सुत्केरी श्रीमतीलाई चिर्पट प्रहार गरेर घाइते बनाउने श्रीमान पक्राउ

 चैत २५, २०७५ सोमबार १८:२:३८ | सन्तोष थापा
unn.prixa.net

पर्वत - पर्वतको फलेवास नगरपालिका वडा नम्बर २ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया गर्भवती श्रीमती मुना नेपालीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । आइतबार बिहान घरमा नै शिशु (छोरा) लाई जन्म दिएकी मुनालाई राति ९ बजेको समयमा मदनले चिर्पट प्रहार गरेर घाइते बनाएका हुन् । 

घाइते मुनालाई आइतबार राति नै छिमेकीको सहयोगमा मुनालाई जिल्ला अस्पताल पर्वत लगिएको थियो । त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि सोमबार दिउँसो नै उहाँलाई पोखरा पठाइएको छ । उहाँको टाउकोमा गहिरो चोट रहेको र ३१ वटा टाँका मारिएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताउनुभयो ।

मदनले मदिराको नशामा सुत्केरी श्रीमती माथि हातपात गरेका हुन् । रक्सीले मात्तिदै घरमा आएको र एक्कासी आफूमाथि हातपात गरेको पीडित मुनाले बताउनुभयो । घटनाको बारेमा छिमेकीले तत्कालै थाहा पाएका कारण छिमेकीको सहयोगमा मात्रै आफू बँचेको पीडित महिलाले बताउनुभयो ।

 
  

छिमेकीकै सहयोगमा फलेवास नगरपालिका-१, कार्कीनेटा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मदनलाई आइतबार राति नै नियन्त्रणमा लिएको छ ।  मदन अहिले पर्वत जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेका छन् । पीडितबाट लिखित रुपमा उजुरी नआइसकेकोले कानुनी प्रक्रिया अघि बढाउन नसकिएको र आफन्तहरुसँग सम्पर्क भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । 
    
पीडित महिलाको माइती पक्षका आफन्तहरु कोही नभएका कारण छिमेकी युवा दिपेन्द्र कुँवरलगायतका व्यक्तिहरुले उनलाई अस्पतालमा सहयोग गरिरहेका छन् ।

मजदुरी गरेर खाने परिवारका भएका कारण आफूहरुसँग उपचारका लागि आवश्यक रकम समेत नभएका कारण सहयोग गरिदिन उहाँले आग्रह गर्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया