नेपाल एकीकरणमा नेपाली सेनाले उल्लेखनीय काम गरेको छ : प्रधानमन्त्री ओली

 चैत २८, २०७५ बिहिबार १३:५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताउनुभएको छ । सैनिक अधिकृतहरुको दीक्षान्त समारोहको बिहीबार खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकीकरणमा नेपाली सेनाको उल्लेखनीय भूमिका भएको धारणा राख्नुभएको हो । 

प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढाइएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकीकृत गरी नेपाल निर्माण गरेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितको काममा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गरेको स्पष्ट पार्नुभएको छ । “नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।”

प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश अहिले स्थायित्वको जगमा सुदृढ, सुव्यवस्था र तीव्र विकासको बाटोबाट अघि बढेको बतउनुभयो । “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा उत्पन्न हुन सक्ने सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र सुरक्षा निकाय समेत सदैव सजग र सतर्क रहनु पर्ने बताउनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया