डोटीमा एचआईभी संक्रमितकाे संख्या बढ्दाे

 चैत २८, २०७५ बिहिबार १६:४७:३९ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटी जिल्लामा पछिल्लो समय थुप्रै संख्यामा एचआईभी संक्रमितहरु रहेको तथ्यांक सार्वजनिक भएकाे छ ।

जिल्ला अस्पताल डोटीमा रहेको तथ्यांङ्क अनुसार जिल्लाभरमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआईभीको संक्रमण रहेको पाइएको छ । जसमध्ये ५० जना बालबालिका रहेका छन् । यो संख्या जिल्ला अस्पतालमा औषधी उपचार गराउन आउनेहरुको मात्रै भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर भुषण मिश्रले बताउनुभयो ।

अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो संख्यामा वृद्धि हुनसक्ने उहाँकाे अनुमान छ । जिल्ला अस्पताल डोटीको एआरटी सेन्टरले दिएको जानकारी अनुसार  डोटीमा एचआईभी संक्रमितहरुको संख्या ९८० रहेको छ ।

एचआईभी संक्रमितमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । तीमध्ये ५७० महिला, ३६० पुरुष ५० जना बालबालिका रहेका छन् ।

समाजले हेलाँ गर्ने डरले एचआईभी संक्रमित महिलाहरु खासै खुलेर भन्न नसक्ने तथा उपचार गराउन नआउने गरेका कारण जिल्लामा एचआईभी संक्रमण बढी रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्ला अस्पतालमा एचआइभी संक्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण अर्थात एआरटी शाखा तथा परामर्श शाखामा अहिले कम्तिमा पनि ५१८ जना नियमित रुपमा सम्पर्कमा रहेर औषधि सेवन गरिरहेको शाखाका काउन्सिलर केपी रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी ११ जना थपिएका छन् भने १०-१५ वर्ष अगाडिदेखि पनि एचआईभी संक्रमितहरु जिल्ला अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गर्ने गर्दथे । जनचेतनाको अभाव, भेदभाव र लाञ्छनाका कारण एचआईभी संक्रमितहरु चिकित्सक तथा स्वास्थ्यसंस्थाको सम्पर्कमा आउन नसकेकाले यो संख्या अझै बढ्न सक्ने अनुमान डाक्टर मिश्रको छ ।

जिल्लामा एचआईभीको रोकथामकालागि बिभिन्न संघसंस्थाले काम गरिरहे पनि रोकथाम गर्न सकिएको छैन । डोटीमा एचआईभीका कारण हालसम्म कति जनाले ज्यान गुमाए भन्ने विषयमा यकिन तथ्यांक नभए पनि कम्तीमा १०० जना भन्दा बढीले ज्यान गुमाइसकेको हुनसक्ने एचआईभीको क्षेत्रमा काम गर्ने संस्थाहरुको अनुमान रहेको छ ।  

कामका लागि भारत गएका श्रीमानले असुरक्षित यौन सम्पर्कबाट संक्रमणमा पर्ने र पछि घरमाआई श्रीमतीलाई सार्ने गरेको एचआईभीको क्षेत्रमा कामगर्ने संस्थाहरुको भनाइ छ ।

एचआईभी पीडित भएका यहाँका महिलाहरुले समाजको भेदभावको समेत सामना गर्नु परिरहेको एचआईभीको क्षेत्रमा कामगर्ने सँस्था सीडीएफका शिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, श्रीमानको गल्तिले सरेको रोगको सामना श्रीमतीले गर्नुपरेको छ ।

एचआईभी संक्रमित भएर भारतबाट घर फर्केकाहरु समेत उपचारपछि पुनः काम गर्न भारत जाने क्रम समेत बढेको छ । केही एचआईभी संक्रमित एकल महिलाहरु विभिन्न सँस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमबाट तालिम लिएर आय आर्जनमा सक्रिय हुन थालेका छन्, भने कोही समाजको डरले गाउँघरमै बसेर रोग लुकाउन बाध्य भएका छन् ।

समग्र सुदूरपश्चिम प्रदेशमा ६ हजार ७२४ जनामा एचआईभी संक्रमण रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म सुदूरपश्चिम भरमा ३ हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् । 

‘आर्थिक वर्ष २०७४-०७५ सम्मको तथ्यांङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा ६७६ जनाले एचआईभी-एड्सका कारण ज्यान गुमाई सकेका छन’, जनस्वास्थ्य अधिकृत मलासीले भन्नुभयो, ‘यो प्रदेशमा गएको आर्थिक वर्षमा मात्रै २४७ जना नयाँ संक्रमित देखिएका छन्,बर्सेनि एचआईभी रोगीहरु बढिरहेका छन् ।’

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एचआईभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा स्थापना भएका छन् । एआरटी सेवन गर्नेहरुले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको जनाइएको छ । स्थानीय सरकारले सुदूरपश्चिम प्रदेशका एचआईभी संक्रमितहरुलाई सहयोग गर्न नसकेको संक्रमितहरुले गुनासो गरेका छन् ।

एचआईभी संक्रमित कमला मल्लले डोटी जिल्लामा पछिल्लो समयमा खुलेर आउने एचआईभी संक्रमितको संख्या बढ्दो भएपनि स्थानीय सरकारले कुनै ठाउँमा पनि खासै गतिलो सहयोग गरेको नदेखिएको आरोप लगाउनुभयो । स्थानीय सरकारसँग हामीले प्रस्ताव लिएर जाँदा तपाइँहरु त डलरको खेती गर्न सक्ने हामी के सहयोग गर्न सक्छौँ भनेर उल्टै जवाफ दिने गरेको समेत उहाँले बताउनुभयो ।

‘हामी त संक्रमित भइसकेका छौँ, अब हाम्रो लागि नभए पनि हाम्रा छोरा छोरीहरुको भविष्यको लागि भए पनि स्थानीय सरकारले सोच्नुपर्छ’, उहाँले भन्नुभयो, ‘सरकारले संक्रमित बचाउनको लागि विशेष कार्यक्रम बनाउनु पर्छ ।’

यतिमात्र नभइ डोटीमा कतिपय एचआईभी संक्रमित एकल महिलाहरु आफू र बालबच्चा कसरी हुर्काउने भनेर चिन्तित हुने गरेको बताउँछन् ।

अन्तिम अपडेट: चैत १, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया