भारतीय कांग्रेस भन्छ : बीजेपीको विदेश नीति ‘नेइबरहूड लस्ट’

 चैत २६, २०७५ मंगलबार १६:१५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा आउँदो बिहीबारदेखि लोकसभा चुनाव हुँदैछ । 

चुनावलाई मध्यनजर गर्दै पार्टीहरुले प्रचार–प्रसार शैली आक्रामक बनाउँदै गएका छन् । पार्टीका घोषणापत्र पनि सार्वजनिक भैसकेका छन् । भारतीय जनता पार्टीले आफ्नो घोषणा पत्रमा फेरि राम मन्दिर, कश्मीरी पण्डितको फिर्तालगायतका मुद्दा उठाएको छ । त्यस्तै उसले आफ्नो घोषणापत्रमा राष्ट्रवादको भरपुर प्रयोग गरेको छ ।

राष्ट्रवादबाट मात्रै विकास सम्भव छ भन्दै उसले आफ्नो घोषणापत्रमा ११८ पटक राष्ट्रवाद उल्लेख गरेको छ । त्यस्तै उसले हिन्दुत्व र सबरीमाला मुद्दा पनि समावेश गरेको छ । 

कांग्रेसको घोषणा पत्रमा किसानका मुद्दालाई प्राथमिकता दिइएको छ । कांग्रेसको घोषणा पत्रमा ऋण तिर्न नसक्ने किसानहरुलाई आपराधिक मुद्दा नलगाइने तथा न्यून आय भएका किसानलाई वार्षिक ७२ हजार दिनेसम्मका कुरा उल्लेख छन् । 

यी त भारतीय नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने मुद्दा हुन् । भारतका दुई ठूला पार्टीका घोषणा पत्रमा विदेश नीति कस्ता छन् त ? पछिल्लो ५ वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्री कालमा भारतीय विदेश नीति निकै कमजोर भएको बताइन्छ । ५० भन्दा बढी विदेश भ्रमण गरे पनि मोदीले सम्झनलायक कुटनीतिक सफलता हात पारेका छैनन् । 

मोदीकै कार्यकालमा छिमेकी देशहरुसँगको सम्बन्ध निकै कमजोर भएको विपक्षी दल कांग्रेसले आरोप लगाइरहेको छ । कांग्रेसको आरोप ठिकै पनि हो, पछिल्ला ५ वर्षमा दक्षिण एसियाली छिमेकी देशहरुसँग भारतको सम्बन्ध सुमधुर छैन । मोदी सरकारको ‘नेइबरहूड फर्सट’ छिमेकी पहिला भन्ने नीति त गफ मात्रै भएको छ । त्यस्तै कांग्रेसले बीजेपी नेतृत्वको सरकारका पालामा ‘नेइबरहूड लस्ट’  भारतले छिमेकी गुमाएको बताएको छ ।

कांग्रेसले बीजेपी नेतृत्वको सरकारले नेपालसँगको सम्बन्धमा तिक्तता ल्याएको बताएको छ । कांग्रेसले नेपालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएको स्पष्ट रुपमा स्वीकार नगरे पनि भारतले नाकाबन्दी लगाएको विषयमा संयुक्त राष्ट्र संघसम्म नेपाल गएको भन्ने कुरा उल्लेख गरेको छ । संयुक्त राष्ट्र संघका महासचिवले भूपरिवेष्ठित राष्ट्रका हिसाबले नेपालले निर्वाध रुपमा पारवहन सुविधा पाउनु पर्ने बताएको उल्लेख गर्दै कांग्रेसले बीजेपी सरकारको विदेश नीति असफल भएको बताएको छ ।

साथै केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढलाउन बीजेपी नेतृत्वको सरकारले भूमिका खेलेको पनि कांग्रेसले आरोप लगाएको छ  ।

त्यति मात्रै होइन, कांग्रेसले भारतले श्रीलंकासँगको सम्बन्ध पनि बिगारेको बताउँदै नेपाल र श्रीलंकालाई जबरजस्ती चीनतर्फ धकेलेको आरोप लगाएको छ ।

म्यान्मारबाट लखेटिएका राज्यविहीन रोहिङ्ग्याहरुलाई मानवीयताका आधारमा पनि शेल्टर नदिएको र त्यसैले गर्दा बंगलादेशसँगको सम्बन्धमा पनि दरार आएको कांग्रेसले उल्लेख गरेको छ । बीजेपी नेतृत्वको सरकारका पालामा छिमेकी देशसँग मात्रै होइन, चीन, रुसलगायतका देशसँग पनि सम्बन्ध बिग्रेको कांग्रेसले आरोप लगाएको छ । 

कांग्रेस सरकारमा आए कस्तो हुन्छ विदेश नीति ?

भारतीय कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रको १६औँ बुँदामा विदेश नीतिबारे स्पष्ट पारेको छ ।

दूरदर्शी नेताका कारण भारतीय स्वतन्त्रा संग्रामदेखि नै भारतको प्रभावकारी विदेश नीति सुरु भएको कांग्रेसले बताएको छ । तर पछिल्लो समय बीजेपी नेतृत्वको सरकारले भारतीय कुटनीतिक क्षेत्रलाई कमजोर बनाएको बताउँदै कांग्रेस सरकारमा आए त्यसलाई फेरि ब्युँताउने बताएको छ ।

  • कांग्रेसले आफ्नो विदेश नीतिमा मित्रता, शान्तिपूर्ण सह–अस्तित्व, स्वतन्त्र विचार र क्रियाकलापलाई सम्मान गर्ने उल्लेख गरेको छ । 
  • कांग्रेसले विदेश नीतिलाई बलियो बनाउन ‘नेसनल काउन्सिल अन फरेन पोलिसी’ गठन गर्ने बताएको छ । जसमा क्याबिनेट सदस्य, विज्ञ तथा कुटनीतिक जानकार रहनेछन् । 
  • विश्वका सबै देशसँग नजिक रहेर काम गर्ने कांग्रेसले उल्लेख गरेको छ । विशेषगरी छिमेकी र जी–२० मा रहेका देशसँगको सम्बन्धलाई प्रगाढ बनाउने कांग्रेसले बताएको छ ।
  • वैदेशिक व्यापार नै कांग्रेस नेतृत्वको सरकारको विदेश नीतिको महत्वपूर्ण पक्ष हुनेछ ।
  • विश्वभर व्याप्त रहेको आतंकवादलाई परास्त गर्न सबै देशसँग सहकार्य गर्ने कांग्रेसले बताएको छ । आतंकवादलाई प्रश्रय दिनेमाथि प्रतिबन्धको दायरा बढाउन संयुक्त राष्ट्र संघसँग पहल गर्ने कांग्रेसले आफ्नो घोषणा पत्रमा जनाएको छ ।
  • कांग्रेस नेतृत्वको सरकारले विश्व समुदायसँग आतंकवादलाई प्रश्रय नदिन पाकिस्तानलाई दबाब दिने घोषणा पत्रमा उल्लेख छ ।
  • अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताअनुरुप आफ्नो सरकारले शरणार्थीसम्बन्धी कानुन पास गर्ने कांग्रेसले घोषणा पत्रमा उल्लेख गरेको छ । 
  • संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य बन्नका लागि अझ पहल गर्ने कांग्रेसले बताएको छ ।
  • कांग्रेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) तथा आसियानलाई प्रभावकारी बनाउने बताएको छ । सार्क र आसियानमा रहेका देशसँगको भौगोलिक निकटताको फाइदा उठाउँदै द्विपक्षीय व्यापार, पर्यटन र सांस्कृतिक आदान–प्रदान गरिने उसको घोषणा पत्रमा उल्लेख छ । पछिल्लो समयमा भारत–पाकिस्तानबीच सम्बन्धले सार्कको अस्तित्व नै संकटमा परेको बेला कांग्रेसले भने सार्कलाई प्रभावकारी बनाउने बताएको छ । 
  • भारतले विशेषगरी श्रीलंका र पाकिस्तानसँगको सीमामा मछुवारले भोग्ने गरेको समस्या समाधान गर्न पहल गर्ने कांग्रेसले घोषणा पत्रमा उल्लेख गरेको छ । 

बीजेपीको घोषणा पत्रमा कस्तो छ त विदेश नीति  ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५० भन्दा बढी विदेश भ्रमण गरे पनि कुटनीतिक सफलता हात पारेका छैनन् । खासगरी नेपाल, श्रीलंका, बंगलादेश, मालदिभ्स, चीन, पाकिस्तान र भुटानसँगको सम्बन्धमा दरार आएको छ । एकअर्काबीच रहेको विश्वासको वातावरण शंकाको वातावरणमा पुगेको छ ।

वसुधैव कटुम्बकम नै प्राथमिकता

राष्ट्रिय विकास तथा सुरक्षालाई मध्यनजर गर्दै प्राचीन समयदेखि नै प्रचलित ‘वसुधैव कटुम्बकम’ लाई बीजेपीले प्राथमिकता दिने बताएको छ । कुनै पनि देशमा दैवी प्रकोप आएका बेला भारतले ‘फर्स्ट रेस्पोन्डर’ का रुपमा राहत तथा उद्धारमा खट्ने बीजेपी घोषणा पत्रमा उल्लेख छ ।

  • बीजेपीले आफ्नो कुटनीतिक सम्बन्धको प्राथमिकतामा ज्ञान र प्रविधि बाँड्ने काम हुने बताएको छ । अन्तरिक्ष प्रविधिसम्बन्धी कामलाई अगाडि बढाउन ‘इन्टरनेसनल स्पेस टेक्नोलोजी अलायन्स’ गठन गरिने बीजेपीले उल्लेख गरेको छ ।
  • कांग्रेसको घोषणा पत्रमा उल्लेख भएझैँ बीजेपीले पनि आतंकवादलाई परास्त गर्न विश्व मञ्चको प्रयोग गर्ने बताएको छ । आतंकवादलाई प्रश्रय दिने देशलाई विश्व मञ्चबाट अलग्याउने उसको विदेश नीति छ ।
  • बीजेपीले बहुपक्षीय सम्बन्धलाई प्रगाढ बनाउने बताएको छ । विभिन्न क्षेत्रीय संगठनलाई प्रभावकारी बनाउने बताइरहँदा सार्कबारे भने बीजेपी मौन छ । पछिल्लो समयमा बीजेपी नेतृत्वको सरकारले सार्कलाई माइनस गरेर बिमस्टेकलाई प्रभावकारी र बलियो बनाउने दाउमा रहेको छ । यसमा विशेष स्वार्थ भनेको सार्कको महत्वपूर्ण सदस्य रहेको पाकिस्तानलाई अलग्याउने खेल हो भन्ने कुरा स्पष्ट रुपमा बुझिन्छ ।
  • बीजेपीले आफ्नो घोषणा पत्रमा संयुक्त राष्ट्र संघ, जी–२०, ब्रिक्स, एससीओ, कमनवेल्थ, रुस, इन्डिया र चीनबीचको सम्बन्धलाई प्रभावकारी बनाउन (आरआईसी)लाई सुदृढ गर्ने कुरा उल्लेख गरेको छ ।
  • त्यस्तै जेएआई(जापान–अमेरिका–इन्डिया) तथा बिमस्टेक तथा आसियानलाई सुदृढ बनाउँदै क्षेत्रीय सहयोग र सहकार्य बढाउने बीजेपीले घोषणा पत्रमा उल्लेख गरेको छ । 
  • संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको स्थायी सदस्य बन्न पहल गर्ने कुरा बीजेपीले पनि आफ्नो विदेश नीतिको रुपमा उल्लेख गरेको छ ।
  • अन्तराष्ट्रिय कुटनीतिक क्षेत्रमा भारतीय कुटनीतिलाई प्रभावकारी बनाउन उसले भारतीय कुटनीतिक कर्मचारीको क्षमता अभिवृद्धि गर्ने जनाएको छ । 

सन् २०१४ मा छिमेकी पहिले(नेइबरहूड फर्स्ट) भनेको बीजेपीले अहिले भने छिमेकीहरुलाई आफ्नो विदेश नीतिमा समेटेको छैन । सार्कको बारेमा त शब्दसमेत उल्लेख गरेको छैन । छिमेकी देशहरुसँगको सम्बन्धमा पनि उ आसियान, ब्रिक्स लगायतका क्षेत्रीय संगठनका बारेमा बढी केन्द्रित रहेको छ । उसको घोषणा पत्रअनुसार भारतीय कांग्रेसले उल्लेख गरेझैँ नै बीजेपी ‘नेइबरहूड लस्ट’ को नीति लिएर अगाडि बढेको देखिन्छ ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • मीना कडरिया

    April 9, 2019, 6:58 p.m.

    दुबै आआफ्नो ठाउँमा ठिकै छन्

  •  0 Reply

तपाईको प्रतिक्रिया