विभिन्न माग राख्दै राष्ट्रिय जनता पार्टीले देशैभर प्रदर्शन गर्ने

 चैत २७, २०७५ बुधबार १९:७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय जनता पार्टीले पूर्व न्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै देशैभर प्रर्दशन गर्ने तयारी गरेको छ ।

मंगलबार र बुधबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले लाल आयोगको छानबिन प्रतिवेदन सार्वजनिकलगायतका माग गर्दै यही शुक्रबार सबै जिल्लामा विरोध प्रर्दशन, कोणसभा गर्ने गरी पार्टीभित्र आन्तरिक सर्कुलर जारी गर्ने निर्णय गरेको हो । 

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको राजपाले सरकारलाई दबाब दिन सडक संघर्षको कार्यक्रम तय गरेको हो । राजपाले संविधान संशोधन, जेलमा रहेका रेशम चौधरीलगायत आन्दोलनकारीको तत्काल रिहाई, आन्दोलनकारी माथिको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न माग गरेको छ । 

त्यसैगरी राजपाले भ्रष्टाचारी, कालोबजारी, मंहगी, बेरोजगारी अन्त्य गर्न, राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर्न तथा राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द लगायतका ९ बुँदे माग अघि सारेको छ । पार्टीको महाधिवेशनको तयारीका बारेमा छलफल गर्न बसेको बैठकले मुलुकभर प्रर्दशन गर्ने गरी पार्टीको तल्लोतहसम्म सर्कुलर जारी गर्ने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिनुभयो ।

महासचिव झाका अनुसार अध्यक्ष मण्डलको बैठक बिहीबार पनि बस्नेछ । बैठकमा महाधिवेशनका सम्बन्धमा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीका तर्फबाट प्रस्तुत तीन विकल्पका बारेमा छलफल चलिरहेको छ ।

संयोजक भण्डारीले पार्टीको तल्लो तहदेखि विधान संशोधन गर्दै महाधिवेशन सम्पन्न गर्नका लागि कम्तीमा ४ महिना महाधिवेशनको समय सार्ने, वडा अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तथा एकता वा विशेष महाधिवेशन गर्ने गरी तीन विकल्प अघि सार्नुभएको छ  । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया