धरान बस दुर्घटना : मृतक ४ जनाकाे परिचय खुल्याे

 चैत २५, २०७५ सोमबार २०:४:२५ | रासस
unn.prixa.net

सुनसरी - धरान उपमहानगरपालिका-१३, जिरो प्वाइन्ट  नजिकमा साेमबार दिउँसो  बस दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएकाे  छ । 

ब्रेकफेल भएर पाँच सय मिटर अगाडिदेखि अनियन्त्रित हुँदै आएको ना६ख २७१३ नम्बरको  बस जिरो प्वाइन्ट नजिकैको बिजुली पोलमा ठोक्किएर दुर्घटना हुँदा चालक छत्रबहादुर गुरुङसहित चार जनाकाे ज्यान गएकाे हाे । यसैगरी दुर्घटनामा धनकुटा चौबिसे–१ डाँडाबजारका दलबहादुर मगर, मोरङ केराबारी–९ की यामकुमारी मगर र उनको ८ वर्षीया छोरी डेनी मगरको पनि ज्यान गएकाे  इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । 

धरान उपमहानगरपालिका ८ का चालक गुरुङ लामो समयदेखि पहाडी रुटमा बस चलाउँदै आएका थिए । गुरुङले बसको ब्रेक फेल भएको थाहा पाएपछि क्षति कम गराउन खोजेको प्रहरीको भनाइ छ ।

‘ड्राइभरले सकेसम्म क्षति कम गराउन खोजेको देखिन्छ’, इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले भन्नुभयाे, ‘चालकको घटनास्थलमा नै मृत्यु भयो ।’ 

जिरो प्वाइन्टबाट दक्षिणतर्फ बाक्लो बस्ती छ । गाडी बजार प्रवेश गरेको भए अझ बढी क्षति हुने सम्भावना थियो । दुर्घटनामा घाइते हुनेको सङ्ख्या ३९ पुगेको छ ।

उनीहरुकोे उपचार धरानस्थित बLपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया