ओझेलमा पर्दै लमजुङमा भलिबल खेल

 चैत २८, २०७५ बिहिबार १८:१५:३२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको माटोले थुप्रै उत्कृष्ट भलिबल खेलाडी उत्पादन गरेको ज्युँदो इतिहास छ । 

दीपक थापा, कुमार गुरुङ र ईश्वर श्रेष्ठलगायत थुप्रै उत्कृष्ट भलिबल खेलाडी उत्पादन गरेको छ, लमजुङको माटोले । तर पछिल्लो समय जिल्लाबाट व्यावसायिक भलिबल खेलाडी खासै उत्पादन हुन सकेका छैनन् ।

पछिल्लो समय जिल्लाका गाउँ–गाउँमा फुटबल खेलको विकास भइरहेको छ । व्यावसायिक फुटबल खेलाडी पनि उत्पादन भइरहेका छन् । तर तुलनात्मक रुपमा भलिबल खेलको विकास हुन सकिरहेको छैन । व्यावसायिक खेलाडी उत्पादन हुन सकेको छैन ।

जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष गोविन्द बस्नेतका अनुसार विगतमा जिल्लामा रहेका विभिन्न विद्यालयहरुमा भलिबल खेल हुन्थ्यो । ठाउँ–ठाउँमा प्रतियोगितात्मक भलिबल खेल सञ्चालन हुन्थ्यो । ‘पहिले जिल्लाबाट थुप्रै राम्रा भलिबल खेलाडी पनि उत्पादन भएकै हो । तर पछिल्लो समय त्यस्तो छैन’, उहाँले भन्नुभयो ।  पछिल्लो समय जिल्लामा फुटबल खेलको विकाससँगै भलिबल खेल ओझेलमा पर्दै गएको पनि उहाँले बताउनुभयो ।

यसैगरी, उहाँले जिल्लामा कुनै पनि खेल प्रशिक्षक नरहेको बताउनुभयो ।

सानै खेल मैदानमा खेल्न सकिने भएकाले भौगोलिक हिसाबले पनि लमजुङमा भलिबल खेल उपयुक्त रहेको उहाँले बताउनुभयो । भलिबल खेलको विकासका लागि स्कुल–स्कुलमा भलिबल खेल खेलाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

‘भलिबल खेलको विकासका लागि विद्यालयमा खेल शिक्षकबाटै विद्यार्थीलाई सानैबाट भलिबल खेलाउनुपर्छ । विभिन्न अवसरमा प्रतियोगितात्मक रुपमा भलिबल खेल सञ्चालन हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘कम्तीमा यति गर्न सकिए भलिबल खेलको विकास हुन सक्छ ।’ 

विगतमा जिल्लामा लोकप्रिय बनेको भलिबल खेलको विकासका लागि अघि बढेको छ, जिल्ला भलिबल संघ, लमजुङ । लुकेर रहेका खेल प्रतिभाको प्रष्फुटनका साथै भलिबल खेलको विकासका लागि आफूहरु अघि बढिरहेको जिल्ला भलिबल संघ, लमजुङका अध्यक्ष दिवाकर बराल (वासु) बताउनुहुन्छ ।

‘जिल्लामा भलिबल खेलको विकासका लागि हामी लागिपरेका छौँ’, उहाँले भन्नुभयो, ‘अहिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगितात्मक रुपमा भलिबल खेल भइरहेको छ । खेलप्रति युवापुस्ता पनि तानिएका छन् ।’

उहाँका अनुसार जिल्लामा हुने प्रतियोगितात्मक भलिबल खेलमा संघले बल, नेट, स्कोर बोर्ड, एन्टेना, रेफ्री उपलब्ध गराउँदै आएको छ ।

भलिबल खेलको विकासका साथै उत्कृष्ट खेलाडी उत्पादनका लागि सम्बन्धित निकायले साथ–सहयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया