भ्रष्टाचार आरोपमा मलेसियाका पूर्व प्रधानमन्त्रीकी पत्नी रोसमाह पक्राउ

 चैत २६, २०७५ मंगलबार १९:२९:२२ | रासस
unn.prixa.net

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ गरिएको छ । 

पक्राउ पर्नु पहिले उहाँलाई सोलार पावर आयोजनामा उठेका भ्रष्टाचारका प्रश्नहरूबारे अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्नका लागि भनी बोलाइएको थियो । तर उहाँलाई पछि त्यहीँबाट पक्राउ गरिएको थियो ।

उहाँलाई बुधबार नै क्वालालम्पुर अदालतमा उपस्थित गराइने मलेसियाको भ्रष्टाचारविरोधी निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

रोसमाह तथा उहाँका पूर्व विशेष सहयोगीलाई गत बर्षको नोभेम्बरमा एक कम्पनीलाई चार करोड ४८ लाख अमेरिकी डलर बराबरको ठेक्का करार गरेबापत १५ प्रतिशत कमिसन मागेको आरोप लगाइएको थियो । रोसमाहलाई उक्त कम्पनीका निर्देशकबाट घुससमेत लिएको आरोप लगाइएको थियो ।

उहाँका विशेष सहयोगी रिजाल मनसोरमाथि भ्रष्टाचार तथा कमिसन लिएको विभिन्न चार आरोप दर्ता गरिएको थियो । आरोपित दुवै जनाले आरोप निराधार रहेका जनाउँदै यसको खण्डन गर्दै आएका छन् ।

सोलार पावर आयोजनाबारे आरोप लाग्नु पहिले पूर्व प्रधानमन्त्रीकी पत्नी रोसमाहमाथि १६ लाख अमेरिकी डलर बराबर सम्पत्तिको शुद्धीकरण तथा कर छलीबारेका विभिन्न १७ मुद्दामाथि छानबिन गरिसकिएको छ ।

पछिल्लो सोलार प्यानल आयोजनाबारेको आरोपमा उहाँले मलेसियाको पूर्वी राज्य सारावाकमा विभिन्न ३०० विद्यालयमा जोडिएको सौर्य उर्जा बिनाटेन्डर एक कम्पनीलाई दिएको र यसबाट ठूलो कमिसन लिएको आरोप लगाइएको छ ।

 टेन्डरका लागि पूर्व प्रधानमन्त्रीसमेतको अनुमति रहेको दाबी गरिएको छ । सत्ताबाट बाहिरिएपछि पूर्व प्रधानमन्त्री नाजिबमाथि भ्रष्टाचारका विभिन्न ४२ वटा मुद्दा दर्ता भएका छन् । उहाँका मुद्दामाथि गएकाे हप्तादेखि सुनुवाइ सुरु भएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया