फोहोरसँग खेलेको २० वर्ष : न घिन, न रोग

 चैत २८, २०७५ बिहिबार १३:२७:४८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

‘फोहोर कुहिएर जमेको हिलोमा शरीर डुब्दा पनि केही भएन, सायद मनैदेखि सरसफाइ गर्दै छु भन्ने भाव भएर होला’ सरसफाइ अभियन्ता माला खरेलले उत्साहित हुँदै थप्नुभयो, ‘न चिसो लाग्यो, न त कुनै रोगले छोयो, फोहोरसँग खेलेको २० वर्ष पुग्यो केही असर देखिएको छैन ।’

२० वर्ष अघिदेखि सरसफाइका लागि सचेतनामूलक कार्यक्रममा सहभागी बन्दै आउनुभएकी माला खरेल बागमती सरसफाइ महाअभियान सुरु भएको दिनदेखि नै सहभागी हुनुहुन्छ । गएको शनिबार ३०८ हप्ता पूरा गरेको बागमती सफाइअभियानमा उहाँ हरेक हप्ता पुग्नुभएको छ । 

‘सुरुमा बागमती निकै फोहोर थियो’, माला सम्झनुहुन्छ ‘पानी जमेको जस्तै थियो, किनारभरी दिसा हुन्थ्यो कति कुल्चियो कति !, एक पटक त फोहोर तान्दा मानिसको शव पनि समातिएछ तर पनि घिन लागेन, म सोच्थें सफा गर्न आएको छु, जसरी पनि गर्छु ।’ कहरले नभई रहरले गएको कारण मनैदेखि जाँगर चलेको खरेल बताउनुहुन्छ । 

सरसफाइ अभियानहरु बागमतीलगायत धेरैतिर सुरु हुने र रोकिने क्रम थियो । तर बागमतीमा रोकिएन । अहिले पनि उस्तै जाँगरका साथ अभियान चलिरहेको छ । अहिले त बागमती सरसफाइ अभियानकै सिको गर्दै देशका एक सयभन्दा धेरै ठाउँमा साप्ताहिक सरसफाइ अभियान चलिरहेको देख्दा मालाको मनमा जाँगर थपिन्छ ।

बागमतीमा हरेक हप्ता फोहोर टिप्न मात्र हैन, उहाँ सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रममा सहभागी पनि बन्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ ‘जबसम्म व्यक्ति सचेत बन्दैन कसैले गर भनेर मात्र हुँदैन, व्यक्ति नै सचेत हुने हो भने फोहोर व्यवस्थापनमा कुनै समस्या नै हुन्न, गाउँ सहर सफाचट हुन्छन् ।’ सचेत नहुञ्जेलका लागि भने कारबाही गर्नुपर्ने भन्दै माला भन्नुहुन्छ ‘जसरी मापासे कारबाहीका कारण जाँडरक्सी खाएर गाडी चलाउनेको संख्या घटेको छ, त्यसैगरी कारबाही गरेमा जथाभावी फोहोर फ्याँक्ने क्रम पनि रोकिन्छ ।’

बागमतीमा मिसाईएको ढल हटाउने काम अन्तिम चरणमा पुगेको र थुप्रिएको फोहोर पनि कम हुँदै गएकोले बागमती सफा हुने क्रममा रहेको उहाँ बताउनुहुन्छ । तर बागमतीमा पानी बग्न भने पाउनुपर्ने उहाँको भनाइ छ । 

‘घरको फोहोर फ्याँक्दिन’

झण्डै दुई दशकदेखि नै आफूले घरबाट निस्किने फोहोर आफैले व्यवस्थापन गर्दै आएको मालाले बताउनुभयो । ‘घरमा दुई वटा भाँडो राखेको छु, एउटामा कुहिने फोहोर राख्छु, अर्कोमा नकुहिने’ उहाँले थप्नुभयो, कुहिने फोहोरवाट मल बनाएर कौसीमा तरकारी खेती गरेकी छु, नकुहिने फोहोर कवाडी संकलन गर्नेलाई बिक्री गर्छु ।’

सुरुमा छिमेकीका दुई घरबाट समेत कुहिने फोहोर ल्याएर मल बनाउने गरेको बताउने माला अहिले छिमेकीहरुले पनि कौसीमा तरकारी खेती गरेर कुहिने फोहोर तह लगाउने गरेको बताउनुहुन्छ । यसबाट आम्दानी पनि भएको छ र फोहोर व्यवस्थापन पनि भएको छ । दोहोरो फाईदा लिईरहेको बताउने माला सबैले घरमै फोहोरलाई बर्गिकरण गरेर व्यवस्थापनको पहल गरेमा जथाभावी फ्याँकिने फोहोरको समस्यासँगै फोहोर संकलन, ल्याण्डफिल्ड साइटलगायतका समस्या पनि हट्ने बताउनुहुन्छ ।

फोहोर वर्गिकरणलाई प्राथामिकता
 
अहिले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । गाउँपालिका र नगरपालिकाले आफ्नो क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मेवारी निर्वाह गरिरहेका छन् । तै पनि धेरैले यो विषयलाई प्राथामिकतामा नदिएकोे देख्दा उहाँलाई चिन्ता लाग्छ । 

श्रोत र अधिकार सम्पन्न स्थानीय तहले चाहेमा सजिलैसँग फोहोर व्यवस्थापन गर्न सक्ने उहाँको भनाइ छ । त्यसको लागि घरमै फोहोरको बर्गिकरण गर्ने सीप सिकाईनुपर्छ । आवश्यक पर्ने भाँडा स्थानीय तहले दिएर उत्साह थप्न सक्छन् । अनि कुहिने फोहोर घरमै मल बनाउने बिधि सिकाइनु पर्ने र नकुहिने फोहोर संकलनका लागि कवाडी व्यवसाय संचालनको लागि प्रोत्साहन गर्ने वा आफैंले स्थानीय तह संकलन गरेर बिक्री गर्न सक्ने उहाँ बताउनुहुन्छ । 

बजार क्षेत्रमा फोहोर संकलन गर्न जाँदा पनि कुहिने र नकुहिने फोहोर संकलनका लागि छुटाछुटै गाडीको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । सरसफाइ अभियन्ता माला खरेल भन्नुहुन्छ ‘छुट्टाछुट्टै संकलन र व्यवस्थापन गर्ने हो भने अहिलेको जस्तो सडक र नदी किनारमा फोहोर जम्मा हुने, ल्याण्डफिल्ड साईटको समस्या हुने जस्ता समस्या कम हुँदै जान्छ । सडक, नदी तथा वातावारण सफा हुन्छ ।’ विद्यालय तहमा फोहोर व्यवस्थापनबारे पढाउनुपर्छ । 

सरसफाइ अभियानमै दुई दशक बिताइसक्नुभएकी माला खरेल सरसफाइ सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालनको लागि धेरै ठाउँमा पुग्नुभएको छ । धेरै कुरा सिक्नुभएको छ र सिकाउनु भएको पनि छ । उहाँ भन्नुहुन्छ, ‘सरसफाइको लागि सबैभन्दा ठूलो कुरा व्यक्ति सचेत हुनुपर्छ, तत्कालका लागि कारबाहीको व्यवस्था आवश्यक भए पनि दीगो व्यवस्थापनका लागि चेतनामूलक कार्यक्रम नै आवश्यक हुन्छ ।’

फोहोर व्यवस्थापनका लागि बालबालिकालाई सिकाउनु बढी प्रभावकारी हुने अभियन्ता माला बताउनुहुन्छ । उहाँ भन्नुहुुन्छ ‘साना बालबालिकाले पढ्ने पाठ्यक्रममा फोहोर व्यवस्थापनका कुरा राखिदिएमा त्यो निकै प्रभावकारी हुन्छ, शिक्षक/शिक्षिकाले भनेको कुरा बालबालिकाले बढी विश्वास गर्छन्, उनीहरुले घरमा आएर अभिभावकलाई भन्छन् र आफू पनि व्यवहारमा उतार्छन् ।’

सरसफाइ गर्ने मान्छे देख्दा खुसी

दुई दशकदेखि सरसफाइको क्षेत्रमा काम गर्दै आउनुभएकी माला खरेल बाटो, नदी वा सार्वजनिक ठाउँमा फोहोर देख्दा निकै चिन्ता लाग्ने गरेको बताउनुहुन्छ । कतिले त घरको गेट अगाडितिर पनि फोहोर फ्याँकेका हुन्छन् । यो देख्दा रिस पनि उठ्छ । खरेल भन्नुहुन्छ, ‘अघिल्लो हप्ता नदीको फोहोर टिप्यो, अर्को हप्ता जाँदा फेरि फोहोर थुप्रिएको हुन्छ, यो देख्दा ज्यादै दुःख लाग्छ ।’ 

उहाँ अरु अभियन्ताहरुसँगै बागमतीमा हरेक शनिबार बिहान सातबजे सरसफाइका लागि पुग्नुहुन्छ । ‘त्यसरी जाँदा मानिसको भिड देख्दा निकै खुशी लाग्छ, मानिसको संख्या कम देख्दा मन खल्लो लाग्छ अनि भिड देखें भने मन उत्साहित हुन्छ । सरसफाइको लागि मानिसको सहभागीता जति बढ्छ त्यत्ति चाँडै वातावारण सफा हुन्छ’ उहाँ भन्नुहुन्छ ।

अभियन्ता माला भन्नुहुन्छ ‘सफा राख्नको लागि मनैदेखि सफाको भाव जाग्नुपर्छ, मनले सफा गर्नुपर्छ भन्यो भने शरीर आफै काममा निस्कन्छ । फिल्डमै जानुपर्छ भन्ने हैन आफ्नो घरबाट उत्पन्न हुने फोहोर आफैले व्यवस्थापन गर्ने हो भने त्यो ठूलो योगदान हुन्छ ।’ 

अन्तिम अपडेट: चैत ३०, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया