प्रदेश–३ मन्त्रिपरिषदको बैठक : महिला तथा बाल स्वास्थ्य प्रवर्द्धनका लागि अनुदान स्वीकृत, सञ्चार रजिष्ट्रारमा पत्रकार सापकोटा

 चैत २७, २०७५ बुधबार ११:३९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – प्रदेश नम्बर– ३ मन्त्रिपरिषदको बैठकले बुधबार पाँच वटा निर्णय गरेको छ । प्रदेश सरकारको बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रवर्द्धनका लागि साना योजना कार्यक्रम अनुदानसम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको छ । 

बैठकले मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यान्वयनसम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री तथा सरकारका प्रवक्ता कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

बारा र पर्सामा हावाहुरीका कारण पीडित परिवारलाई यस अघिको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार नगद स्वरुप प्रदेश २ सरकारको खातामा एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । यसैगरी बैठकले नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धनसम्बन्धी प्रदेश स्तरीय कार्यविधि स्वीकृत गरेको छ । प्रदेश जलचर संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि बैठकले स्वीकृत गरेको ढुंगेलले बताउनुभयो ।

प्रदेश –३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश रजिष्ट्रारको नियुक्ति समेत गरेको छ । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रेस रजिष्ट्रारको नियुक्ति गरेको हो । यस प्रदेश अन्तर्गतका सबै खाले मिडियालाई हेर्ने गरी प्रेस रजिष्ट्रार नियुक्त गरिएको हो ।  

प्रदेश ३ को प्रेस रजिष्ट्रारमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी गाउँपालिका वडा नम्बर ४ का पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकटेलले बताउनुभयो ।

विगत २० वर्षदेखि पत्रकारितामा आवद्ध रहनुभएका सापकोटाले पत्रकारितामा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ ।

 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया