बिरामीको प्रश्न : डाक्टरको माग ठूलो कि नागरिकको ज्यान ?

 चैत २८, २०७५ बिहिबार १९:३२:६ | मदन पौड्याल
unn.prixa.net

 काठमाण्डौ – मुगुको छायाँनाथ रारा नगरपालिका १४ का कन्नवीर बुढा बिहीबार काठमाण्डौको वीर अस्पताल परिसरमा भेटिनुभयो ।

अहिले उहाँ ६७ वर्ष पुग्नुभयो । चार वर्षदेखि दमको औषधि खाँदै आएका उहाँ ६÷६ महिनामा स्वास्थ्य जाँच गर्न काठमाण्डौ आउनुहुन्छ । ‘बिहान बेलुका औषधिकै भरमा बाँच्नुपरेको छ’, बुढाले भन्नुभयो, ‘कतिबेला गाह्रो हुन्छ ठेगान नै हुँदैन ।’ 

समस्या बल्झिएपछि गएको शुक्रबार काठमाण्डौ आएका उहाँले डाक्टरहरुको आन्दोलनका कारण अझैसम्म उपचार पाउनु भएको छैन । मुगुको तल्चा विमानस्थलबाट काठमाण्डौ आउन मात्रै १० हजार १ सय १५ रुपैयाँ हवाई भाडा लाग्छ । फर्कँदा त्यो भन्दा पनि अझै बढी लिने गर्छन् ।

‘आउँदा जाँदा २०÷३० हजार रुपैयाँ खर्च लाग्छ । त्यसमाथि काठमाण्डौमा हप्तादिन बस्दा आधा लाख खर्च भैसक्यो तर उपचार पाइएन’, उहाँ भन्नुहुन्छ । अस्पताल आएका आपूmजस्ता बुढाबुढी, सुत्केरी, बालबालिका सबै बिरामीले समयमै उपचार पाउनुपर्ने उहाँको भनाइ छ । डाक्टरको आन्दोलनले बेलैमा उपचार सेवा पाउने नागरिकको अधिकार खोसिएको उहाँको बुझाइ छ । 

मुगुका कन्नवीर बुढासँगै बसेका नुवाकोट बेलकोटगढी नगरपालिका–८, का शिवप्रसाद दाहालको पनि उस्तै समस्या छ । ७१ वर्षका दाहाल पनि उपचारका लागि काठमाण्डौ आएको ५ दिन भैसक्यो । गाउँघरमा भन्दा राम्रो उपचार होला भनेर आएको तर डाक्टरले नै नहेरेपछि झनै हालत खराब भएको उहाँको गुनासो छ ।

उहाँको प्रश्न छ, ‘दुख्यो, गाह्रो भयो भनेर काठमाण्डौसम्म आइपुगेँ तर डाक्टरले वास्तै गर्दैनन्, डाक्टरको माग ठूलो हुन्छ कि मर्न आँटे भनेर छटपटिँदै अस्पताल आउने बिरामीको ज्यान ?'

देशकै जेठो अस्पताल वीर अस्पताल परिसरमा कतिबेला सुनसान र कुन बेला होहल्ला हुन्छ पत्तै हुँदैन । अस्पतालको भित्तामा प्रसासन र आन्दोलन गर्ने डाक्टरले आ–आफ्ना सूचना टाँसेका छन् ।

आन्दोलन गर्नेहरुले ‘बिरामी जाँच्न मन त छ तर हामीमाथि नै अन्याय भएको पर्चा टाँगेका छन्’ भने अस्पताल प्रसासनले सेवा सुरु गर्न आह्वान गरेको छ । तर उपचार पाइएला कि भन्ने आशैआशमा कुरिरहेका बिरामीले डाक्टरलाई ‘कि सेवा देउ होइन भने जागिर छोड’ भन्न थालेका छन् । पश्चिम रुकुमबाट उपचारका लागि आएकी बिमला खत्रीले डाक्टरले बिरामीको व्यथा नबुझेको गुनासो गर्नुभयो ।

आफ्ना माग पूरा गराउन हजारौँ नागरिकको जीवनमाथि डाक्टरहरुले खेलवाड गरेको गुनासो धेरैको छ । डाक्टरहरुले आफ्नो आन्दोलनको विकल्प खोजेर काममा फर्किनुपर्ने उपचारका लागि अस्पताल धाएका बिरामीको माग छ ।

मुगुका कन्नवीर, पश्चिम रुकुमकी खत्रीलगायत दुर्गम क्षेत्रका बिरामी काठमाण्डौ आउनुपर्ने बाध्यता छुट्टै छ । सुविधासम्पन्न अस्पताल र डाक्टर नै नभएका दुर्गम क्षेत्रमा त्यसै पनि उपचार गाह्रो छ । सरकारी अस्पताल र डाक्टर भएका ठाउँमा पनि यतिबेला डाक्टरकै आन्दोलनका कारण सेवा नपाउँदा बिरामी मर्कामा परेका छन् । 

वीरसहित देशभरका सरकारी अस्पताल पुग्ने बिरामीले उपचार पाउन सकेका छैनन् । सरकारी दरबन्दीका डाक्टरले ओपीडी, शल्यक्रियासहितका सेवा ठप्प पारेर एक हप्तादेखि आन्दोलन गरिरहेका छन् । उपचारको आशमा अस्पताल पुगे पनि बिरामीले झनै सास्ती खेप्नुपरेको छ ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

1 Comments

  • dhama paudyal

    April 12, 2019, 9 a.m.

    यस्को स्पस्ट संकेत हो यो बिदेशी ले लादेको गलगांड तन्त्र असफल भो । यिनिहरुको नियन्त्रण मा देश छैन जस्ले चलाएको छ उस्लाई यहाँ जसरि हुन्छ अशान्ती फैलाएर धमिलो पानी मा माछा मार्नुछ । यह्का नेताअ नाम धारी जनावर को उद्देस्य चाही जसरि हुन्छ धन कमाउनु । अनि सत्ता मा बसेकाको उद्देश्य चाही एन केन प्रकारेण सत्ता मा टिक्ने र देश लुट्ने । त्यसैले पशुपती शर्मा ले त्यसै भनेका होईनन्, " लुट्न सके लुट अरु देश मा पाइदैन नेपाल मा नै छुट्"

  •  0 Reply

तपाईको प्रतिक्रिया