इण्डियन प्रिमियर लिग : चेन्नईको छैटाैँ जित, राजस्थान ४ विकेटले पराजित

 चैत २९, २०७५ शुक्रबार ६:२९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग आईपीएलमा शीर्ष स्थानको चेन्नई सुपर किंग्सले छैटौं जित हासिल गरेको छ । चेन्नईले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको हो ।

१५२ रनको लक्ष्य पछ्याएको चेन्नईले इनिङको अन्तिम बलमा जित हासिल गर्नुअघि विकेट गुमाएको थियो । अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १८ रन आवश्यक थियो ।

बेन स्टोक्सको बलिङमा रविन्द्र जडेजा र मार्क सान्टनरले छक्का प्रहार गरेर जित दिलाए । अन्तिम बलमा ३ रन आवश्यक रहेकोमा सान्टनरले छक्का प्रहार गरेका थिए ।

चेन्नईले सुरुआती ४ विकेट सस्तैमा गुमाएको थियो । सेन वाट्सन, फाप डू प्लेसिस, सुरेश रैना र केदार जादव गरी चार सुरुआती ब्याट्सम्यान सस्तैमा आउट हुँदा चेन्नईले २४ रनमात्र बनाएको थियो ।

कप्तान महेन्द्रसिंह धोनी र अम्बाती रायडूले पाँचौं विकेटका लागि ९५ रनको सानदार साझेदारी गरेपछि जितको आधार बनेको थियो ।

अन्तिम दुई ओभरमा क्रमसः रायडू ५७ र कप्तान धोनी ५८ रनमा आउट भए । रायडूले ४७ बलमा २ चौका र ३ छक्का तथा धोनीले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

यसअघि जयपुरस्थित सवाइ मानसिंह रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

उसका लागि बेन स्टोकले २८ रन बनाए भने जोस बटलरले २३ रन थपे । अरु खेलाडीले खासै राम्रो खेल्न सकेनन् ।

श्रीयास गोपाल र जोफ्रा आर्चरले क्रमसः १९ र १३ अविजित रन बनाएपछि राजस्थानले १५० को स्कोर पार गरेको हो ।  बलिङमा चेन्नेइका रविन्द्र जडेजा, सार्दुल ठाकुर र दीपक चाहरले दुई दुई विकेट लिए ।

जितसँगै चेन्नाइले लिगको अंकतालिकामा शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । चेन्नईको ७ खेलमा १२ अंक छ भने दोस्रो स्थानेको कोलकाता नाइट राइडर्सको ६ खेलमा ८ अंक छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया