विकिलिक्सका संस्थापक जुलियान असान्ज लण्डनबाट पक्राउ

 चैत २८, २०७५ बिहिबार १६:७:३६ | रासस
unn.prixa.net

बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियान असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ । 

इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ । प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर मेजिस्ट्रेटसमक्ष प्रस्तुत गरिने जनाएको छ । 

असान्ज सन् २०१२ को अगष्टदेखि लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएर बसेका थिए । राजदूतावासबाट बाहिर निस्किए आफूलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिने खतरा रहेको उनले दाबी गर्दै आएका थिए । 

उनीमाथि अमेरिकी हजारौं वर्गीकृत सैनिक तथा कुटनीतिक केबल (पत्राचार) विकिलिक्स मार्फत सार्वजनिक गरेको आरोप छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया