बिस्केट जात्रा : तौमढीबाट तानिएको भैरवको रथ दत्तात्रय पुग्यो

 चैत २७, २०७५ बुधबार २०:८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधि अनुसार मनाइने प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्राको पहिलो दिन आज भैरवको रथ तानिएको छ । 

आज अपरान्ह ४ बजेदखि तौमढीबाट हजारौको संख्यामा भेला भएका मानिसहरुले रथ तानेर जात्रा सुरु गरिएको हो । 

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँचदिनसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका नेवार समुदायले आठ रात नौ दिनसम्म मनाउने गर्दछन् । बिस्केट जात्राको पहिलो दिन बिहानैदेखि भैरव र भद्रकालीको पूजा गरी दिउँसोबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा रहेको छ ।

तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले तानेर आ–आफ्नो क्षेत्रमा लैजान परम्परा छ । रथ तौमढीबाट तानेर मासिथल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोल्मढी हुदै दत्तात्रय पुर्‍याइएकाे छ । रथलाई यहाँबाट तानेर आजै रातिसम्म गःहिटी पुर्‍याएपछि पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ ।

जात्रालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । जात्रामा भक्तपुर जिल्लाका साथै काठमाण्डौबाट मगाइएका सुरक्षाकर्मी, सशस्त्र प्रहरी र नेपाली सेनामा सुरक्षाकर्मी र सादा पोशाकका प्रहरी गरी पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । 

ढुङ्गा हानाहान हुने र अन्य ज्यानै जाने दुर्घटना हुनसक्ने तर्फ सुरक्षाकर्मी सचेत रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

जात्रा आगामी वैशाख ५ गते सम्पन्न हुनेछ । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया