विद्यालय निर्माणका लागि विदेशबाट पठाइएको सहयाेग रकम पार्टी कार्यकर्ताको स्मृति खातामा

 चैत २८, २०७५ बिहिबार १४:५५:२५ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं–५, सत्यदेवीमा रहेको बच्छलादेवी मावि निर्माणका लागि विदेशी दाताले पठाएको रकम हिनामिना भएको छ ।

रकम विद्यालयको खातामा नआइ पार्टी कार्यकर्ताको नाममा रहेको स्मृति खातामा गएपछि गाउँबासी रुष्ट भएका हुन् । 

खनियाबास गाउँपालिका अध्यक्ष नै अध्यक्ष रहेको दामन पाख्रिन स्मृति प्रतिष्ठानको खातामा अष्ट्रेलियाबाट पठाइएको २० लाख रुपैयाँ जम्मा गरिएको तथ्य बाहिर आएको हो । 

०७२ वैैशाख १२ को भूकम्पमा विद्यालय भत्किएपछि अष्ट्रेलियन नागरिक मोयलया तोकमक (ःइथ्ब्ीक्ष्ब् त्इप्ःब्प्) ले सत्यदेवी भ्रमण गरी विद्यालय निर्माणका लागि अष्ट्रेलियन ३० हजार डलर सहयोग गर्ने बचनवद्धता दिएका थिए । 

मोयालियाले २० हजार अष्ट्रेलियन डलर पठाएको र रकम विद्यालयको खाता नदिइ गाउँकै दामन पाख्रिन स्मृति प्रतिष्ठानको खातामा जम्मा गराइएको र विद्यालयको खातामा ल्याउन पटक पटक माग गर्दा समेत नल्याएको विद्यालय व्यवस्थापन समितिका सदस्य निकिता तामाङले बताउनुभयो । 

पाहुनाले विद्यालय निर्माणका लागि रकम पठाएको बताइए पनि ३ वर्ष भइसक्दा समेत विद्यालय बनाउने रकम विद्यालयको खातामा नआएको विद्यालयका प्रधानाध्यापक बमबहादुर तामाङले बताउनुभयो । 

६ सय १६ विद्यार्थी अध्यायनरत बच्छलादेबी मावि रकम अभावमा निर्माणमा ढिलाइ भएपछि हालसम्म समेत जोखिमपूर्ण तरिकाले कच्ची भवनमै बसेर पढ्न बाध्य भएका छन् । 

अष्ट्रेलियन दाताले उपलब्ध गराएको रकमबाट विद्यालय निर्माण भएको भए सो बारे जानकारी दिन दाताले पटक पटक आग्रह गरेको भएपनि विद्यालय निर्माण नभएपछि अभिभावकहरु रुष्ट भएको अभिभावक निकिता तामाङले जानकारी दिनुभयो । 

विद्यालयका लागि आएको रकम दामन पाख्रिन स्मृति प्रतिष्ठानको खातामा गएकोसम्बन्धी विषयमा जिज्ञासा राख्दा प्रतिष्ठानका अध्यक्ष एवं खनियाबास गाउँपालिकाका प्रमुख रणबहादुर तामाङले प्रतिष्ठानको खातामा रकम आएको र विद्यालयलाई आवश्यक परेको बेला उपलब्ध गराउने बताउनुभयो । 

दामन पाख्रिन सेती प्रतिष्ठान नेपाली कांग्रेसका नेता दामन पाख्रिनको नाममा कांग्रेस कार्यकर्ताहरुले स्थापना गरेका हुन् । 
 

अन्तिम अपडेट: चैत १९, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया