भारतीय सुरक्षाकर्मीबाट हैरान नेपाली भन्छन् – कहिलेसम्म सास्ती खेप्ने ?

 चैत २७, २०७५ बुधबार १०:१३:३५ | निर्मला खडायत
unn.prixa.net

धनगढी – ‘भारतबाट फर्किंदाको सास्ती कहिल्यै अन्त्य नहुने भयो’ गड्डाचौकी नाकामा भेटिएका बैतडीका कृष्णबहादुर बिष्टले दिक्क मान्दै भन्नुभयो । 

केही वर्षदेखि भारतमा रोजगारी गर्दै आउनुभएका कृष्ण मंगलबार नयाँ वर्ष मनाउन परिवार सहित भारतको बैंगलोरबाट नेपाल फर्किंदै हुनुहुन्थ्यो । मलिन अनुहारमा देखिएका कृष्णले भन्नुभयो, ‘देशमा रोजगारी छैन, कमाउन भारत जानुपर्ने । अझ दुःख गरेर कमाएको पैसालाई सीमामा खटिएका सुरक्षाकर्मीलाई दिनु पर्ने बाध्यता कहिले अन्त्य होला र खै ?’

दशैं तिहारमा नेपाल फर्किंदा हरेकपटक सीमामा तैनाथ प्रहरीलाई पैसा दिन परेको उहाँको गुनासो छ । ‘दुईसय रुपैयाँ दिएर पो हजुर सीमाभन्दा अगाडि आउन पाएको’ छेवैमा उभिएकी कृष्णकी श्रीमती पार्वती विष्टले भन्नुभयो, ‘सीमामा तैनाथ सुरक्षाकर्मीलाई पैसा दिन सके मात्र होः नत्र झोलामा बोकेर ल्याएका सबै सामान उनीहरुले खोलेर फालिदिन्छन् ।’

उहाँले अगाडि थप्नुभयो, ‘देशमा रोजगारी नपाएर हामी परदेश जान्छौं । त्यहाँबाट कमाएकोे पैसामा पनि अरुको अंश छुट्टाउनु पर्ने ।’ 

सुदूरपश्चिमका धेरै बासिन्दा गुजाराको लागि भारतमा काम गर्न बाध्य छन् ।  उनीहरु चाडपर्वका बेला विदा लिएर घर फर्कन्छन् । चाडपर्व मनाएर फेरि भारत नै जान्छन् । 

नयाँ वर्ष मनाउन त्रिनगर नाका भएर नेपाल फर्कर्दै गरेका महेन्द्र नागरीले भन्नुभयो, ‘देश संघीय संरचनामा गएपछि गाउँमै, नभए प्रदेशमै रोजगारी पाइन्छ भन्थे नेताहरु, तर देशमै रोजगारी त परको कुरा, आफ्नै गाउँ फर्किंदा पनि दुःख भोग्नुपर्छ ।’ 

रोजगारीका लागि भारतबाहेक अर्को विकल्प नदेखेका सुदूरपश्चिमका धेरै नागरिकलाई पहिले देशमै काम पाइएला भन्ने आश थिएन । तर, भारतमा लामो समय रोजगारी गरेका त्रिलोचन भट्ट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि धेरैले स्वदेशमा रोजगारी पाउने आशा गरे । मुख्यमन्त्री भट्टले धेरैपटक भाषणमा पनि दोहोर्याउनुभएको थियो कि अब भारतमा रोजगारीका लागि जाने सुदूरपश्चिमका नागरिकलाई प्रदेशमै रोजगारी सृजना गर्छौं ।’ 

‘रोजगारी त के पाउँथ्यो, नेपाल आउन सहज वातावरण बनाइदिए मात्रै पनि हुन्थ्यो’ भारतबाट फर्किर्दै गरेका डोटीका रन्नी नेपालीले भन्नुभयो, ‘यो पालि सीमाका नेपाली सुरक्षाकर्मी दाजुभाइले पैसा नखाए पनि भारतीय सुरक्षाकर्मीले छोडेन ।’

‘भारतीय सुरक्षाकर्मीले दुईपटक सय, सय रुपैयाँ माग्यो : पैसा नदिए झोलाका सबै सामग्री निकाल्छु भन्यो रन्नीले आफ्नो दुखेसो पोख्नुभयो । 

अहिले दिनहुँ भारतबाट रोजगारी गरेर नयाँ वर्ष मनाउन घर आउनेहरुको कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा भीड लागेको हुन्छ ।  

भारतबाट नेपाल आउँदै गरेकी एकजना महिला गुनासो गर्दै थिइन् ‘हाम्रो पीडा कसलाई सुनाएर के हुन्छ र ? पत्रकारहरु लेख्दै गर्छन्, नेताले भाषण दिंदै गर्छन् । अनि हाम्रा दुःख सधैं । अहिले आउँदा पनि सीमामा रहेका भारतीय प्रहरीले पैसा लिइहाल्यो, कुरा अरुलाई सुनाएर के गर्ने ।’ 

‘पहिलेको जस्तो बाटोमा आउँदा लुटिने क्रम घटेको भए पनि सीमानाकामा सास्ती अझै उस्तै छ'  भारतबाट आउनेहरुको भिडमा रहेका महेन्द्रनगरका सन्तोष बिष्टले भन्नुभयो, ‘सुरक्षाकर्मीलाई पैसा नदिंदासम्म उनीहरुले दुःख दिइरहन्छन्  । उनीहरुको चर्को बोली र रुखो व्यवहार सहनुभन्दा बरु पैसा नै दिन सजिलो हुन्छ ।’

भारतबाट आएका आफन्त लिन कैलालीको त्रिनगर नाका पुग्नुभएका अछामका पुरन विष्टले भन्नुभयो, ‘भारतीय ५० रुपैयाँदेखि सुरु भएर व्यक्तिपिच्छे उनीहरुले दुईसय रुपैयाँसम्म लिइरहेका हुन्छन् । नेपाली प्रहरी सामु नै भारतीय प्रहरीले नेपालीलाई लुटेका छन्, नेपाली प्रहरी मुकदर्शक बनेर बसेका हुन्छन् ।’ 

चार वर्षपछि नयाँ वर्ष मनाउन जन्मथलो अछाम फर्कन लागेका यकेन्द्र भुलको गुनासो पनि अरुको भन्दा फरक छैन । ‘घर परिवारसँग बसेर नयाँ वर्ष मनाउन पाइन्छ भनेर खुशी हँुदै यसपालि नेपाल फर्किएको, तर नाका पार गर्नै धेरै दुःख झेल्नुपर्यो’ उहाँले भन्नुभयो ‘नेपालको राजनीतिक संरचना परिवर्तन भए पनि सीमामा नेपाली कामदारले पाउने पीडा अझै उस्तै रहेछ ।’

‘हामी चर्को घाममा पोलिएर एक एक पैसाका लागि पसिना बगाउँछौं, उनीहरु कति सजिलै हामीबाट पैसा लिन्छन्’ यकेन्द्रले दुःख व्यक्त गर्दै भन्नुभयो, ‘धन्न हो हाम्रो सरकार जो नागरिक खुलेआम लुटिंदा पनि मुकदर्शक बनेर बसेको छ ।’  

यस्तै आक्रोश छ, भारतबाट फर्किंदै गरेकी विष्ना भुलको पनि । ‘भारतमा दुःख गरेर कमाएको पैसा पनि सीमामा लुटिदिन्छन् । यो समस्याबाट कहिले छुटकारा पाइएला खै’ उहाँले भन्नुभयो ।

तीन वर्षदेखि परिवार छोडेर पैसा कमाउन मुम्बई गएका कमलसिंह साउदले भन्नुभयो, ‘वर्षौंपछि परिवारसँग बसेर नयाँ वर्ष मनाउन पाइने कुरा धेरै खुशी लागेको छ । तर सीमामा हामी नेपाली कामदारले बिना अर्थमा सधैं पाउने सास्ती सम्झेर दुःख लागेको छ ।’ उहाँले थकित मुद्रामा भन्नुभयो, ‘अब त नेता र देशको नेतृत्वकर्तासँग कुनै आशा र भरोसा छैन ।’

भारतमा रोजगारी गरेर घर फर्किने नेपाली लुटिने कुरा यो पटक मात्र होइन । वर्षभरि दुःख गरेर चाडपर्वका बेला घर फर्किरहेका नेपालीले हरेकपटक सीमा नाकामा यस्तै सास्ती व्यहोर्नुपर्छ । भारतीय सुरक्षाकर्मीलाई पैसा खुवाउनुपर्छ । घरपरिवारसँग बसेर नयाँ वर्ष मनाउन पाइन्छ भनेर खुशी बनेका नेपालीहरु सीमा नाकामा हुने सास्तीका कारण त्रसित हुन्छन् ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया