बजेट अभावले गैँडा गणना नहुने

 चैत २८, २०७५ बिहिबार १०:२८:३८ | रासस
unn.prixa.net

चितवन – नेपालका निकुञ्ज तथा वन क्षेत्रमा यस वर्ष गैँडा गणना नहुने भएको छ । सन् २०१५ मा गैँडा गणना गरिएको थियो । यस वर्ष गणना गर्ने भनिएको भए पनि बजेट अभावका कारण गणना नहुने भएको हो ।

हरेक चारदेखि पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीमा बाढी आउंँदा धेरै गैँडालाई बगाएको थियो । दश गैँडा भारतबाट उद्धार गरिएको थियो भने कम्तीमा तीन गैँडा अझै भारतमा छन् । बाढीले कतिपय गैँडा मरेको र निकुञ्जमा तितरवितर हुंँदा प्राकृतिक कारणले धेरै गैँडा मरेका छन् । वास्तविकता थाहा पाउनका लागि यसै वर्ष गणनाको तयारी गरिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बजेटको अभावमा यस वर्ष गैँडा गणना नगरिएको बताउनुभयो । उहांँले भन्नुभयो, “तयारी पुगेन । बजेट पनि भएन ।” विभागले दाताको भर परेको भए पनि आवश्यक बजेट नपाएपछि गणना नगरिएको हो । खड्काका अनुसार गैँडा कार्ययोजनामा चारदेखि पांँच वर्षमा गैँडा गणना गर्नुपर्ने भनिएको हुंँदा आउंँदो वर्षको सरकारी बजेटमा रकम विनियोजन गरेर पांँचौँ वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी गरिएको छ । मन्त्रालयले अर्को वर्ष गणनाका लागि बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अप्रिलको पहिलो साताभित्र गणना थालिसक्नुपर्ने हुन्छ । गणनाका लागि करिब एक महिना समय लाग्छ । आउंँदो महिनाबाट घांँस र बुट्यान बढ्ने भएकाले गणना कठिन हुने उहांँले बताउनुभयो । बाढीपछिको अवस्था थाहा पाउनका लागि संरक्षणकर्मीले पनि यसै वर्ष गैँडा गणना गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपालमा सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । सन् २०१५ मा भएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखिएका थिए । पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित ६४५ गैँडा रहेका थिए । सन् २०१५ को गणनापछि बर्दिया र शुक्लाफाँटामा चितवनका गैँडा स्थानान्तरण गरिएको थियो  । पछिल्ला वर्षमा शिकारीले गैँडा मार्न नपाए पनि प्राकृतिक कारणले धेरै गैँडा मरेका छन् । चालू आर्थिक वर्षमा निकुञ्जमा ४१ गैँडा प्राकृतिक कारणले मरेका छन् । कतिपय गैँडा निकुञ्जको भित्री भागमा मरेको भए पनि पत्ता लाग्दैन ।

गैँडाको संरक्षण र गणनामा हरियो वन, जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल (जेडएसएल नेपाल), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) लगायतले सहयोग गर्दै आएका छन् । गैँडा गणनामा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने गर्छ । दाताले  खर्च दिन नसकेपछि गणनाका लागि अर्काे वर्ष कुर्नु परेको हो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया