प्रिमनसुन : एकैछिनमा घाम, एकैछिनमा पानी

 चैत २४, २०७५ आइतबार १६:१:८ | अशाेक काेइराला
unn.prixa.net

काठमाण्डाै – सामान्यतया प्रिमनसुनी समयमा अपरान्ह्सम्म घाम लाग्ने र त्यसपछि पानी पर्ने किसिमको मौसमी गतिविधि हुन्छ । तर केही दिनयता देशभरको मौसममा अर्कै किसिमको गतिविधि देखा परिरहेको छ । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण मानिसहरु डर र चिन्ता मान्न थालेका छन् । 

शनिबार बिहान एकैछिनमा आकाशमा कालो बादलले ढाक्यो । पुरै अन्धकार भयो र वर्षा भयो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुनको समयमा क्षणिक वर्षा हुन्छ । एकैछिनमा बादल लागेर पानी परे पनि लामो समयसम्म भने यो प्रणाली रहँदैन । तर यो माैसमी प्रणाली अलि फरक किसिमको देखिएको छ ।

गएको साता बारा र पर्सामा ठूलो जनधनको क्षति हुनेगरी आएको हावाहुरीपछि मानिसहरुमा एक किसिमको त्रास नै फेलिएको छ । प्रिमनसुनी समयमा यस किसिमको गतिविधि स्वभाविक नै भएको महाशाखाका मौसमविद् बताउँछन् । 

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले भन्नुभयो ‘प्रिमनसुनी समयमा हावाहुरी लागेर वर्षा हुनु स्वभाविक हो । यो वर्ष प्रिमनसुनी समयको सुरुवातमा नै यस किसिमका गतिविधि सक्रिय हुँदा अलि अचम्म लागेको हो ।’

कारण 

आइतबार पनि देशका विभिन्न भूभागमा मौसम बदली भएको छ । केहीदिनदेखि धुम्म भएको आकाश आइतबार पनि खुल्दै धुम्म हुँदै भइरहेको छ ।

मौसमविद् पौडेलले भन्नुभयो ‘नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको हो ।’

नेपालमा अंग्रेजी वर्षको मार्च महिनादेखि मे महिनासम्म प्रिमनसुनी गतिविधि हुन्छ । केहीदिनयता स्थानीय वायु सक्रिय हुँदा यसको प्रभाव परिरहेको छ । 

पूर्वानुमान 

प्रिमनसुनी समयमा स्थानीय वायुको प्रभाव निश्चित ठाउँमा हुने हुनाले पूर्वानुमान गर्न असहज हुने महाशाखाका मौसमविद् बताउँछन् । 

अहिले पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै आइहेको छ । महाशाखाले मौसमी गणितीय तथ्यांक, कम्प्युटर भूउपग्रहको तस्विर र वायुमण्डलको अवस्था हेरेर मौसम पूर्वानुमान गर्ने गरेको छ । 

नेपालको भौगोलिक अवस्थाका कारण पनि नेपालमा मौसम पूर्वानुमान गर्न असहज भएको मौसमविदहरु बताउँछन् ।

आइतबार पनि पूर्वमा भने मौसम खुल्ने संभावना कम रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् पौडेलले भन्नुभयो ‘आइतबार पश्चिमको तुलनामा पूर्वमा धेरै बदली हुनेछ । हावाहुरी र चट्याङ पनि पर्नेछ । तर आत्तिनुपर्ने अवस्था भने छैन ।’

उहाँले भन्नुभयो ‘सोमबारदेखि क्रमशः मौसम खुल्दै जानेछ । मौसम पूर्णरुपमा खुल्न भने अझै केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो । 

किन चल्छ हावाहुरी ? 

सामान्यतया वायु उच्चचापीय क्षेत्रबाट न्यूनचापीय क्षेत्रमा बहने गर्छ । जमिन तातेपछि जमिनको हावा माथि जान्छ । त्यो हावा माथि सहतभन्दा माथि वायुमण्डलमा गएपछि तल जमिन केही खाली हुन खोज्दा त्यहाँ न्यूनचापीय क्षेत्र बन्ने गर्दछ ।

न्यूनचापीय क्षेत्रमा आसपासको उच्चचापीय क्षेत्रबाट हावा बहन्छ । यसरी एक ठाउँबाट अर्को ठाउँमा जाँदा हावाको वेग केही बढी हुने गर्दछ र हावा लाग्छ । 

वायुमण्डलको विभिन्न क्षेत्र तथा तहमा वायुको गतिमा केही उतारचढाव भैरहेको हुन्छ, गति असामान्य हुँदा उत्पन्न हुने उतारचढावका कारण विभिन्न ठाउँमा न्यूनचापीय क्षेत्रको विकास हुन्छ । न्यूनचापीक्षेत्र विकास भएको ठाउँमा पनि उच्चचापीय क्षेत्रबाट न्यूनचापीय क्षेत्रमा हावा बहन्छ । यसरी पनि हावाको गतिमा बदलाव आइरहेको हुन्छ ।

चट्याङको डर 

सामान्यतया मनसुन सुरु हुनुभन्दा अघिको समयमा चट्याङ बढी पर्ने गर्दछ । 

सामान्य रुपमा प्रिमनसुनी समयमा तापक्रम क्रमश बढ्दै जाने भएकाले वायुमण्डल तात्दै जान्छ । वायुमण्डल तातेर आयतन एक्कासी वृद्धि हुन थाल्छ जसले गर्दा वायुमण्डलमा एक किसिमको विस्फोटको आवाज निस्कने गर्छ जसलाई मेघ गर्जन भनिन्छ । 

‘क्युमोलोनिम्बस’ बादल बन्ने क्रममा आकासमा चट्याङ पर्छ । यस्तो बादलको स्वरुप कालो हुने गर्छ । यस्तो बादलको निर्माणले चट्याङ पर्ने मौसमी गतिविधिलाई निम्त्याइरहेको हुन्छ ।

क्युमोलोनिम्बस बादलको तल्लो भागमा प्रशस्त मात्रामा पानीको थोपा रहेको हुन्छ भने माथिल्लो भागमा असिना, बरफको टुक्रा र हिउँ हुन्छ । त्यही कारण बादलको माथिल्लो भागको वायुमण्डलीय तापमान कम हुने गर्छ । यो बादल बाक्लो भएकै कारण कालो देखिने गर्छ भने यो बादलभित्र अत्यन्त जोडले हुरीबतास तलमाथि चलिरहन्छ ।

बादलभित्र हावा तलमाथि भैरहने कारण पनि बादल भित्र रहेको पानीको थोपा, बरफ, असिनाबीच एक आपसमा घर्षण हुन्छ । जसले गर्दा बादलभित्रै विद्युतीय चार्ज उत्पन्न हुन्छ र चट्याङ पर्छ । 

चट्याङबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु हो । यसबाहेक विद्युतीय सामाग्रीहरुको प्रयोग बन्द गरेर त्यस्ता सामाग्रीलाई प्लगबाट छुटाएर राखे चट्याङबाट हुने क्षति कम हुन्छ ।

चट्याङ परिरहेको बेलामा धारामा नुहाउने, लुगा धुने, भाँडा माझ्ने काम नगर्न पनि विज्ञहरुको सुझाव छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

अशाेक काेइराला

अशाेक काेइराला वातावरण क्षेत्रमा रुची राख्नु हुन्छ।  

तपाईको प्रतिक्रिया