जनकपुरमा चैते छठकाे रौनक (फोटोसहित)

 चैत २८, २०७५ बिहिबार १९:४७:२० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - मिथिलाञ्चलमा बिहीबार चैते छठपर्व धुमधाम सँग मनाइँदैछ ।

चार दिनसम्म मनाइने चैते छठ पर्वको तेश्रो अर्थात मु्ख्य दिन आज साँझ अस्ताउदो सूर्यलाई अर्घ दिइएको छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको समापन हुन्छ । अहिले जनकपुरको गंगासागर, अंर्गजा सागर, धनुष सागर सहितका विभिन्न जलासयहरुमा चैते छठ पर्व हेर्ने दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

कार्तिकमा मनाईने छठ पर्व जत्तिकै संख्यामा श्रद्धालु भक्तजनहरु नभए पनि बिस्तारै चैती छठ पर्व मनाउनेहरुको संख्या बढ्दै गएको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ ।

खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसेर साँझपख षष्ठी देवीलाई प्रसाद चढाइ खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दूध एवं विभिन्न प्रकारका फलफुल चढाइने गरिन्छ ।  

पर्वको तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतीक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा अगाडिदेखि नै ब्रतालुहरु पोखरीमा प्रवेश गरी षष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।

अर्घमा मुला, उखु, भण्टा, ठेकुवा, भुसवा, केरा, नरिवललगायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घपछि रातभर ब्रतालुहरु जाग्राम बसेर भोलिपल्ट चैत्र शुक्ल सप्तमीका  दिन उदाउँदाे सूर्यलाई अर्घ दिइ पर्वको समापन गर्ने चलन छ ।   

चैती छठ पर्व मनाउनाले मनोकामना पूरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहिआएको छ ।

धार्मिक आस्था, विश्वास तथा सद्भावको रुपमा मनाइने यो पर्व केही वर्ष अघिसम्म मारवाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर ‍बर्सेनि यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।

 

अन्तिम अपडेट: फागुन २८, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया