एकीकृत पार्टीको पहिलो 'रिफ्रेस' बैठक गोकर्ण रिसोर्टमा

 जेठ ३, २०७५ बिहिबार १६:४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ३ – नेकपा एमाले र माओवादी पार्टी विघटन भई नयाँ एकीकृत नेपाल कम्युनिष्ट पार्टीको घोषणा केही बेरमा हुँदैछ ।

पार्टी एकता भइसकेपछिको पहिलो रिफ्रेस बैठक गोकर्ण रिसोर्टमा बस्नेछ । गोकर्णमा बस्ने रिफ्रेस बैठकका बारेमा नेकपा एमालेका नेता तथा केन्द्रीय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभएको हो ।

दुवै पार्टीले छुट्टा छुट्टै केन्द्रीय समिति बैठक बसेर अहिले रहेको पार्टी विघटन गरी बालुवाटारमा संयुक्त बैठक बस्ने कार्यक्रम छ । एकता संयोजन समितिको संयुक्त बैठकले अनुमोदन गरी नयाँ पार्टीको औपचारिक घोषणा गर्नेछ ।

त्यसपछि दुवै दलका नेताहरु निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गर्ने कार्यक्रम रहेको छ । दल दर्ता प्रकृयापछि राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलनको आयोजना गरिने कार्यक्रम रहेको छ ।    

पार्टी एकताका लागि निक्कै लामो समयदेखि दुवै पार्टीका शिर्ष नेताहरु दौडधूप गरिरहेका थिए । एकताका लागि केन्द्रदेखि लिएर स्थानीय तहसम्म तालमेल मिलाउनुपर्ने हुनाले आन्तरिक दौडधूप छुट्टै थियो । त्यसबाहेक एकता होला कि नहोला भन्ने अन्योललाई चिर्न पनि दुवै दलका नेता कार्यकताले निक्कै नै कसरत गर्नुपरेको थियो ।

उता वाम एकताले मूर्तरुप लियो भने सबैभन्दा बढी असर पार्ने नेपाली कांग्रेसले अन्य पार्टीसँग मिलेर एकतामै असर पार्ने गतिविधि गर्ला कि भन्ने कुराको पनि खबर राख्नुपर्ने थियो ।

गएको वर्ष मंसीरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला चुनावपछि पार्टी नै एकता गर्ने उद्घोष गरी दुवै पार्टी समान चुनाव चिह्न सूर्यमा साथ चुनावमा होमिएका थिए ।

यसले प्रत्यक्ष्य रुपमा नेकपा माओवादी केन्द्रलाई बढी फाइदा भएको थियो भने नेकपा एमालेलाइ बहुमतको सरकार गठन गर्न सहज वातावरण बनेको थियो । नेपाली कांग्रेसलाई भने प्रत्यक्ष्यतर्फ निक्कै नै खस्काएर सरकारको बागडोर चुनावी नतीजा अनुरुप वाम गठबन्धनलाई सुम्पिनुपर्ने वातावरण बनेको थियो ।

करीब ५ महिनाको कसरत र रस्साकस्सीको आज औपचारिक टुंगो लाग्ने पक्का भएकोले यसबीचको थकान, दौडधूप र सुस्केराहरुलाई बिसाएर रिफ्रेस हुनका लागि पनि पहिलो बैठक गोकर्णमा गर्न लागिएको आकलन गर्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया