बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
धनुषा - प्रदेश २ मा गएकाे आर्थिक वर्षमा झण्डै साढे १६ करोड रुपैयाँ बेरुजू देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थलाई शुक्रबार बुझाएको लेखा परीक्षणको प्रतिवेदनमा प्रदेश २ सरकारमाथि १६ करोड ४६ लाख ९ हजार रुपैयाँ बेरुजू रहेको उल्लेख छ ।
प्रदेश सरकार मातहतका १० वटा निकायले खर्च गरेको ६९ कराेड ४३ लाख ९५ हजार रुपैयाँमा सो परिमाणको बेरुजू देखिएको हो ।
जसमा सबभन्दा बढी पेश्की बेरुजू १० करोड ७१ लख रुपैयाँ रहेको छ । यस्तै असुल गर्नुपर्ने बेरुजू २ करोड ५ लाख ७९ हजार, नियमित गर्नुपर्ने बेरुजू ३ करोड ६९ लाख ३० हजार र पेश्की कर्मचारी बेरुजू १ लाख रुपैयाँ रहेको छ ।
१० वटा निकायमध्ये ६ वटा निकायमा बेरुजू छ । जसमा सबभन्दा बढी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमाथि १२ करोड ९१ लख ३० हजार बेरुजू छ भने आन्तरिक मामिला तथा कानुनमन्त्रालयको २ करोड ५ लाख ९५ हजार रुपैयाँ बेरुजू रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै समाजिक विकास मन्त्रालयको १ करोड ३३ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालय ८ लाख ३२ हजार, उद्योग, पर्यटना तथा वातावरण मन्त्रालयको ६ लाख ५२ हजार र प्रदेशसभा सचिवालयको १ लाख रुपैयाँ बेरुजू छ ।
प्रदेश २ सरकारको १० वटा निकायको लेखापरीक्षण प्रतिवेदनमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मुख्यन्यायधिवक्ताको कार्यालय र प्रदेश लेखा नियन्त्रकको कार्यालय लगायत ४ वटा निकायमाथि भने बेरुजू छैन ।