँको र मेरो सम्बन्ध यतिमै टुङ्गिएको थियो । तर सम्बन्धहरु कहिलेकाहीँ असीमित भएर फैलँदा रहेछन् आफसेआफ । माया बस्न केही गर्न नपर्ने रहेछ । माया यसै लाग्दो रहेछ । सम्बन्ध यसै गाँसिदो रहेछ ।

मैले उहाँको पीडा देखेकी छु । उहाँसँगै केही रात र दिन बिताउँदा पीडाले पिल्सिएकी उहाँलाई नजिकबाट चिनेकी छु । उहाँलाई दुःख छ । खोलाको छेउमा एउटा घर छ । एक्लै बस्नुहुन्छ । अलिकति खेत छ । तर कुटोकोदालो गर्न उहाँको नाडीमा दम छैन । 

पीडाले भोको पेट भरिंदैन । कहिले गाउँलेको भरमा त कहिले गाउँमै रक्सी बेचेर कमाएको दुईचार पैसाले आफ्नो पेट भर्नुहुन्छ । पेट भरेर मात्र पनि कहाँ भयो र ? छोरो विदेश पठाउँदा काढेको ऋण तिर्नुपर्ने जिम्मेवारी पनि छ उहाँको काँधमा । 

कानुनत उहाँको छोरा साउदीमा बिते भन्ने कुनै प्रमाण छैन । त्यसैले उहाँले सरकारबाट पाउने क्षतिपूर्तिका लागि पनि कानुनी आधार छैन । 

कहीँ कतै कसैले नभोगेको पीडा भोगेकी सुर्विता र सुवास तामाङको परिवारको कथा सुनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उनीहरुको विषयमा तयार भएको वृत्तचित्र हेर्न समय निकाल्नुभयो । र दुवै परिवार र हामीलाई सिंहदरबार बोलाउनुभयो ।

आमाको न्यानो अंगालो र मिठो म्वाई

श्रम मन्त्रीसँगै बसेर आफ्नै पीडालाई समेटेर तयार पारिएको वृत्तचित्र हेर्न यो पालि सुर्विता आमा काठमाण्डौ आइपुग्नुभयो । चौथोपटक काठमाण्डौ आएकी उहाँ पहिलोपटक सिंहदरबार छिर्नुभएको थियो । सिंहदरबारको गेटमै म उहाँलाई कुरिरहेकी थिएँ । 

मलाई देखेपछि परैबाट मुस्कुराउनुभयो । कुद्दै आउनुभयो र अंगालो हालेर म्वाइ खानुभयो । मेरो काँधमा आफ्नो हात राखेर अघि बढ्नुभयो । उहाँले त्यसरी अंगालोमा बाँध्दा मेरो आँखा भरियो ।

उहाँको छोरा तेजेन्द्रलाई सम्झिएँ । यो आमाको न्यानो अंगालो र काख रित्तो बनाइदिने दैवलाई सम्झिँदा मेरै मनले समेत दैवसित चित्त दुखायो ।   

उहाँसँगै बसेर मन्त्री विष्टले वृत्तचित्र मरिसकेको मान्छे हेर्नुभयो । आफ्नै पीडा समेटिएको वृत्तचित्र हेरिरहँदा आमाले आफूलाई सम्हाल्न सक्नुभएन । छेउमै बसेर बरबरी आँसु खसाल्दै भक्कानिएकी सुर्वितालाई देख्दा मन्त्री विष्टलाई पनि आमाको पीडा हेर्न मुश्किल भइरहेको थियो । 

वृत्तचित्र हेरेपछि मन्त्री विष्टलाई पनि तत्कालै यसै गर्छु भन्न गाह्रो भयो । तर उहाँले राहत र क्षतिपूर्ति दिलाउने आश्वासन दिनुभएको छ । मन्त्री विष्टको आश्वासनले मलाई पनि आमाले केही राहत पाउलिन् भने आश पालाएको छ । 

मन्त्रीले नै क्षतिपूर्ति दिलाउने आश्वासन दिएपछि सुर्विताले विदेशमा मृत्यु हुनेका परिवारले सरकारबाट पाउने क्षतिपूर्तिका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिनुभएको छ । 

मन्त्री र सरकारी मान्छेलाई आफ्नो पीडा बिसाएर मलाई भटमास र रक्सीसहितको मायाको पोको छोड्दै आमा न्याय र राहत पाउने झिनो आशा बोकेर बाग्लुङ फर्किनुभएको छ । अब त मेरो मनमा पनि दैवले ठगेकी आमालाई सरकारले चाहिँ मद्दत गर्छ कि गर्दैन भन्ने द्विबिधा मात्र बाँकी छ । 

तेजेन्द्र र सुवासका बारेमा उज्यालोमा यसअघि प्रकाशित खबर पढ्नुहोस् ।

साउदीमा तेजेन्द्रको मृत्यु : एकै मानिसका दुईटा लास जले, तर मरेको प्रमाण फेला परेन

हर्कबहादुरका माइला छोराको पुनर्जन्म र बिहे

आफैंले किरिया गरेका पतिसँग फेरि बिहे गरेकी सन्तोषीको प्रश्न : मेरा श्रीमानलाई कसरी जीवित गराउने ?

 

अन्तिम अपडेट: जेठ ५, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया