सदरमुकामका कार्यालयबाट पाइने सेवा गाउँकै घुम्ती शिविरमा

 चैत २६, २०७५ मंगलबार १८:४६:५५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - जिल्ला सदरमुकामबाट मात्र प्रदान हुने सेवा आफ्नै गाँउबाट प्राप्त भएपछि अर्घाखाँचीको छत्रदेव गाँउपालिकाका स्थानीय बासिन्दाहरु हर्षित भएका छन् ।

शिविरमा आउन जान गाउँपालिकाले घरघरमा बस र जीपको व्यवस्था गरेपछि शिविरमा झण्डै ४५ सय जनाले सेवा लिएका छन् । छत्रदेव गाउँपालिकाभित्र रहेका १ देखि ८ वडालाइ लक्षित गरी सार्वजनिक मावि छत्रगञ्जमा मंगलबार राखेको एकिकृत घुम्ती शिविरमा विनाझञ्झट, छोटै समयमा सबै  सेवा पाँउदा उनीहरु हर्षित भएका हुन् । 

नागरिकता बनाउनकै लागि दुई हजारसम्म खर्च तथा सदरमुकाम सन्धिखर्क आउन जान दिन बित्छ, तर यहाँ एक घण्टामै नागरिकता हातमा लिए, छत्रदेव वासीले ।  

घुम्ती शिविरमा २९ वर्षीया बिमला पाण्डेले नेपाली नागरिकता पाउनुभयाे । उहाँ बिकलाङ्ग भएकाले सन्धिखर्क आउन जान निकै गाहृो थियो ।  ७५ वर्षीया पुतला भट्टराईले आँखा जँचाउनुभयाे । छत्रदेव ठूलापोखरा घर भएकी भट्टराईलाई शिविरमा हिडेर आउन २ घण्टा लाग्दथ्यो, तर गाउँपालिकाले निशुल्क यातायातको व्यवस्था गरेपछि उहाँलाई हिँडनु पनि परेन । 

जिल्ला प्रशासनको आयोजना र छत्रदेव गाँउपालिकाको संयोजनमा शिविर सञ्चालन भएको हो । शिविरबाट झण्डै ४५ सयले  सेवा प्राप्त गरेका छन् । विना झण्झट आफ्नै गाउँबाट जिल्ला सदरमुकाम बाट प्रदान गरिने सेवा प्रदान दिन शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयाे ।

जिल्ला प्रशासनबाट प्रदान हुने नागरिकता, जिल्ला कृषि ज्ञान केन्द्रबाट माटो परीक्षण, जिल्ला स्वास्थ्य कार्यलयबाट निशुल्क स्वास्थ्य जाँच र आँखा अस्पातालको निशुल्क आङ्खाग जाच,  निशुल्क औषधी वितरणजस्ता जिल्लास्तरका सबै कार्यालयबाट  प्रदान हुने सेवा प्रवाह शिविरमा गरिएको थियो ।

सिंहदरबारको अधिकार घरघरमा भन्ने संघीयताको नारालाइ सफल बनाउन शिविर सञ्चालन गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । 
गाउँपालिकाले टोलैपिच्छे गाडीको सुविधा गरिदिएपछि सेवाग्राही धेरै आएका हुन् । गाउँमा आएको सेवा सबैले लिन पाउन् भनेरै गाडीबाट सर्वसाधारणलाई शिविरमा ल्याइएको थियो ।

शिविरमा नागरिकता २ सय ८१ थान वितरण गरिएको छ भने ३०४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । आयुर्वेद, स्वास्थ्य र आँखा जाँच मात्र ७ सयभन्दा बढीले गरेका छन् । उनीहरुले औषधी पनि निशुल्क पाएका छन् ।

सदरमुकाम जान टाढा भएकाले घरघमै गाडी पुर्‍याएर शिविरमा आउने व्यवस्था गरिएकाेले सेवाग्राहीलाई धेरै राहत पुगेकाे प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयाे । 

 

अन्तिम अपडेट: चैत ४, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया