नागढुंगाको जाम घटाउने सुरुङमार्ग निर्माणको काम लम्बियो

 चैत २६, २०७५ मंगलबार १०:३०:१९ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – ठेकेदार छनौट हुन नसक्दा नौबिसे–नागढुंगा सुरुङ मार्ग निर्माणको काम लम्बिँदै गएको छ ।

सन् २०१९ को जनवरीभित्र निर्माण कम्पनी छनोट गरेर काम थालनी गर्ने भनिएको थियो । तर अप्रिल महिना सकिनै लाग्दासम्म पनि कुन निर्माण कम्पनीलाई ठेक्का दिने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन ।

‘अहिले छनौटको प्रक्रिया अघि बढिरहेको छ, १०/१५ दिनमा नै टुङ्गो लाग्नेछ’ सडक विभागका निर्देशक केशव शर्माले उज्यालोसँग भन्नुभयो, ‘प्राविधिक मूल्यांकनपछि पनि कम्पनीको पूँजीगत मूल्यांकन गर्नुपर्ने हुन्छ । यसले गर्दा केही ढिलो हुन गएको हो, अब १५्र दिनभित्र निर्माण कम्पनी छनोट गरिसक्नेछौँ ।’
नागढुंगा नौबिसे सुरुङमार्ग निर्माण गर्न सरकारले साउन २४ गते ग्लोबल टेण्डर आह्वान गरेको थियो ।

ग्लोबल टेण्डर आह्वानपछि विश्वभरीबाट जम्मा ४३ वटा आवेदन प्राप्त भएका थिए । तिनीहरुमध्ये जम्मा ६ कम्पनीले मात्र बिड (बोलपत्र) हालेका छन् । बिड हाल्नेमा पाँचवटा चिनियाँ र एउटा जापानिज कम्पनी रहेका छन् ।

सडक विभाग अन्तर्गत वैदेशिक समन्वय महाशाखाका इञ्जिनियर छविलाल पौडेलकाअनुसार अब यी ६ वटा कम्पनीको तहगत मूल्यांकनपछि मात्र कुनै एक कम्पनीलाई छनौट गरिनेछ ।तर त्यो अवसर चिनियाँ कम्पनीले पाउँछ या जापानिज कम्पनीले पाउँछ भन्ने केही भन्न नसकिने उहाँले बताउनुभयो । 

‘जापानिज सहयोगमा निर्माण हुने भनिए पछि जापानी कम्पनीले नै निर्माण गर्छ भन्ने हुँदैन । यसमा कुनै कुराको पनि पक्षपात हुनु हुँदैन’ उहाँले भन्नुभयो, ‘जुन कम्पनी प्राविधिक तथा आर्थिक रुपमा अब्बल देखियो ठेक्का उसैले पाउने हो ।’

यो सुरुङमार्ग बन्ने कुरा सन् २०१३ देखि सुरु भए पनि सन् २०१६ को डिसेम्बरमा जापान अन्तर्राष्ष्ट्रिय सहयोग नियोग (जाइका)सँग ऋण सम्झौता भएपछि मात्र यसको काम अघि बढेको हो । 

आयोजनाको लागि सरकारले काठमाण्डौमा २ सय ६८ र धादिङमा १ सय ९ रोपनी जग्गा अधिग्रहण गर्दैछ । अहिलेसम्म ९० प्रतिशत जग्गा अधिग्रहण भइसकेको इञ्जिनियर पौडेलले बताउनुभयो । जग्गा मुआब्जाको लागि अघिल्लो वर्ष ७० करोड रुपैयाँ विनियोजन गरिएको थियो भने यो चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सम्झौता अनुसार, नेपाल सरकारलाई जाइकाले सुरुङ निर्माण गर्न ४० वर्षभित्र फिर्ता गर्ने गरी नाम मात्रको (० दशमलव १ प्रतिशत) व्याजदरमा १६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ ऋण दिएको छ । सुरुङमार्ग बनाउन करिब २० अबँ रुपैयाँ लाग्ने अनुमान छ । जाइकाको ऋणमा नपुग रकम नेपाल सरकारले लगानी गर्नेछ ।

सुरुङमार्गले नागढुंगाको जाम घटाउने र ५ किलोमिटर यात्रा छोट्याउने

नागढुंगा नजिकको टुटीपाखाबाट सुरु भएर धादिङको सिस्नेखोलामा निस्कने सुरुङमार्गको लम्बाई करिब अढाइ (२.६) किलोमिटरको मात्र हुनेछ । तर यो सुरुङमार्ग नेपालको पहिलो आधुनिक र चौडा मार्ग पनि हुनेछ । सुरुङमार्गको दायाँ र बायाँ साढे ३ मिटर चौडाइ अथवा सरदर १२ फीटे सडकका दुईटा लेन हुनेछन् । यी दुई लेनलाई डेढ मिटर (करिब ५ फीट) को मिडियनले छुट्याउनेछ । 

सुरुङमार्ग बनाउन ठेक्का लिएको कम्पनीले बलम्बुदेखि टुटीपाखासम्म र सिस्नेखोलामा एप्रोच सडक, सुरुङमार्गको दुई किनारामा ढल निकासको लागि आधा मिटर चौडा सोल्जर, सुरुङमार्गमा पर्ने ७ वटा पुल, ११ वटा कल्भर्ट, टोल (सडक दस्तुर) गेट, धादिङको सिस्नेखोलामा सर्भिस स्टेसन पनि निर्माण गर्नुपर्ने कुरा ग्लोबल टेण्डरमा समावेश छ । 

सुरुङ खन्दा आएको माटोलाई धादिङको सिस्नेखोलाको खोल्सामा भरेर त्यसमाथि सर्भिस स्टेसन बनाइने छ । त्यस स्टेसनमा कम्तीमा पनि २५ ठूला गाडी पार्किङ गर्न मिल्नेछन् । सर्भिस स्टेसनमा एउटा पेट्रोल पम्प र खाजाघर निर्माण गरिनेछ । 

टोलगेटमा टिकट काटेर मात्र गाडीहरुले सुरुङमार्गमा प्रवेश गर्न पाउनेछन् । यसको लागि सुरुङको दुवै तर्फ ‘टोलगेट’को व्यवस्था गरिनेछ । बलम्बूबाट सिस्नेखोलासम्मको अहिलेकोे दूरी साढे १० किलोमिटर छ । सुरुङमार्ग निर्माण भएपछि  त्यो दूरी साढे ५ किलोमिटरमा छोटिने छ । 

सडकको दूरी ५ किलोमिटर मात्र छोटो हुने भए पनि सुरुङमार्गमा रहने मिडियनले गाडीहरुलाई लेन मिच्न दिंदैन र सुरुङमार्गको साढे दश किलोमिटर सडकमा जाम हुँदैन । जाम नहुनेबित्तिकै काठमाडौ र नौबिसे बीचको यात्रा सरदर २० मिनेटमा पूरा हुनेमा सडक विभागका इञ्जिनियरहरु ढुक्क छन् । 

तर निर्माण कम्पनीको टुंगो नलाग्दा सुरुङमार्ग बनाउने काम कहिले सुरु हुन्छ भन्ने चाहिँ अन्यौल नै छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

1 Comments

  • Gaja raj suwal

    April 9, 2019, 11:57 a.m.

    नागढुंगामा बन्नलागेको सुरुङ्गको Socio-Economic point of view बाट Benefit-Cost analysis गरि अौचित्य पुष्ट्याउन जरुरी| नागढुङ्गामा सुरुङ्ग मार्ग बनाउनु भन्दा सितापाइला-धार्के बैकल्पिक मार्ग बनाएको राम्रो |अधिग्रहण भईसकेको जग्गा ट्रक/बस पार्क बनाउन सकिन्छ|

  •  0 Reply

तपाईको प्रतिक्रिया